पछिल्लो समय नेपालमा पनि मानसिक स्वास्थ्य समस्या जटिल र चुनौतीपूर्ण बन्दै गएको छ। मानसिक रोगकै कारण आत्महत्या गर्ने र आत्महत्याको प्रयास गर्नेहरूको संख्या ह्वात्तै बढेको अवस्था हो। नेपालमा हरेक वर्ष पाँच हजार बढीले आत्महत्या गरेको तथ्याङ्कले देखाउँछ।
आत्महत्याको प्रयास वा आत्महत्या गर्नेमध्ये ९५ प्रतिशत मानिसमा कुनै न कुनै किसिमको मानसिक समस्या र पाँच प्रतिशत मानिस एक्कासी तनावले आत्महत्याको प्रयास गर्ने गरेको अध्ययनले देखाएको छ। हरेक वर्ष विश्वमा आठ लाखभन्दा बढी मानिसहरू आत्महत्या गर्ने गरेका छन्। र, कोभिड- १९ पछि नेपालमा पनि आत्महत्या गर्नेको संख्या अझै बढेको छ।
डेढ वर्षअघि कोरोना भाइरसको महामारी देखापरेयता विगतको तुलनामा उल्लेख्य रूपमा नेपालमा आत्महत्याका घटनाहरूमा वृद्धि भएको र दिनमा १६ जनाले आत्महत्या गर्ने गरेको प्रहरीको तथ्याङ्कले देखाउँछ।
आत्महत्या गर्ने र आत्महत्याको प्रयास गर्नेको संख्या घटेको छैन। यस्तो अवस्थामा घरपरिवार, समाज र राज्यले कस्तो भूमिका खेल्न आवश्यक होला भन्ने विषयमा केन्द्रित रहेर मनोविद् गोपाल ढकालसँग गरिएको अन्तर्वार्ताको सम्पादित अंश:
मानसिक स्वस्थ्य समस्या विश्वभरि नै एक चुनौती बन्दैछ, हो?
मानसिक स्वास्थ्य समस्या विश्वभरिका लागि चुनौती बन्दै गएको छ। सन् २०३० मा धेरै व्यक्तिलाई सताउने रोगमध्ये डिप्रेसन हुनेछ, भनिन्छ। यसको जोखिम निकै चनौतीपूर्ण देखिँदै आएको छ। बेलैमा डिप्रेसनको उपचार हुन सकेन भने आत्महत्याको दर बढ्ने देखिन्छ। तर सबै मानिसले आत्महत्या मानसिक रोगकै कारण गर्छन् भन्ने होइन।
जति पनि आत्महत्या हुन्छ, त्यसको ९० प्रतिशत मानसिक रोगका कारण, ८० प्रतिशत डिप्रेसनको कारण, र केही आत्महत्या आवेगका कारण हुन्छ। बालबालिकाहरूले भने सेलिब्रेटीहरूको आत्महत्या देखेर त्यस किसिमको प्रयास गर्ने गर्छन्। नेपालमा आत्महत्याको चित्र डरलाग्दो हुनुको पहिलो कारण त डिप्रेसन नै हो।
युवाहरूमा बढ्दो उदासिनाता छ?
युवाहरूमा दबाब बढी छ। घरपरिवारको जिम्मेवारी छ। पहिलेको जमानामा मानिसहरू थोरै पैसामा धेरैथोक जोड्न सक्थे। अहिले मानिसहरु धेरै पैसामा थोरै सामान पनि जोड्न सक्दैनन्। युवाहरूले अर्थको महत्त्व बुझेका छन्। आर्थिक संकट बेरोजगार युवाहरूलाई बढी खट्किन्छ। तब उनीहरु उदासिनताबाट गुज्रिनुको विकल्पै छैन। फेरि आजका युवायुवतीहरुका इच्छा आकाङ्क्षा असीमित छन्। आर्थिक अवस्थाले नभ्याउने सपना देख्न माहिर छन्।
आजका युवाहरू सामाजिक, राजनीतिक पीडित पनि भए। अन्यायमा परेका छन्। ७० प्रतिशत मानिसहरू मानसिक समस्याकै कारण मर्नु राजनीतिक अस्थिरताका कारण युवापुस्तामा आएको उदासिनता नै हो। ९० प्रतिशत मानिसहरूको निधन डिप्रेसनको सही निदान र उपचार नगर्दा हुन्छ।
बढ्दो महँगी र भड्किलो जीवनशैली मुख्य कारण होला?
