
‘दिल भए नि फलाम, दर्शन सलाम….’
चार वर्ष अघिको कुनै एक दिन, संगीतकार दीपक शर्माको इनबक्समा गीतकार राजेन्द्र थापाले यो गीत पठाइदिएका थिए। आफ्नो इन्बक्समा आएको गीत हेरिसकेपछि उनलाई एउटा शब्द फिटिक्क मन परेन, ‘बझाङ’। तर शर्माले त्यो बझाङ शब्दलाई बजाम् म बनाउन अनुरोध गरे।
‘बझाङ भनेको जिल्ला हो। त्योभन्दा गाउँघरतिर ‘घिनताङ घिनताङ मादल कति बजाम् म’ या ‘मादल बजाम् म’ भन्छन् भन्ने भाव ल्याउन मैले बझाङलाई ‘बजाम् म’ बनाउन अनुरोध गरेँ। पहिला त राजेन्द्र दाइले मान्नु भएको थिएन। पछि भने कन्भिन्स हुनुभयो’, गीतको शब्दमा छलफल गर्दाका दिन सम्झिए उनले।
मौलिक ठेट शब्दलाई मेलोडीमा ढाल्न सिपालु शर्माले गीत पाएको एक महिनासम्म यसमा काम गर्न समय निकाल्न सकेनन्। अन्य गीतलाई कम्पोज गर्न भुले।
यस्तैमा गीतकार थापाले दर्शन सलाम गीतको बारेमा सोधेपछि कम्पोज गर्दैछु भने पनि शर्माले कुनै ट्युन बनाएका थिएनन्। अचानक एकदिन ‘जे भए नि फलाम छ्याट रुमाल दर्शन सलाम’ शब्दलाई गुनगुनाए। गीतलाई ट्युन गरे। बिस्तारै उनलाई चित्त बुझ्दै गएपछि गीतकार थापालाई पठाइदिए।
थापालाई मेलोडी मन परेपछि त्यो गीतको काम अगाडि बढाए शर्माले। गीतलाई एरेन्ज गरे। बाजा पनि हाले। डेविड शंकर र साहिमा श्रेष्ठको स्वरमा रेकर्ड पनि गराए।
गीतकार थापाले गीतको ट्युन दीपकराज गिरी र दीपाश्री निराैलालाई पनि पठाइदिए। किनकि त्यो समय दीपक-दीपा छक्कापन्जाकै चौथो सिरिजको स्क्रिप्ट लेखनमा लागेका थिए।
छक्कापन्जा-४ मा राख्न पनि सकिन्छ भन्ने खबर थापाले संगीतकार शर्मालाई पनि दिए तर दीपक-दीपाको टिमले छक्कापन्जा-४ को सिरिज छोडेर ‘छ माया छपक्कै’ फिल्मको तयारीमा लागे।
‘छ माया छपक्कै’का निर्देशक दीपेन्द्र लामा, अभिनेता दीपकराज गिरी, निर्देशक तथा अभिनेत्री दीपाश्री निरौला लगायतको टोलीले गीत सुने तर गीत ‘छ माया छपक्कै’मा अटाउन सकेन।
‘खासमा यो गीत छ माया छपक्कैको लागि बनाएका थियौँ। राजेन्द्र दाइ पनि ढुक्क हुनुहुन्थ्यो तर छ माया छपक्कै फिल्मको कथामा कतै फिट नभएपछि गीत पेन्डिङ भएको थियो’, शर्माले गीत रोकिँदाको दिन सम्झिए।
छ माया छपक्कै फिल्म चल्यो। सुपर हिट पनि भयो। यस्तो हिट फिल्ममा दर्शन सलाम अटाइदिएको भए गीत पनि हिट हुन्थ्यो भन्ने भावना पनि नआएको होइन उनमा।
‘यो गीत अर्को फिल्ममा राखिन्छ’, दीपक-दीपाको टीमले भने पनि गीत समयमै आइदिए हुन्थ्यो भन्ने भइरह्यो शर्मालाई।
यसरी दुई वर्ष कोभिड-१९ ले सिनेमा बजारलाई केही पछाडि धकेलिदियो। गीत त्यतिकै थन्किएर बस्यो।नेपाली सुगम संगीतका चर्चित संगीतकार शर्मा निराश भइहालेनन् बरु अन्य गीतलाई कम्पोज गर्न भुले।
