हजारौँ राजा फालौँ अनि एउटै राजा पालौँ

हजारौँ राजा फालौँ अनि एउटै राजा पालौँ
+
-

भावी राष्ट्रपतिमा कस्तो मान्छे र कुन पार्टीको मान्छे ल्याउने भनेर दलहरुबीच माथापच्ची भइरहेको छ । यदाकदा स्वतन्त्र मान्छे ल्याउने कि भनेर पनि बहस हुने गरेको छ । तर यो स्वर निकै झिनो छ र सतहमै अड्किएको छ ।

यो राज्य बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसाँस्कृतिक विशेषताले भरपूर छ । भौगोलिक विविधता यसको चरित्र हो । यसको क्षेत्र तराई मधेसदेखि पहाड हुँदै हिमाच्छादित उच्च शिखरसम्म फैलिएको छ । प्राकृतिका रुपमा नेपाल संसारकै एक अनुपम उपहार हो । दुइ ठूला राष्ट्रहरुको बीचमा रहेको यो सानो देश संसारकै सर्वाधिक पुरानो देशमध्येको एक पनि हो । यसको आफ्नै विशेष गुणवत्ता र महत्व छ । श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहले यो राज्यलाई दुई ढुंगाबीचको तरुलका रुपमा चित्रित गर्नुको कारण पनि सायद यही हो ।

राष्ट्रपति । आहा, कति सुन्दर पद ! कति सम्मानित पद । कति उँचो पद छ । तर यसको गरिमा अहँ कसैले राखेन । तेरो वा मेरोमा सीमित बनाइयो । राष्ट्रपति त राष्ट्रको माली वा मालिक । मालिकले राष्ट्रको रखबारी गर्छ । यसका ऐँजेरुहरुलाई निफोनेर, केलाएर यसलाई सुन्दर र स्निग्ध बनाउँछ । राष्ट्रपतिका आफ्नै नैतिक दायित्व र कर्तव्यहरु हुन्छन् । यसमा तेरो पार्टीको मान्छे वा मेरो पार्टीको मान्छेको भाव आउनु हामी सबैका लागि दुखद पक्ष हो । नेपाली कांग्रेसले आफ्नो पार्टीको मान्छेलाई राष्ट्रपति बनाउने रे । नेकपाले आफ्नो मान्छे र माओवादी केन्द्रले आफ्नो मान्छे बनाउने रे । घोर आश्चर्य ! आफ्नो मान्छेलाई राष्ट्रपति बनाउनु भनेको आफ्नो हातलाई माथि पार्नु हो । परिआएको बखतमा पार्टीको दास बनेर सहीछाप गर्नु, वफादारिता गर्नु, संविधानमाथि धावा बोल्नु र राष्ट्रहितलाई पाखा लगाएर पार्टीको हित अनुकुलको आचरण र व्यवहार गर्नु हो । यो कुरा वर्तमान राष्ट्रपतिले गरेका अधिकांश काम कारवाहीले पुष्टि गरेका छन् । यस अघिका राष्ट्रपतिले पनि धेरथोर त गरेकै हुन् ।

यो राज्य ठूला दुखले आर्ज्याको मुलुक हो । निसन्देह हाम्रा शाहवंशीय राजाहरुले फिरंगीहरुबाट जोगाएर यसको जग बसाएका हुन् । शाहवंशीय राजाहरुको देन अरुको भन्दा निश्चय पनि उच्च छ। त्यसैले पनि यो राज्यको माया, ममता र राष्ट्रपे्रम अरुभन्दा ज्यादा शाह राजाहरुमा हुनु स्वाभाविक छ । स्वभावैले उनीहरु राष्ट्रप्रति वफादार र इमान्दार पनि हुन्छन् । हो, विगतमा जनताप्रति कति वफादार बने, कति प्रजातान्त्रिक बने वा इमान्दार बने भन्ने कुरा त्यो इतिहासकारहरुले औँल्याउने पाटो हुुनसक्छ तर राष्ट्रप्रतिको उनीहरुको बफादारिता एक इञ्च पनि तलमाथि भएको छैन र हुँदैन भनेर निश्चयसाथ भन्न सकिन्छ ।

