
काठमाडौँ– अमेरिकाबाट अवैध ४० करोड रुपैयाँ भित्र्याउन लागिपरेका पृथ्वीबहादुर शाहले ठगी गर्नकै लागि २४ वटा भन्दा धेरै कम्पनी खोलेको पाइएको छ।
शाह र उनको समूहमा रहेका १९ जनाविरुद्ध चार वटा मुद्दा चलाउनुपर्ने नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले जनाएको छ।
सिआईबीले बुधबार पत्रकार सम्मेलन गरी शाह, उनका भाइ विजयविक्रम शाहसहितका समूहलाई व्यक्तिविरुद्ध ठगी, लिखतसम्बन्धी कसुर, सहकारी ठगी र संगठित अपराधविरुद्ध मुद्दा चलाउनुपर्ने अनुसन्धानबाट खुल्न आएको जानकारी गराएको हो।
उनीहरुलाई कारबाही गर्नका लागि सीआईबीले अनुसन्धान प्रतिवेदन बुधबार सरकारी वकिल कार्यालय काठमाडौंमा बुझाएको छ।
रिमोट एक्सेसबाट पीडितहरुको डिभाइस मार्फत बैंक एकाउण्टमा पहुँच पुर्याउने र मौज्दात रकम नेपाल र थाइल्याण्डमा पठाउने गरेको खुलेको छ।
शाहले क्यान्सर, अल्जाइमर रोग पीडित र जेष्ठ नागरिकलाई टार्गेट गरी ठगी गर्ने र पीडितलाई सम्पत्ति सुद्धिकरण विभागले कारबाही गर्छ र कानुनी उल्झनमा परिन्छ भनि कानुनी प्रक्रियामा नजान धम्की दिने गरेको खुलेको छ।
पीडितलाई सम्पर्क गर्दा भारतको वेस्ट बंगालबाट गर्ने गरेको तर नम्बर भने अमेरिकन नै देखिने गरेको सीआईबीले फेला पारेको छ। अहिलेसम्म उनीबाट पीडित हुनेको संख्या ५६ जना रहेको खुले पनि २४ जनाले मात्रै जाहेरी दिएका छन्।
उनले यसरी आर्जन गरेको रकमबाट काठमाडौंमा जग्गा खरिद गरेको भेटिएको छ। कीर्ते विवरणसहित दर्ता भएको उक्त कम्पनी विभिन्न व्यक्ति हुँदै हाल अनुप खड्काको नाममा संचालन रहेको पाईको छ। तर आर्थिक कारोबार भने पृथ्वीबहादुर शाहले नै गरिरहेका छन्।
अमेरिकी नागरिक ठगिएको उजुरी नेपालस्थित अमेरिकी राजदूतावासले नै जानकारी गराएपछि पृथ्वीबहादुर शाहसहितका ७ जनालाई पक्राउ गरी अनुसन्धान गरिएको थियो।
अनुसन्धानमा उनीहरूले ठगीबाट आर्जन गरेको सम्पत्ति घर, जग्गालगायत कारोबारमा लगानी गरेको पनि खुल्न आएको सिआईबीका प्रवक्ता प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले बताए। घटनामा संलग्न पृथ्वीसहित ७ जना पक्राउ परेका छन् भने अन्य १३ जना फरार छन्। घटनामा संलग्न सबैलाई पीडितलाई क्षतिपूर्ति दिलाई ७ वर्ष कैद र ७० हजार जरिवाना हुने कानुनी व्यवस्था गरेको पनि प्रवक्ता थापाले बताए। उनले उनीहरूमाथि सहकारी ऐनअनुसार छुट्टै दण्डसजायको व्यवस्था पनि हुनसक्ने कानुनी व्यवस्था गरेको बताए।
उनीहरूले ठगीबाट आर्जित रकम ३८ करोड, ८६ लाख ६२ हजार १३६ रुपैयाँ रहेको खुल्न आएको छ। उनीहरूविरुद्ध हालसम्म २४ जना पीडितले नेपालस्थित अमेरिकी दुतावासमार्फत उजुरी दिएका छन्। केही क्यानाडियन र बेलायती नागरिक पनि उनीहरूबाट पीडित भएको खुल्न आएको र अनुसन्धानको कामलाई सुरु गरिएको पनि प्रहरीले जनाएको छ।
सो घटनामा संलग्न पृथ्वीसहित ७ जना पक्राउ परेका छन् भने अन्य १३ जना फरार छन्। घटनामा संलग्न सबै पीडितलाई क्षतिपूर्ति दिलाई ७ वर्ष कैद र ७० हजार जरिवाना हुने कानुनी व्यवस्था गरेको पनि प्रवक्ता थापाले बताएका छन्। उनले उनीहरूमाथि सहकारी ऐनअनुसार छुट्टै दण्डसजायको व्यवस्था पनि हुन सक्ने कानुनी व्यवस्था गरेको बताए।
उनीहरुविरुद्ध ठगी, लिखित सम्बन्धी कसुर, सहकारी ठगी र संगठित अपराधको कसुरमा मुद्दा चलाउने सीआईबीको सुझाव छ। असहाय, निरक्षर र ७५ वर्ष माथिकालाई ठगेमा थप एक वर्ष सजाय हुनेछ। लिखित सम्बन्धी कसुरमा पनि ७ वर्ष कैद र ७० हजार जरिवाना र क्षतिपूर्ति भराइदिनु पर्ने व्यवस्था छ।