
चलचित्र बनाउनेहरूको सधैँ एउटा तर्क हुन्छ- दर्शकलाई हामीले मनोरञ्जन दिइराखेका छौँ। तर, समाजबाट पर-पर भागिरहेको आरोप खेप्न पुगेको नेपाली सिनेमालाई घरेलु दर्शकले रूचाइरहेका छैनन्।
किन त ?
चलचित्र निर्देशक मनोज पण्डित भन्छन्, ‘मनोरञ्जन नभएर।’ हरेक हप्ता दुईदेखि तीन फिल्म प्रदर्शनमा आउँछन् तर फिल्म हलमा दर्शक देखिँदैनन्। नेपाली फिल्म चलेको अनुपातमा दर्शक हलमा नदेखिनु दर्शकले मनोरञ्जन अन्य क्षेत्रबाट पाएर हो या होइन। बरु नेपाली सिनेमाले दर्शकलाई भरपूर्ण मनोरञ्जन दिन नसक्नु नै हो।
‘मनोरञ्जनबिनाको सिनेमाले दर्शकलाई राहत दिन सक्दैन’, निर्देशक पण्डित भन्छन्, ‘तनाव कम गर्न सिनेमा हेर्न जानेहरू उल्टो कुर्चीमा बस्न धैर्यता राख्न सक्दैनन् किनभने नेपाली सिनेमा र दर्शकबीच कनेक्ट गर्न सक्ने कथामा गतिशीलता छैन।’
नेपाली सिनेमा बलियो बन्न नसक्नुमा गतिलो कथाको अभाव खेप्दै आएको सिनेमा उद्योगले कथा भन्ने शैली पनि कलात्मक हुन नसकेको आराेप छ पण्डितकाे। वधशाला, छाया र एक फिल्मसम्म आइपुग्दा त्यस किसिमको काम गर्न नसकेको स्वीकार्छन् उनी। उनले निर्देशन गरेका फिल्ममध्ये वधशालाबाहेक अन्य सम्झिन सकिन्न तर उनी यतिखेर नेपाली सिनेमाले मनोरञ्जन दिन नसक्नुको आरोप कथामा गतिशीलता र पात्रको विकासमा त्रुटि देखाउँछन्। भन्छन्, ‘कथामा गतिशिलता र त्यसको विकास चमात्कारिक हुनुपर्थ्याे तर छैन। पात्रको तनावपूर्ण समस्याको समाधान गर्ने क्रममा दर्शकलाई राहत मिल्नुपर्छ तर हामीले दर्शकलाई तनाव पछिको मुक्तिको अनुभव दिन सकेका छैनौँ।’
अधिकांश सिनेमाले तनावबाट राहत दिन नसक्दा दर्शकभन्दा बढी फिल्मकर्मीहरू तनावबाट गुज्रिनु परेको बताउँछन् पण्डित। दर्शकलाई भरपूर्ण मनोरञ्जन दिनसक्ने सिनेमाले मेकरलाई पनि मनोरञ्जन दिनसक्छ। फिल्मकर्मी स्वयम् तनावबाट गुज्रिनुपर्ने अवस्था भएपछि दर्शकले मनोरञ्जन लिन्छन् भन्ने ग्यारेन्टी हुँदैन।
पण्डितका अनुसार संसारको कुनै पनि सिनेमाको उद्देश्य हुन्छ- दर्शकलाई मनोरञ्जन दिनु। मनोरञ्जनात्मक शैलीमार्फत् जनता र राज्यलाई प्रश्न गर्नु। तर नेपाली सिनेमाले दिन खोजेको मनोरञ्जन (अपवादबाहेक) दर्शकसँग जोडिँदैन। मानिसले जबसम्म आफ्नो आवश्यकताको कथा सम्झिँदैन तबसम्म सिनेमासँग कनेक्ट हुँदैनन्।