यस्तैमा दीपक-दीपाको नयाँ प्रोजेक्ट सुरु भयो-छक्कापन्जा-४। संगीतकार शर्मा हौसिए। तीनचार वर्ष भित्र शर्माले अन्य थुप्रै गीत कम्पोज गरिसकेका थिए। गीतकै मेलोडी परिवर्तन भइसकेको थियो। फोक म्युजिकले बजार लिइरहेको बेला पुरानो मेलोडी छक्कापन्जा-४ मा फिट नहुने हो कि भन्ने चिन्ता पनि थियो शर्मालाई। तर छक्कापन्जा-४ का निर्देशक हेमराज बिसी र दीपक-दीपा लगायतको टोलीले थुप्रै नयाँ कम्पोज भएका गीत सुनेपछि अन्तिममा चार वर्ष अगाडि बनेको गीत दर्शन सलामलाई नै रोजाइमा परे।
‘चार वर्ष अगाडि बनेको गीत छक्कापन्जा-४ मा फिट भयो। पहिला जुरेन, अहिले जुर्याे’, शर्माले भने। टिकटकमा सबैभन्दा बढी भाइरल भइरहेको दर्शन सलाम गीतमा कलाकार स्वस्तिमा खड्का, दीपाश्री निरौला, दीपकराज गिरी, केदार घिमिरे ‘माग्ने बुढा’, बुद्धि तामाङ, राज आचार्यलगायतको अभिनय देख्न सकिन्छ। दीपक-दीपकको ब्राण्ड त छँदैछ साथै छक्कापन्जा-४ लाई हिट बनाउन संगीतकार शर्माको पनि मिहिनेत देखिने नै भयो।
शर्माद्वारा संगीतबद्ध पछिल्लो फिल्म ‘छक्का पञ्जा-४’को ‘दर्शन सलाम’ बोलको गीत अहिले ट्रेण्डिङमा छ, जसले संगीतकार शर्माको लोकप्रियतालाई थप उचाइमा पुर्याएकाे नकार्न सकिँदैन। उनी भन्छन्, ‘अहिले पनि आधा दर्जनभन्दा बढी फिल्मका गीत सिर्जना गर्दैछु।’
दुई दशकदेखि नेपाली सुगमसंगीतमा संघर्ष गरिरहेका शर्माको ‘छुटिएर तिमीसँग’ बोलको गीत दशक तथा श्राेताले अत्यधिक रुचाएका थिए तर नेपाली चलचित्रमा भने उनलाई स्थापित गरिदियो- छक्कापन्जाले।
‘मेरा सुगम गीतहरू हिट हुन थालेपछि चलचित्र संगीतमा व्यस्त हुन थालेँ। तर नेपाली चलचित्रमा मलाई स्थापित गरेको छक्कापन्जाको सिरिज नै हो’, शर्माले आफ्नो सफलता खुलाए।
संगीतकार शर्मा छक्कापन्जा सिरिजमै संगीत गर्न किन पाए? के दीपक-दीपाको रोजाइमा उनी परिरहनुको कारण मित्रता, सद्भाव हो कि अन्य केही? शर्मा भन्छन्, ‘मिहिनेत हो भन्छु म। म भाग्यमानी पनि हुँ किनकि वरिष्ठ गीतकार राजेन्द्र दाइको गीतमा कम्पोज गर्न पाएँ। र बिग ब्यानर बनेका फिल्ममा मेरो कम्पोजिसनको गीत अटाउन पायो। दर्शकले पनि मन पराइदिनुभयो।’
शर्माले यसअघि दीपक-दीपाको आमा सरस्वती मुभिजकाे ब्यानरमा बनेको छक्कापन्जा-३ को ‘पहिलो नम्बरमा’ बोलको गीतका लेखक हुन्- राजेन्द्र थापा। छक्कापन्जा-४ मा पनि शर्माको संगीतमा उनैले लेखेको गीत हिट भयो। गीतकार थापा भन्छन्, ‘गीत राम्रो भयो भने कम्पोजिसन पनि मीठो हुन्छ। ५४ सालदेखि गीत लेख्दै आएको मान्छेलाई पनि राम्रो गीत लेख्न दवाव हुन्छ।’
गीतकार थापाले यो गीत लेख्दाको एक किस्सा सुनाउँछन्, ‘एउटा भाइले सामाजिक सञ्जालमा ‘घिन्ताङ घिन्ताङ मादल कति बजाऊँ म’ भन्दै लेखेका थिए। अनि मलाई यही लाइनबाट गीत फुर्याे।’ थापाले गीतको स्थायी समयसापेक्ष बनाएपछि अन्तराको टुक्काहरू असारे भाकाबाट टिपेको बताउँछन्, जसलाई उनले धेरै पहिला लेखेका थिए। ‘स्थायी अहिले फुरे पनि अन्तराको टुक्काहरू अन्य पुराना गीतबाट तानेर यसमा जोडेको हुँ’, उनले भने।
