
काठमाडौँ- पछिल्लो समय नेपालीहरु संसारका जुनसुकै कुनामा पुगेका छन्। यसको फलस्वरुप नेपालीहरुले प्रयोग गर्ने बोलिचालीको भाषामा फरक पर्ने गरेको छ। नेपाली शब्दकोषमा अर्थ नै नभएका शब्दहरु पनि नेपालीहरुले बोलिचालीमा प्रयोग गर्ने गरेका छन्। यसकारण प्रज्ञा प्रतिष्ठानले निकाल्ने शब्दकोषमा बोलिचालीको भाषामा प्रयोग हुने नेपाली शब्दहरुसमेत सामेल गर्न प्रज्ञा प्रतिष्ठान बाध्य भएको छ।
प्रतिष्ठानले पहिलो पटक २०१९ सालमा ‘नेपाली शब्दकोश’ प्रकाशित गरेको थियो । त्यसपछि उक्त शब्दकोशलाई लिएर २०४० सालमा ‘नेपाली बृहत् शब्दकोश’ को पहिलो संस्करण प्रकाशित गरेको थियो । उक्त शब्दकोश २०७५ सालसम्म दसौं संस्करण प्रकाशित भइसको छ। प्रतिष्ठानले सोही शब्दकोशलाई पहिलो संस्करणका रूपमा ‘प्रज्ञा नेपाली बृहत् शब्दकोश’ (२०७९) प्रकाशित गरेको छ। हाल प्रकाशित गरीएको शब्दकोशमा भने विभिन्न धर्म संस्कृतिसँग जोडिएको नेपाली भाषा, जाति विशेषसँग जोडिएको भाषिक शब्दहरु, बोलिचालिको भाषा आदिलाई समेटेर ‘प्रज्ञा नेपाली बृहत् शब्दकोश’ (२०७९) प्रकाशित गरेको हो।
‘प्रज्ञा नेपाली बृहत् शब्दकोश’ (२०७९) मा आम मानिसहरुको बोलिचालिका क्रममा मुखैमा झुण्डिएको लास्टै, ओख्खो जस्ता थुप्रै शब्दहरुसमेत थपेको ‘प्रज्ञा नेपाली बृहत् शब्दकोश’ (२०७९) का विशेष सम्पादक प्रा.डा. हेमनाथ पौडेलले बताएका छन्।
पछिल्लो समय नेपाली भाषाको प्रयोग क्षेत्र पनि बिस्तार हुँदै गएकोले पनि नयाँ नयाँ शब्दहरु थपिएको उनी बताउछन्।
‘अब नेपाली भाषाको प्रयोग क्षेत्र पनि बिस्तार भएको छ। यहाँदेखि लिएर भारतको विभिन्न प्रान्तहरुमा हु्ँदै यूरोप अष्ट्रेलिया अमेरिका लगायतका विभिन्न ठाउँहरुमा नेपाली समुदाय बस्न थालिसक्नु भएको छ। त्यसैले उहाँहरुले प्रयोग गर्ने शब्दहरु फरक फरक भइसकेका छन्’, उनी भन्छन्, ‘ती सबै शब्दहरुलाई समेटेर नेपाली भाषाको बिस्तारको हिसाबले नेपाली शब्दकोशलाई पनि समृद्ध बनाउने हिसाबले नयाँ शब्दहरु थपिएको हो।’
शब्द थप गर्ने क्रममा विभिन्न स्थानहरुमा गोष्ठी भएको उनी बताउँछन्। यसका लागि अछामदेखि लिएर नेपालका विभिन्न स्थानहरुमा समेत गोष्ठी वा सेमिनारहरु गरेर शब्द संकलको निमित्त उनीहरुलाई जिम्मेवारी दिएर त्यहाँबाट छनोट भएका शब्दहरु शब्दकोशमा समेटिएको छ।
उनका अनुसार हालसम्म सो शब्दकोशमा १ लाख ३८ हजार ३ सय ४४ शब्दहरु समेटिएका छन्। यसमा पहिलै शब्दकोशमा भएका शब्दहरु र हाल नयाँ थपिएका शब्दहरु रहेको पौडेलले बताए।
मुलुकभित्रका विभिन्न मातृभाषाका प्रचलित शब्दहरू, नेपाली भाषाको भाषिका तथा मुलुक बाहिर बोलिने नेपाली भाषाका शब्दसमेत नयाँ शब्दकोशमा समेटिएका छन् ।
‘विशेष गरी मुलुकका मातृभाषा, भुगोलका शब्दहरु, स्वास्थ्य क्षेत्रमा थपिएका शब्दहरु, नेपाली भाषाकै विभिन्न भाषिका तथा मुलुकबाहिर नेपालीभाषी रहेका ठाउँका प्रचलनमा रहेका भाषाहरूसँगको संसर्गले नेपाली भाषाले आर्जन गरेका शब्दहरू समेटिएका छन्, उनी भन्छन्, ‘अझै पनि सोचेजति प्राविधिक शब्दहरू समेट्न सकिएको छैन ।’
करिब बाह्र वर्षको प्रयासमा कोश नयाँ संस्करण प्रकाशनमा आएको प्रतिष्ठानले जनाएको छ। विगतको भन्दा ठूलो आकारमा २ हजार २८ पानाको रहेको शब्दकोश प्रतिष्ठानले प्रकाशनमा ल्याएको हो। शब्दकोशलाई मोबाइल एपमा राखिने र प्रयोगकर्ताले न्यूनतम शुल्क बुझाएर हेर्न मिल्ने व्यवस्था गरिएको छ। पौडेलका अनुसार ‘प्रज्ञा नेपाली बृहत् शब्दकोश’ (२०७९) पुस्तकमा सामेल भएका शब्दहरु नै मोबाइल एप मार्फत पनि आम पाठकले पढ्न पाउने व्यवस्था गरिएको छ।