युवाहरू आफूलाई मात्रै होइन समाज बुझ्ने जब हुन्छन् नि तब जिम्मेवारीको बोध गर्छन्। घरपरिवार र समाजप्रतिको कर्तव्य निर्वाह गर्न अग्रसर हुन्छन्। तर बढ्दो महँगी र अस्थिर राजनीतिका कारण युवाहरू पलायन हुनुपर्ने अवस्था छ। सानो काममा चित्त बुझ्न सकेको हुँदैन। सहर केन्द्रीत हुन मन हुन्छ। तर सहरमा भनेजस्तो रोजगार र गतिलो आयस्रोत छैन। साथै अर्काथरी युवामा भड्किलो जीवनशैली छ। अनावश्यक खर्च, मस्ती, छ। त्यसको देखासिकी अन्य युवाले गर्छन्।
बालबच्चा घरपरिवार, समाजले थिच्नुको साथै भड्किलो जीवनशैलीका कारण पनि युवाहरू बेचैन छन्। जस्तै, कोराना न्यूनीकरणका लागि लकडाउन लाग्दा १५ सयभन्दा बढीले आत्महत्या गरे। यसले सामान्य अवस्थामा भन्दा लकडाउन अवधिमा आत्महत्या गर्नेको संख्या बढेको देखाउँछ। यसको मुख्य कारण अर्थ हो।
कुन उमेर समूहका मानिसमा आत्महत्या दर बढी छ?
बालबालिका, जेष्ठ नागरिक र युवाहरूमध्ये सबैभन्दा बढी १८ वर्षदेखि ४० वर्षका युवाहरूमा आत्महत्या र आत्महत्याको प्रयास गर्ने देखिन्छ। नेपालमा ४० प्रतिशत युवा छन् र ती सबैसँग आ-आफ्नै समस्या र चुनौती छन्। त्यसो हुँदा उनीहरूमा बढी चिन्तामा हुन्छन्।
आत्महत्या तथा आत्महत्याको प्रयास गर्ने डाटा कस्तो छ?
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले एउटा अनुसन्धान गर्दा १० प्रतिशत युवाहरू आफ्नो जीवनको कुनै न कुनै कालखण्डमा मानसिक स्वस्थ्यबाट गुज्रिनुपरेको छ। ४.३ प्रतिशत युवाहरू अहिले नै मानसिक स्वस्थ्य समस्या छ भन्ने त्यो अध्ययनले देखाएको छ। साथै ३ प्रतिशत युवाहरूमा उदासिनता (डिप्रेसन)को समस्या छ।
हालको अवस्थामा ६.५ प्रतिशत युवामा आत्महत्याको सोच आएको देखिएको छ। १.१ प्रतिशत वयस्कले आफ्नो जीवनको कुनै पनि कालखण्डमा आत्महत्याको प्रयास गरेका रहेछन्। ४.२ प्रतिशत चाहिँ लागुपदार्थमा फसेका कारण आत्महत्या गरेको देखाएको छ।
आत्महत्या गर्ने मानिसले लक्षण छोड्छ?
आत्महत्या गर्नेले धेरै मात्रामा लक्षणहरू छोडेर जान्छन्। आत्महत्या गर्नेले केही संकेत दिइरहेका हुन्छन्। सुत्न मन गर्दैन। एकोहोरिन्छ। छटपटहाट हुन्छ। आफूसँग भएको सामान अरुलाई बाँड्ने, निरासा प्रकट गर्ने, छिनछिनमा रिसाएर मार्ने र मर्ने धम्की दिन्छन्। अथवा आफूलाई सबैबाट टाढा बस्न रूचाउँछन्। हिनताबोधको महसुस गर्न थाल्छन्। यदी मानसिक रोगका कारण हो भने उसले लक्षण छोड्छ तर आवेगमा हो भने त्यस्ता लक्षण देखिँदैनन्।
तर नेपालमा धेरैले पारिवारिक कलह, आर्थिक संकट, ऋण लागेर, बेरोजगारीका कारण, कुलतमा फसेर आत्महत्या गर्यो होला भनिन्छ तर उपचारतिर लागिन्न। त्यसैले आत्महत्या गर्नुअघिका संकेतलाई पहिचान गर्न सकेमा धेरैको ज्यान जोगाउन सकिन्छ।
अहिले नेपालमा तीन-चार वटा आत्महत्या रोग निवारण हेल्पलाइनहरू रहेका छन्। त्यो हेल्पलाइन सबैको पहुँचमा पुग्यो भने केही सहज र साजिलो पनि हुन्छ। यस्तोबेला आत्महत्या गरेका मानिसहरूको परिवारका सदस्यहरूले बोल्नुपर्ने आवश्यक हुन्छ। नेपालमा विभिन्न लान्छनाका कारण मानिसहरू खुलेर कुरा गर्दैनन्, त्यसलाई तोड्दै बोल्न थाले भने आत्महत्याको घटना कम हुन थाल्छ।
राज्यको सकारात्मक भूमिकाले नै युवाहरूलाई आत्महत्या गर्नबाट बचाउन सकिन्छ?