सिनेमाले दर्शकको मनोविज्ञानमा दैनिक आवश्यकता बनाउन सक्नुपर्छ त्यसका लागि पहिला त सिनेमा मनोरञ्जन नै हुनुपर्ने बताउँछन् पण्डित। सिनेमा रहरको विषय मात्रै नभएर आवश्यकताको विषय महसुस गराउन सकियो भने दर्शकले धेरै सिनेमा हेर्छन्। र धेरै दिनसम्म खपत हुने सिनेमा बनाउन पहिला मनोरञ्जन नै हुनुपर्याे। उनका अनुसार विश्वव्यापी मान्यता के हो भने दर्शकलाई मनोरञ्जन दिएको छ वा छैन? यसले धेरै फरक पार्छ। विश्वमा सिनेमा बनाउने शैली फरक भए पनि आधारभूत तत्व त त्यही हो। तर हलिउडको सिनेमाले मनोरञ्जन दिनसक्दा हाम्रो फिल्मले किन मनोरञ्जन दिन सकेको छैन? यस विषयमा बहस गर्नुपर्ने बताउँछन् पण्डित।
पण्डितले दुई फिल्म सम्झिए- साठीको दशकको वधशाला र सत्तरीको दशकको ऐना झ्यालको पुतली। यी दुवै व्यावसायिक सफलता पाउने आशा राखेर बनाइएको फिल्म नभएकाे बताउँछन् पण्डित।
पण्डितका अनुसार हल सञ्चालकका लागि दर्शक क्रेता हुन्, जसले धेरैभन्दा धेरै सिनेमा हेरिदिऊन् भन्ने आशा राख्छन्। तर दर्शकले आकर्षण जसमा छ त्यसैमा खर्च गर्न तयार हुने हो। कबड्डीका सबै सिरिज चल्नु तर पारिवारिक फिल्म फूलबारी निर्देशक रामबाबु गुरुङले मनोरञ्जनकै लागि बनाएका थिए तर दर्शकले रूचाइदिएनन्। भरपूर्ण मनोरञ्जन दिने उद्देश्यले बनाउँदा पनि सिनेमा चलेका छैन र आफ्नो अभिव्यक्तिमार्फत् समाज र राज्यलाई प्रश्न गर्न बनाइएको वधशाला र ऐना झ्यालको पुतलीजस्ता फिल्म पनि चल्दैनन्।
पण्डितका अनुसार यस्ता फिल्मले तत्काल पैसा कमाउन सक्छ भन्ने विश्वसनीयता हुँदैन। तर बहसको विषय बनाउन सक्ने दाबी गर्छन् उनी। ‘कुनैकुनै फिल्म अभिव्यक्तिका लागि बनाइएको हुन्छ। जस्तै मैले वधशाला बनाएको मेरो राज्यसँग विद्रोह हो। त्यस्तो बेला दर्शकले मेरो फिल्म हेरेर मनोरञ्जन लिएनन् अथवा चलेन भनेर गुनासो गर्नु बेकार हो’, पण्डित भन्छन्।
मनोरञ्जन भन्ने अनुभूति निर्माण गर्ने प्रक्रियामा चुकेका बताउने पण्डित बलिउड तथा दक्षिण भारतीय फिल्म चल्नुको कारण सिनेमाको मनोरञ्जनलाई आत्मसाथ गर्नु बताउँछन्