अहिलेको नेपालको राजनीतिको माहोल हेर्दा र मनन गर्दा पार्टीप्रति वफादार कार्यकर्ता नै राष्ट्रपति हुने लक्षण देखिन्छ । तर मिहिन किसिमले विश्लेषण गर्ने हो भने अब त्यस्ता कार्यकर्ताहरुलाई पाखा लगाएर शाहवंशलाई नै साँस्कृतिक राजाका रुपमा ल्याउनु नेपाली जनताको अहिलेको मुख्य माग हो । मजस्ता लाखौँ मानिसहरुको मनको चाह पनि हो । भलै त्यो कुरा कसैले मौखिक वा लिखित रुपमा व्यक्त गर्ने आँट वा साहस नदेखाओस् । मलाई लाग्छ, मनमा मात्र होइन, आम जनताले अब समय नघर्कँदै मुखले यो कुरा व्यक्त गर्नुपर्दछ । सडक संघर्ष गर्नुपर्छ । संसदमा पनि वुलन्द आवाज निस्कनुपर्छ । भुरे टाकुरे राजाहरुविरुद्ध आन्दोलन छेड्नुपर्छ । देशी विदेशी तत्वहरुबाट राष्ट्रियतामाथि भइरहेको प्रहार, अन्तर्राष्ट्रिय शक्तिकेन्द्रबाट यदाकदा भइरहेको खतरा, यसको सार्वभौमिक अखण्डताप्रतिको विचलन र अन्तर्राष्ट्रिय क्रीडास्थलका रुपमा रुपान्तरण हुँदै गएको यो राज्यको हितमा मात्र कदम चाल्ने व्यक्ति वा संस्था भनेको राजसंस्था नै हो, राजा नै हो । सायद त्यसैले पनि होला, विपीले पनि राजाविनाको राष्ट्रको कल्पना गर्नुभएको थिएन । उहाँले भन्नुभएको थियो- ‘प्रजातन्त्रको सवालमा राजासँग मेरो अलग मत छ तर राष्ट्रियताको मामिलामा राजासँग मेरो घाँटी जोडिएको छ । राष्ट्रको अस्तित्वमा शंका लागेकोले मैले राजालाई सघाउनुपर्छ । त्यसैले म स्वदेश फर्कँदैछु’ भन्नु पनि यसको अपरिहार्यता माथि जोड हो ।

राजा ज्ञानेन्द्रले केही गल्ती गरे तर राष्ट्रघात गरेका छैनन् । राष्ट्रघाती कदम चालेका छैनन् । राष्ट्रको अहितमा केही काम कारवाही गरेका छैनन् । देश र जनताको हित गर्न सकिन्छ कि भनेर केही त्यस्ता कदम चाले जुन कदम ‘बुमराङ’ भएर आफैलाई खायो । शक्ति लिएर तीन वर्ष बस्दा उनलाई संविधानको अनुमोदन थिएन। त्यो अक्षम्य गल्ती पनि होइन ।

राजा ज्ञानेन्द्रले केही गल्ती गरे तर राष्ट्रघात गरेका छैनन् । राष्ट्रघाती कदम चालेका छैनन् । राष्ट्रको अहितमा केही काम कारवाही गरेका छैनन् । देश र जनताको हित गर्न सकिन्छ कि भनेर केही त्यस्ता कदम चाले जुन कदम ‘बुमराङ’ भएर आफैलाई खायो । शक्ति लिएर तीन वर्ष बस्दा उनलाई संविधानको अनुमोदन थिएन। त्यो अक्षम्य गल्ती पनि होइन । यहाँ राष्ट्रघातीहरु, जनतामाराहरु, ठूलाठूला भ्रष्टाचारीहरु, चोर र ज्यानमाराहरु कदमकदममा भेट हुन्छन् । सिंहदरबारमा झण्डा फहराउँदै हिँडिरहेका छन् । देशले धान्न नसक्ने गरी बनाइएको संघीयताको घाँडोले दैलादैलामा ‘छोटे राजाहरु’ चलायमान भइरहेका छन् । यिनीहरुले जनहितमा गरेको कुनै एउटा पनि उल्लेख्य काम छैन । हजारौँ राजाहरुभन्दा एउटा राजा पालौँ र आपसी सम्झौताबाट स्थिति बसालौँ ।

