
काठमाडौँ- खोटाङ घर भएर हाल काठमाडौँको नक्साल बस्दै आएका अनुप खतिवडा मंगलबार आफ्नो निजी सवारीमा दरबारमार्ग पुगे। उनी आफ्नो लागि केही कपडा किन्ने सोचले त्यहाँ पुगेका थिए।
आफ्नो सवारी एउटा कपडा पसलअगाडि रोकाए। रोक्नासाथ प्रहरी सिठ्ठी बजाउँदै आयो र उनलाई त्यहाँ गाडी नराख्न आग्रह गर्यो। खतिवडा दरबारमार्ग बेलाबेला किनमेलका लागि पुगिरहन्छन् तर पछिल्लो केही समय भने उनी काम विशेषले काठमाडौँ बाहिर थिए। दरबारमार्गमा पार्किङ हटाएकोबारे उनलाई जानकारी थिएन। कपडा पसलअघि गाडी रोक्न नदिएपछि उनले पार्किङ खोज्न दरबारमार्ग एक चक्कर लगाए तर कतै पनि भेटाएनन्। अन्तत: उनी निराश बनेर किनमेल नगरी नै घर फर्किए।
पार्किङ हटाउँदा सर्वसाधारणलाई समस्या भएको उनी सुनाउँछन्। ‘किनमेल गर्न आउने जो कोही सवारी साधन लिएर नै आएको हुन्छ पार्किङ नै नभएपछि त समस्या हुने नै भयो नि,’ उनी भन्छन्, ‘पार्किङ नभएकै कारण किनमेल गर्न निस्किएको मान्छे खालि हात फर्किनु परेको छ।’
खतिवडा मात्रै होइन, हिजोआज दरबारमार्ग पुग्ने जो कोही पार्किङ नभएका कारण समस्यामा पर्ने गरेका छन्। खतिवडा जस्तै धेरै जना खाली हात फर्किन पनि बाध्य छन्। पार्किङ हुँदा दिनमै करोडौको व्यापार हुने यो स्थान आजभोलि पार्किङ हटेसँगै सुनसान बनेको छ।
दरबारमार्गमा व्यवसाय गर्दै आएका टाइटन घडीका सञ्चालक अनिलकुमार अग्रवाल पार्किङ नभएकै कारण व्यवसाय ठप्प जस्तै भएको बताउँछन्।
‘पार्किङको समस्या नहुँदा किनमेलको लागि आएका सर्वसाधारणहरु पसलमा पस्ने, कुनै नयाँ सामान आउको भए लिएर जाने गर्थे तर आजभोलि त दिनभरि पसलमा बस्दा पनि व्यापार हुँदैन,’ उनी भन्छन्, ‘मान्छे नै नआएपछि त व्यापार कहाँबाट होस् त! आफ्नो साधन राख्ने ठाउँ नै नभएपछि त मानिसहरु गाडीबाट झरेर किनमेल गर्न कसरी आऊन्।’
पार्किङ नभएकै कारण व्यवसायमा ठुलो क्षति व्यहोर्नुपरेको उनी सुनाउँछन्।
त्यस्तै एक फेन्सी स्टोर सञ्चालन गर्दै आएकी आकृति पन्थ पनि पार्किङ नभएकै कारण व्यवसायमा घाटा व्यहोरिरहेको सुनाउँछिन्।
‘पार्किङको समस्या नहुँदा कर्मचारीहरुलाई भाइनभ्याइ हुन्थ्यो, अहिले त भएका कर्मचारीहरु पनि पसलमा दिनभर यतिकै बस्नुपर्ने बाध्यता छ,’ उनी भन्छिन्, ‘पहिले पनि एउटा लेन मात्रै त पार्किङको लागि दिइएको थियो, त्यसले सवारी आवतजावतमा केही समस्या पनि गरेको थिएन व्यापार पनि भएकै थियो तर अहिले त व्यापारको त विजोग नै छ, सर्वसाधारणलाई पनि पार्किङ नभएर उस्तै समस्या।’
काठमाडौं महानगरपालिकाले ट्राफिक प्रहरीसँग मिलेर पुस १९ गतेदेखि दरबारमार्ग क्षेत्रमा पार्किङ गर्न निषेध गरेको छ ।
दरबारमार्ग विकास बोर्डका अनुसार ५ लेनको सडकमा दुईतर्फी दुई/दुई लेन सडक छाडेर एकतर्फ एकलेनमा पार्किङ राखिँदै आएको थियो । तर पहिले पार्किङ खुला रहेको क्षेत्रमा बन्द गरिएपछि दरवारमार्ग क्षेत्रमा अहिले पार्किङको समस्या बढेको छ।
निजी गाडी, मोटरसाइकल लिएर किनमेल गर्न जानेहरु पार्किङ नभएकै कारण खाली हात फर्किन बाध्य छन्।
दरबारमार्ग विकास बोर्डले भने पार्किङ हटाएकोमा बिरोध गर्दै आएको छ।
व्यवसायीहरुले पार्किङ हटाएको भन्दै उनीहरुले बिरोध प्रदर्शनका कार्यक्रमहरु पनि गरिरहेका छन्।
सोमबार पनि दरबारमार्ग क्षेत्रका व्यवसायीहरुले आफ्ना पसलका सटरहरु बन्द गरेर कालो ब्यानर राख्दै सडक प्रदर्शन गरेका थिए।
दरवारमार्ग विकास बोर्डका सचिव उद्धव ढकाल भने महानगरपालिकाले जबरजस्ती पार्किङ हटाएसँगै दरबारमार्गको व्यापार ६० प्रतिशतले गिरावट आएको बताउँछन्।
‘दरवारमार्गका व्यवसायीहरुले महानगरलाई प्रत्येक महिना ९ करोड रुपैयाँ बुझाउँछन् साथै हजारौंलाई रोजगारी पनि दिएका छौँ तर महानगरले पार्किङ हटाएकाले व्यवसाय धराशायी बनेको छ,’ उनी भन्छन्, ‘पार्किङ नभएकै कारण यस क्षेत्रको व्यवसाय ६० प्रतिशतसम्म घटेको छ।’
दरबारमार्गको एकतर्फी पार्किङ कायम गर्नुपर्ने माग दरबारमार्ग विकास बोर्डले अघि सारेको उनी बताउँछन्। महानगरले पार्किङको विकल्प नदिएसम्म निरन्तर आन्दोलन गर्ने सचिव ढकालले बताएका छन्।
व्यवसायीहरुले दरबारमार्ग नेपालको मिटिङ प्वाइन्ट र राजधानीको अनुहार भएको भन्दै महानगरले विकास बोर्डलाई कुनै खबर नगरी अचानक बन्द गरेको आरोप लगाएका छन्।
पार्किङ नभएपछि सुनसान बनेको दरबारमार्गका व्यवसायीहरुले महानगरसँग वार्ता गर्ने भनेपनि महानगरले बेवास्ता गरेको उनीहरुको आरोप छ ।