युवाहरू नै आत्महत्यामा लाग्न खोज्दा घरपरिवार र समाजलाई त नोक्सान हुन्छ नै त्योभन्दा बढी नोक्सान राज्यलाई हुन्छ। किनभने युवाले नै हो देश बनाउने। तर राज्यले युवालाई त प्रयोग मात्रै गरेको छ। उनीहरूको समस्या सम्बोधन गर्न सकेको छैन राज्यले। विदेशबाट पनि सकुशल घर फर्किन सकेका छैनन्। राजनीतिक पहुँच पनि आज युवासम्म पुग्न सकेको छैन। उनीहरूको आवाज सम्बन्धित पक्षले सुन्दिनुपर्यो।
मानसिक रोग चाहिँ सामाजिक कारणले हुन्छ भन्ने होला तर अहिले त नेपालमा राजनीतिक कारणले बढी मानसिक समस्या बढ्दो छ। युवाहरू नेतृत्व तहमा रहेका नेताहरूबाट र राज्य प्रणालीबाट चरम असन्तुष्ट छन्। उनीहरूले युवाहरूको सोच, काम र कर्तव्यलाई पहिचान गर्ने र रोजगार सिर्जना गर्नुपर्यो। जो मानसिक समस्याबाट गुज्रिएका छन्, उनीहरूलाई भने जनचेतना जगाउने, जनचेतनामूलक कार्यक्रम गर्ने, लक्ष्ण चिन्ने, मनोपरामर्शदाता, मनोचिकित्सक वा मनोविद्को सल्लाहले रोकथाम गर्न सकिन्छ।
महिलाहरू पनि मानसिक स्वस्थ्य समस्याबाट गुज्रिनु परेको हो?
एक रिसर्चले १५ देखि २९ वर्षभित्रका मानिसहरूमा मर्नुको कारण आत्महत्या देखिएको छ। नेपालमा महिलाका हकमा १५ देखि ४९ वर्षभित्रका महिलाहरूमा आत्महत्या बढेको छ। त्यसैले युवाहरू नै बढी जोखिममा छन्। गृहस्थी, विवाह, प्रेम र नजायज सम्बन्धमा फसेका कारण पनि महिलाहरू आत्महत्या गर्छन्। पारिवारिक टर्चर सहन नसकेर महिलाहरू आत्महत्या गर्छन्।
युवाहरूलाई प्रोत्साहन गर्नुपर्ने हो?
हाम्रो समाजमा मानसिक रोग लागेकाप्रति नकारात्मक सोच भएको हुनाले विरामीहरू यसबारे कुरा गर्न खोज्दैनन्। रोग लागेपछि उपचार गर्न जाँदैनन्। त्यसकारण पनि आत्महत्या गर्नेको संख्या बढ्छ। त्यसो हुँदा अलिकति संवेदनशील भएर राज्य, समाज र घरपरिवारले सहयोग पर्याउनु पर्यो।
युवाहरूलाई प्रोत्साहन गर्नुपर्यो। कसैले कसैलाई होच्याउने गर्नु भएन। सानो–सानो सोच र कामलाई सिकाइको रुपमा लिन पर्यो। सानो–सानो चिजमा खुसी हुन सक्नुपर्यो। बढी महत्वकांक्षा राख्नु भएन। कुलतमा फस्नबाट जोगाउनु पर्यो।
परिवारले सामाजिक र मानसिक रूपमा सहयोग पुर्याउन नचुक्ने र प्रोत्साहन गर्न सकियो भने युवाहरू मानसिक स्वस्थ्य समस्याबाट गुज्रिनु पर्दैन। सबैभन्दा बढी मानसिक स्वास्थ्य समस्याबाट गुज्रिएकाहरूका कुरा सुन्दै प्रोत्साहन गर्नुपर्यो।