जनयुद्धका नाममा हामीले १७ हजार मान्छे मार्ने ‘अक्षम्य अपराधी’ प्रचण्डलाई राष्ट्रको गरिमामय पदमा स्थापना गरेका छौँ । त्यो पनि एक पटक होइन, दुइपटक होइन, तीनतीन पटक । यिनका तुलनामा त ज्ञानेन्द्रको गल्ती मामुली हो, क्षमायोग्य हो । मान्छे मारेर सत्ता, शक्ति र पैसामा बुर्कुसी मार्ने कुत्सित मान्छेको अग्रगमनभन्दा जनता मारेर राज गर्नुभन्दा त्याग्नु नै उत्तम हुन्छ भन्ने मनोवोध गरी दरबार त्यागेर सामान्य नागरिकको जीवन निर्वाह गर्ने, जनताको इच्छाको कदर भनेर, मानेर सत्ता, शक्ति र २५० वर्षभन्दा लामो राजसंस्था, राजसिंहासन र श्रीपेच सहर्ष सुम्पने राजा ज्ञानेन्द्र भाइलाई राजपाठ सुम्पी कमण्डलु बोकेर भीक्षाटन, तीर्थाटनमा हिँड्ने भारतवर्षका महान् राजा भर्तृहरिभन्दा के कम छन् त ? त्यसो त राजसंस्था जनताको सम्पति पनि हो ।

राजनीतिक रुपमा तीब्र ध्रुबीकृत नेपाली समाजमा एउटा मियो वा मूलीको आवश्यकता वोध भइरहेको कुरा घामजस्तै छर्लंग छ । धुव्रीकृत नेपाली समाजलाई एउटै मालामा उन्नसक्ने ल्याकत राजसंस्थासँग छ । त्यो मूली अरु कोही हुनसक्दैन, राजा ज्ञानेन्द्र निर्विकल्प हुनसक्छन् । राजसंस्थाप्रति जनताको अपेक्षा र मानसम्मान तुलनात्मक रुपमा यद्यपि अहिले परिदृश्यमा देखिएका राजनीतिक पार्टीका शीर्ष भनिएका नेताहरुभन्दा धेरै माथि छ, धेरै उँचो छ । राष्ट्रपतिमा आउरेबाउरेलाई ल्याएर विराजमान गराउनुभन्दा विरासत बोकेका ज्ञानेन्द्रलाई राजाका रुपमा विराजमान गराउनु पूर्वजहरुको सम्मान पनि हो । हाम्रो सनातन धर्मप्रतिको श्रद्धा पनि हो ।

अब धेरै ढिला नगरौँ । कुराभन्दा काम बढी गरौँ । जति ढिला भयो, त्यति नै यो देशको क्षयीकरण भइरहेको छ । यसको फराकिलो इज्जत साँघुरिँदै गइरहेको छ । मलाई राप्रपा नेता तथा पत्रकार रविन्द्र मिश्रको यो भनाइ बारम्बार सम्झनामा आइरहन्छ- ‘पार्टीभन्दा देश माथि ।’ यी सत्ताका भोकाहरुले देशको भलो कदापि हेर्दैनन्, पार्टी र आफ्ना सन्तहिरुको मात्र शुभाशुभ हेर्छन् । व्यक्तिगत स्वार्थलाई तिलान्जली दिउँ, देशलाई माथि राखौँ र हुँडार, गिद्ध र स्यालहरुबाट यो देशको रक्षा गरौँ । शुभस्य शीघ्रम् ।

नर्थ क्यारोलिना, अमेरिका ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?