पण्डितको वधशाला मनोरञ्जनभन्दा पनि सोच्न बाध्य बनाउन खोजिएको फिल्म थियो, जसले व्यावसायिक सफलता पाउन सकेन। ऐना झ्यालको पुतलीले दर्शकलाई नोष्टाल्जिक बनाउँछ। आफ्नो स्कुले जीवनको स्मरण गराउने फिल्म भएपनि दर्शकले कति रूचाए भन्ने हो। मनोरञ्जनमार्फत् सामाजिक मुद्दा उठाए पनि सही तरिकाले भनियो कि नाइँ भन्ने पनि हुन्छ। सही भन्न सकिएन भने फिल्म चल्दैन। यो सन्दर्भमा पण्डित भन्छन्, ‘मानिसका आधारभूत कुरा समेटर पूर्ण मनोरञ्जन दिन सकियो भने दर्शकलाई हलसम्म ल्याउन सकिन्छ । तर मनोरञ्जन दिने सक्ने उत्सुकता नै हुँदैन हाम्रा फिल्ममा।’
गम्भीर मुद्दामा बनेका सिनेमा हेरेर नेपाली दर्शकले फिल्म मनोरञ्जन लिँदैनन् भने मनोरञ्जनात्मक सिनेमा मात्रै दर्शकको रोजाइमा पर्छन् भन्ने पनि गलत हुन्छ। कुनै न कुनै सिनेमा मेकरले समाजको मुद्दासँग अभिप्रेरित भएर काम गर्न सक्छ। दर्शकलाई गम्भीर विषयवस्तुमार्फत् सोच्न बाध्य बनाउँछ। तर मनोरञ्जनलाई मात्रै ध्यानमा राखेर बनाइएका सिनेमा पनि बजारमा चलेका छैनन्। दर्शकलाई मनोरञ्जन दिन सकेका छैनन्। ‘मनोरञ्जन भन्ने तत्त्वको उत्पादन गर्ने प्रक्रियामा हामी चुकिरहेका छौँ’, पण्डितले भने, ‘हामीमा मनोरञ्जनमाथिको बुझाइमा नै समस्या छ।’
मनोरञ्जन भने अनुभूति निर्माण गर्ने प्रक्रियामा चुकेका बताउने पण्डित बलिउड तथा दक्षिण भारतीय फिल्म चल्नुको कारण सिनेमाको मनोरञ्जनलाई आत्मसाथ गर्नु बताउँछन्। तर नेपाली बजारमा सिनेमालाई मनोरञ्जन मात्रै लिइदिनाले पनि सिनेमा नचलेको लाग्छ पण्डितलाई। नेपाली समाजले सिनेमालाई केवल मनोरञ्जनको ट्याग लगाइदिएको छ। मनोरञ्जनका अनेक तहहरू छन्। एउटा बच्चाले गर्ने मनोरञ्जन र वृद्धाले गर्ने मनोरञ्जन पक्कै फरक हुन्छ। गजब कतिसम्म छ भने चलचित्र उद्योग र सेक्स उद्योग दुवैलाई मनोरञ्जन उद्योग भनेर मान्नेहरू पनि छन्।
पत्रपत्रिकामा पनि धेरैले चलचित्रलाई मनोरञ्जनकै क्षेत्र मान्छन्। यो हो पनि। चलचित्रमा नै किन? कलाका सबै रूपहरू मनोरञ्जनकै क्षेत्र हुन्। सङ्गीत मनोरञ्जनको क्षेत्र हो, नृत्य मनोरञ्जनको क्षेत्र हो। नाटक, साहित्य, चित्रकला सबैमा मनोरञ्जन त हुन्छ नै। मनोरञ्जन नहुने हो भने मानिस पैसा तिरितिरिकन कुनै पनि चलचित्र किन हेर्छ? तब प्रश्न आउँछ, चलचित्रले दिने मनोरञ्जन कस्तो मनोरञ्जन हो, जसमा लोभिएर मानिसहरू गोजीको पैसा खर्च गर्न हलसम्म पुग्छन्?
