काठमाडौँ- हरेक व्यक्तिमा आ-आफ्नै छुट्टै प्रतिभा हुन्छ। कोही गाउन रुचाउँछन्, कोही नाच्न रुचाउँछन् त कोही अन्य कुनै काममा । मानिसहरु आफूले जानेको प्रतिभाको सदुपयोग गरेरै आफू पनि बाँच्ने साथै अरुलाई पनि बचाउने गरेका थुप्रै उदाहरणहरु हाम्रो समाजमा देखिदै आएका छन्। त्यसैमध्येका एक हुन् मन्दजरस तामाङ।
उनी तनहुँका युवा हुन्। विगत ५/६ वर्षदेखि उनी तनहुँ, गोर्खा लगायतका विभिन्न स्थानमा बाटोमा गीत गाएर पैसा संकलन गरी आवश्यक व्यक्तिहरुलाई सहयोग गर्दै आएका छन्। पछिल्लो ४/५ मनिनादेखि भने उनले आफ्नो प्रतिभा देखाउने र अरुलाई सहयोग गर्ने स्थानमा रुपमा काठमाडौँ उपत्यकालाई रोजेका छन्। यसरी रकम उठाएर सहयोग गर्ने प्रक्रियालाई ‘बस्किङ’ भनिन्छ। तामाङले भने बस्किङबाट उठेको रकम पैसाकै अभावका कारण जो अस्पतालमा छट्पटाइरहेका छन्, उनीहरुलाई सहयोग गर्ने गरेका छन्।
बस्किङबाटै सहयोग गर्छु भन्ने सोच कसरी आयो भन्ने प्रश्नमा उनी भन्छन्, ‘जसले जे जानेको छ त्यही गर्ने त हो। मलाई गीत गाउन आउँथ्यो अनि मलाई आफू बाँच्दै आरुलाई पनि बँचाउन मन थियो। त्यसैले मैले आफुले जानेको प्रतिभाको प्रयोग गरेर नै सहयोग गर्ने सोच बनाएँ।’
तनहुँका एक शिशू उसमान अलिलाई उपचारका लागि ठूलो खर्च लाग्ने रोग लागेको थियो। यसका लागि विभिन्न संस्थाहरुले सहयोगका विभिन्न कार्यक्रमहरु गरेका थिए। तामाङले पनि बस्किङबाट रकम संकलन गरेर ती बाबुलाई १ लाख २० हजार रुपैयाँ सहयोग गरे। सोही शिलशिलाबाट सुरु भयो तामाङको बस्किङबाट सहयोग गर्ने सोच। त्यसपछि उनले थुप्रै व्यक्तिहरुलाई बस्किङबाट नै रकम उठाएर सहयोग गरिसकेका छन्। हाल पनि उनले त्यो प्रकृया जारी राखेका छन्।
उनी आफुले अलिअलि भएपनि जानेको प्रतिभाबाट नेपालमा नै केही गर्छु भन्ने सोच बनाएर ‘स्ट्रिट सिङ्गिङ’ पेशा अपनाएको बताउँछन्। ‘आफूसँग सिप छ भने किन विदेश जानु बरु नेपालमै बसेर आफू पनि बाँच्ने अरुलाई पनि बचाउन सकिन्छ भनेर मैले यो पेशा सुरु गरेको हुँ।’
यद्यपि उनले संगीत सिकेका भने छैनन्। आफ्नो कार्यक्रमहरु राष्ट्रभावले भरिएका गीतहरुबाट नै सुरु गर्ने गरेको उनी सुनाउँछन्। उनले बस्किङ गर्दा कुनै सम्बन्धित व्यक्ति वा कुनै संस्थाले सहयोगको अपिल गरेको खण्डमा पनि गर्दै आएका छन्।
‘पछिल्लो समय महानगरपालिकाको नीतिका कारण भने केही समस्या भइरहेको छ। उहाँहरुले हामीलाई मागेर खाने भन्नुहुन्छ। हामी मागेर खाने पनि त होइनौँ,’ उनी भन्छन्, ‘उहाँहरुले बस्किङ भनेको के हो भन्ने नै नबुझ्नु भएको हो कि भनेर बुझाएँ पनि तर उहाँहरुको जवाफ सँधै एउटै हुन्छ।’