पचासको दशकदेखि गीतकारको छवि बनाएका थापाले राजेशपायल राइको दर्शन नमस्ते छि दर्शन सलाम ‘क्याच’ गरेका छन्। थापा भन्छन्, ‘दीपक भाइले काम रुचाए। छक्कापन्जाको टिमले राम्रो काममा लागि जसलाई पनि लिन्छ।’

गीतकार राजेन्द्र थापा।
हुन त संगीतकार शर्माले छक्कापन्जा-३ मा पहिलो नम्बरमा बोलका गीत कम्पोज गर्नु अगाडि नै छक्कापन्जाको ‘सुन न चम्पा’ बोलको गीतमा काम गरिसकेका थिए। र त्यो गीत हिट पनि भएको थियो। त्यसपछि दीपक-दीपाको ब्यानरमा बन्ने फिल्ममा शर्मा नियमित जस्तो पर्न थाले। जतिखेर उनी संगीतमा भविष्य खोज्दै म्याग्दीबाट काठमाडौँ छिरेका थिए- त्योबेला कसैले नपत्याएको उनीसँग तितो अनुभव छ। तर जब सिनेमामा संगीत दिन थाले उम्दा मेलोडी सिर्जना गरे उनले।
‘काम गरिसकेपछि चित्त बुझ्ने गर्नुपर्छ भन्ने लाग्छ। मैले गरेको सिर्जनामा उहाँहरूको चित्त बुझेर नै अहिलेसम्म सहकार्य हुन पाएको हो’, उनले भने।
‘ब्रास्लेट’, ‘मंगलम’, ‘सम्झी राख है’, ‘किस्मत-२’, ‘हवल्दार सुन्तली’, हिजोआजका कुरा’, ‘छक्का पञ्जा’जस्ता ३२ भन्दा बढी फिल्ममा संगीत गरेका दीपकले।
मैले संगीत गरेका अधिकांश फिल्मी गीत दर्शकले रुचाएका छन् भन्ने दावी उनले गरे पनि उनलाई चिनाएको छक्कापन्जा सिरिजले नै हो भन्दा फरक पर्दैन। पहिलो छक्का पन्जाको ‘सुन चम्पा’ बोलको गीतले उनलाई चिनाएको थियो भने गायक कृष्ण काफ्लेलाई चलचित्र गीतमा स्थापित गराएको थियो ।
चर्चित संगीकार बन्ने संकल्प र सपनासहित लगातार पाँच वर्ष दीपकले मिहिनेत गरिरहे। प्रतिफलस्वरूप संगीत क्षेत्रको चुचुरो टेक्न उनी सफल भए। सांगीतिक बजारमा आफूलाई चलाइराख्न गाह्रै देख्छन् उनी। प्रतिस्पर्धी बजारमा संगीतको पनि आफ्नै खाले प्रतिस्पर्धा रहेको लाग्छ उनलाई। युट्युबले गीतलाई सस्तो बनाइदिएको समयमा लामो समय दर्शकले याद राख्ने गीत बनाउन गाह्रो देख्छन् शर्मा। ‘गीतको बाढी छ। यस्तोमा दर्शकले रुचाउने, याद गर्न सक्ने गीत बनाउन गाह्रो छ। अहिले त झनै टिकटिकमा भाइरल नभए गीत आएको नआएको पत्तै पाइँदैन’, उनले भने।
‘काठमाडौँमा करिब ५ वर्ष कडा संघर्ष र मिहिनत गरेर आफूलाई स्थापित गरेका शर्माका गीतका मेलोडी भने एकनासै जस्तो सुनिन्छ। त्यसैगरी, छक्का पन्जा-३ को ‘पहिलो नम्बरमा’ बोलको मेलाेडी र छक्कापन्जा-४ को दर्शन सलामको मेलोडी उस्तै लाग्छ। तर शर्मा दुवै गीतको मेलोडीमा धेरै अन्तर रहेको बताउँछन्। ‘निकै फरक छ। मेलोडी मात्रै होइन, यसको मेलोडी, रिदम, शब्द र कम्पोजिसन नै फरक छ’, उनले भने।
गीतकारसमेत रहेका दीपक झण्डै दुई दशकदेखि संगीत सिर्जनामा छन्। यहाँसम्म आउँदा एक हजारभन्दा बढी गीतमा संगीत दिइसकेका छन् उनले। २०६१ सालदेखि नेपाली सुगम संगीतमा पाइला राखेका शर्मा ३२ वटा नेपाली फिल्ममा संगीत गरिसकेका छन्। उनलाई चिनाउने फिल्म औँलामा गन्न सकिने भए पनि छक्कापन्जाको सिरिज पहिलो नम्बरमा आउँछ। भन्छन्, ‘छक्का पन्जाका सबै गीतले मलाई एउटा हाइट दिएको छ।’