चलचित्रकर्मीले नै गम्भीरतापूर्वक मनोरञ्जन उत्पादन गरेका छैनन्’, पण्डित भन्छन्, ‘हामीले मनोरञ्जनलाई मानवीय आवश्यकताका रूपमा स्वीकार्नुपर्छ। तर मनोरञ्जनसँग हाम्रो सौतेनी लडाइँ छ।’ पण्डितका अनुसार मनोरञ्जनले भरिपूर्ण सिनेमा बनाएर दर्शकलाई मुग्ध पार्न पनि सकेका छैन भने गम्भीर फिल्म बनाएर दर्शकलाई सोचमग्न पनि बनाउन सकिएको छैन। यी दुवै समस्या देखिनुको कारण नेपाली फिल्मकर्मी आदर्शबाट मुक्त हुन नसकेको औंल्याउँछन् पण्डित।
‘चलचित्रकर्मीका लागि सिनेमा मनोरञ्जन क्षेत्र हो, तर मनोरञ्जन भने जुन अनुभूति उत्पादन गर्नुपर्ने हो, त्यो हेयको दृष्टिकोणका रूपमा हेर्छाैँ। तनाव छ तर आदर्शले लुकाउँछौँ’, पण्डितले भने। मनोरञ्जन मानवीय आवश्यकता हो भन्ने कुरा नस्वीकार्दा पनि मनोरञ्जन छुटेको बताउँछन् पण्डित। ‘सिनेमाकर्मी नै मनोरञ्जनको व्यापार गर्छौँ भन्न सक्दैनौँ’, उनी भन्छन्, ‘जबसम्म हामी मनोरञ्जनको व्यापार गर्छौँ भन्न सक्दैनौँ जबसम्म मनोरञ्जनको आधारभूत तहबाट काम हुन सक्दैन तबसम्म नेपाली सिनेमाभित्र मनोरञ्जन कमजोर हुन्छ। खासमा हामी कमजोर मनोरञ्जन उत्पादक हौँ।’
विभिन्न शैलीमा मनोरञ्जन उत्पादन हुन्छ तर मनोरञ्जनको व्यापारी हो भन्न गाह्रो मान्ने मानसिकता छ। चलचित्रकर्मीलाई आरोप के पनि छ भने- कमजोर आर्थिक र सामाजिक स्थिति भएका व्यक्तिहरूलाई नै छानी-छानी होच्याउनुपर्ने, जिस्काउनुपर्ने वा उनीहरूको मजाक उडाउनुपर्ने कारण के? वास्तवमा चलचित्रले हामीलाई तुच्छ विचारमा रमाउन सिकाएका छन् भन्ने छ। उदात्तता नेपाली चलचित्रहरूले खोज्नै सकेनन्। वीरता हाम्रो पाखुरामा र लात्तीमा सीमित छ, मान्छे कुट्ने काममा अल्झिकएको छ। वीरको जाति नेपाली भन्ने इतिहासलाई चलचित्रका पर्दामा देख्न पाएका छैनौँ। वीरतापूर्ण कार्यबाट सगर्व आनन्दित हुन हामीले पाएका छैनौँ।
हाम्रो नायक भनेको पनि खलनायकहरूसँग फाइट खेल्नै मात्र तम्सिन्छ। कति तुच्छ कुरामा नेपाली नायकहरू लडिराखेका छन्? नायकको वीरतामा आदर्शको झल्को पटक्कै छैन, जसले जीवनलाई अझै राम्रो विचारसहित बाँच्नका लागि प्रेरित गरोस्। जसलाई सम्झँदा दुःखमा पनि अगाडि बढ्न प्रेरणा मिल्ने पात्र इतिहासमा छन् तर चलचित्रमा छैनन्। मानव जातिको हितका लागि बलिदानी दिनेहरूलाई, शहीदहरूलाई पनि हामीले चलचित्रमा ससम्मान बोलाउन सकिएको छैन। बल्लतल्ल कसैलाई ठाउँ दिएका छौँ भने पनि तिनलाई त्यति गर्विलो बनाएर उभ्याउन सकिएको छैन। उनीहरूको चरित्रमाथि न्याय गर्न सकेनौँ जति गर्विला उनीहरू वास्तविक जीवनमै थिए।