उनले यसरी बाटोमा गीत गाएर बस्किङ गरिरहँदा उनले चूनौतीहरु नभोगेका भने होइनन्। एक्लो प्रयासमा बस्किङ सुरु गरेका उनका लागि कुनै कार्यक्रम सम्पन्न गरी सोबाट उठेको रकम सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गर्नु सहज काम पक्कै होइन। पछिल्लो समय उनी काठमाडौँमा बसेर बस्किङ गरिरहँदा भने महानगरपालिकाको नीतिका कारण थप समस्या भोगिरहेको उनी बताउँछन्।

सडक किनारामा कार्यक्रम गरेको भन्दै नियन्त्रणमा लिएर लैजाँदै नगरप्रहरी
काठमाडौँ महानगरपालिकाले पछिल्लो केही समयदेखि सडक किनारमा व्यवसाय गर्नेदेखि लिएर मागेर गुजारा चलाइरहेकाहरु सबैलाई सडकमा बस्न नदिने नीति लिएको छ। यसको असर आफूलाई पनि परेको उनी बताउँछन्।
‘पछिल्लो समय महानगरपालिकाको नीतिका कारण भने केही समस्या भइरहेको छ। उहाँहरुले हामीलाई मागेर खाने भन्नुहुन्छ। हामी मागेर खाने पनि त होइनौँ।’ उनी भन्छन्, ‘उहाँहरुले बस्किङ भनेको के हो भन्ने नै नबुझ्नु भएको हो कि भनेर बुझाएँ पनि तर उहाँहरुको जवाफ सँधै एउटै हुन्छ।’
सडकमा भन्दैमा आफुहरुले बीच बाटोमै कार्यक्रम गरेर आमजनतालाई सास्ती नदिएको उनी जिकिर गर्छन्। महानगरपालिकाले आफुलाई समय र स्थान छुट्याइदिन वा लाइसेन्स दिनुपर्ने माग उनको छ।

बस्किङ गरेर डोनेसन उठाउँदै मन्दजरस र उनका साथीहरु तस्बिर: तनहुँ रक्स
उनी भन्छन्, ‘विदेशमा बस्किङ गर्नेहरुलाई छुट्टै मान सम्मान र सहयोग भइरहेको हुन्छ, हाम्रो देशमा भने माग्ने भनिदिनुहुन्छ यस्तो सुन्दा दुख लाग्छ। महानगरपालिकाले कि त लाइसेन्स दियोस हामीलाई होइन भने समय र स्थान छुट्याइदियोस्, हामी त्यही समयमा कार्यक्रम गर्छौँ, मेरो माग पनि यति मात्रै हो।’
अन्य देशहरुमा भने बस्किङ गर्ने व्यक्तिलाई अपहेलना नभई हौसला र सहयोग मिल्ने गरेको उनी सुनाउँछन्। विदेशको उदाहरण दिँदै उनी भन्छन्, ‘विदेशतिर भने बस्किङ गर्नेहरुलाई पुलिसले पनि सम्मान गर्छ, सहयोग गर्छ तर हाम्रो देशमा पुलिस आयो भने जगल्टामा समाएर लैजान्छ। तिमीहरु ट्यापे मागेर खाने भन्नुहुन्छ त्यसैले एकदमै गाह्रो भइरहेको छ।’
उनले बस्किङको लागि स्ट्रिट सिङ्गिङ मात्रै नभएर कन्सर्ट पनि गर्ने गरेका छन्। उनले कन्सर्ट गर्दाको बखत भने आयोजकलाई सुरुमा नै जानकारी दिएर रकम लिने गरेका छन्।
बस्किङ गर्दै गर्दा पछिल्लो समय महानगरपालिकाको नीतिका कारण आफु चौकीसमेत जानु परेको दुखेसो उनी सुनाउँछन्। हतकडी लगाएर चौकी लैजाँदा भोग्नु परेको दुखेसो पनि उनीसँग छ। यसबारेका सम्बन्धित निकायसँग कुरा गर्दा भने एकले अर्कोलाई देखाउँदै पन्छिने मात्रै काम गरेको उनी बताउँछन्।