मनोरञ्जनलाई असामाजिक मान्ने धारणा नै गलत छ। मनोरञ्जनलाई असमाजिक मान्ने सोच नै नेपाली सिनेमाको लागि घातक हो। मनोरञ्जनलाई जुन दिन मानसिक स्वस्थ्यका लागि आधारभूत आवश्यकता हो भन्ने बुझिन्छ तब सिनेमा पनि चल्न थाल्छ।
मानिस सामाजिक र संवेदनशील प्राणी हो। मानिसले त्यस्तो कुरालाई मनोरञ्जन लिन्छ जब ऊसँग जोडिन्छ। उसले आनन्दित भएको बेला स्वीकार्छ।
सशक्त मनोरञ्जनभित्र सशक्त चेतना पनि हुन्छ। गम्भीर सूचनालाई सशक्त ढंगले दर्शकमाझ देखाउन सकिन्छ। विश्व सिनेमाले मनोरञ्जनसँगै ठूलो-ठूलो मुद्दा पनि उठाउने गरेको छ। दर्शकलाई सोच्न बाध्य बनाएको छ। पण्डित भन्छन्, ‘गम्भीर विषयलाई पनि मनोरञ्जनमार्फत् भन्न सकिने भएकाले चलचित्रकर्मीहरू अझै अध्ययनशील हुनुपर्याे। समाज बुझेको हुनुपर्याे। पैसाका खोलो बगाएर मात्रै पनि सिनेमा मनोरञ्जनलाई क्याच गर्न सक्छ भन्नु छैन।’
उनका अनुसार नेपाली समाजमा मनोरञ्जनलाई ढोंगी सोच राख्ने गरेको छ। ‘मनोरञ्जनलाई हामीले यौनसँग मात्रै जोड्ने गरिन्छ तर मनोरञ्जन भनेको जीवनको आधारभूत तत्त्व हो’, उनी भन्छन्, ‘मनोरञ्जन भएन भने हरेक मानिस रोगी हुन्छ। जीवनको सम्बन्धमा कुनै रस हुँदैन।’
मनोरञ्जन मानवीय उत्पादन हो र यसलाई गम्भीरताका साथ काम गर्न आवश्यक ठान्छन् पण्डित। हलिउडले बनाएको फिल्मलाई संसारले हेरेर राहत लिन सक्छ तर नेपाली फिल्म हेरेर लिन सक्दैन। किन ? ‘मनोरञ्जनलाई असामाजिक मान्ने धारणा नै गलत छ’, पण्डितले भने, ‘मनोरञ्जनलाई असामाजिक मान्ने सोच नै नेपाली सिनेमाको लागि घातक हो। मनोरञ्जनलाई जुन दिन मानसिक स्वस्थ्यका लागि आधारभूत आवश्यकता हो भन्ने बुझिन्छ तब सिनेमा पनि चल्न थाल्छ।’
आज पनि अन्य पेशामा लागेका र मनोरञ्जन क्षेत्रमा लागेकालाई समान दृष्टिकोणले हेर्दैन नेपाली समाजले। ‘मनोरञ्जनलाई वेश्यावृत्तिको रूपमा हेर्नु नै मनोरञ्जन निर्माणकर्ताहरूको मनोबललाई गिराउनु हो’, पण्डितले भने।
पश्चिमा मुलुकमा मात्रै नभएर यही भारतमा पनि मनोरञ्जन क्षेत्रमा लाग्नेलाई प्रोत्साहन गर्दै आएको छ। उत्कृष्ट जीवन दिएको छ। मनोरञ्जन दिनेलाई सम्मान दिन्छ। मनोरञ्जन दिनेहरूले सद्भाव र शान्तिको विकास गर्ने माध्यम ठान्दै उत्प्रेरित गराउँछन् राज्य र समाजले। मानिसभित्र आशा र सम्भावनाको विकास गराउँछ। तर नेपालमा त्यस्तो दृष्टिकोणको अभाव भएको हुँदा पनि प्रतिफल सिनेमामा देखिन पुगेको छ। पण्डित भन्छन्, ‘यो समाजले मनोरञ्जन क्षेत्रमा लागेकालाई हेयको दृष्टिकोणले हेरुञ्जेल सिनेमामा मनोरञ्जन खड्किरहन्छ।’