
चितवन- नेपालमा पहिलो पटक शल्यक्रिया गरेर हात्तीको छावा जन्माइएको छ। बुधबार दिउँसाे तीन बजे चितवन राष्ट्रिय निकुञ्जअन्तर्गतको हात्ती प्रजनन केन्द्र खोरसोर सौराहामा गण्डकीकलीको शल्यक्रिया गरेर छावा जन्माइएकाे हाे।
शल्यक्रिया गरेर हात्तीकाे बच्चा जन्माउनु दुर्लभ रहेकाे राष्ट्रिय प्रकृति संरक्षण कोषका भेटेरिनरी डाक्टर अमिर सडौलाले बताए।
‘शल्यक्रिया गरेर हात्तीको बच्चा जन्माउनु नेपालमा मात्रै नभएर विश्वमै दुर्लभ हो’, सडौलाले भने, ‘नेपालमा त पहिलो हो नै तर शल्यक्रिया गरेर हात्तीको बच्चा जन्माउने घटना विश्वमा करिब १४ वटामात्र छन्।’

अल्ट्रासाउण्डमा बच्चाको अवस्था हेर्दै क्यानडाका पशु चिकित्सक डा. निख मास्टर र निकुञ्जका चिकित्सक। तस्बिर: अमिर सडौला
टीमका लागि यो जीवनकै गौरव गर्ने अनुभव भएको सडाैलाकाे भनाइ छ।
चितवन राष्ट्रिय निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा. विजयकुमार श्रेष्ठ, पशु चिकित्सक विकल्प कार्की, किरण रिजाल, राष्ट्रिय प्रकृति संरक्षण कोषका भेटेरिनेरी डा. अमिर सडौला र क्यानडाका पशु चिकित्सक डा. निख मास्टर लगायत प्रजनन् केन्द्रका माउतेहरुको टोलीले करिब २४ घण्टा लगाएर गण्डकीकलीको सफल प्रजनन गरेको हो।
गण्डकीकलीलाई मंगलबारदेखि बेथा लागेको तर बच्चा खसाल्न नसकेकाे सडाैलाले बताए। ‘हामीले भिडियो एक्सरे गर्दा पाठेघर खुलेको थिएन, बच्चाका खुट्टा मलद्वारको पछाडि अड्किएको थियो। बच्चा योनीतिर निस्कनुपर्नेमा मलद्वारतिर पोको परेर बसेको थियो। हामीले औषधी दिँदा पनि भएन अनि शल्यक्रिया गरेका हौँ’, सडौलाले भने।
यस्तो काम गर्नका लागि बाहिरको जस्तो सामान नभएपनि उपलब्ध सामानले शल्यक्रिया गर्न सफल भएकोमा उनले खुसी व्यक्त गरे।
बच्चा खसाल्न नसकेपछि मंगलबार राति एक बजेबाट नै टोलीले निगरानी गरिरहेको थियो। अल्ट्रासाउण्ड गरेर हेर्दा बच्चा अड्किएको देखेपछि टोलीले हात्तीलाई बेहोस बनाएर योनीभन्दा माथिल्लो भागमा करिब २० सेन्टिमिटर चिरेर बच्चा निकालेको डाक्टर सडौलाले जानकारी दिए।
‘शल्यक्रिया पछि हामीले रसी लगाएर बच्चालाई तानेका थियौँ’, सडौलाले भने, ‘जीवित निस्किँदैन भन्ने लागेको थियो तर बच्चा बचाउन हामी सफल भयौँ।’
सडाैलाका अनुसार खसिसकेपछि पनि छावाकाे सास चलिरहेको थिएन। ‘प्रजनन् केन्द्रका माउतेहरूले १० मिनेटसम्म सुडबाट हावा दिएपछि बच्चाले सास फेरेको थियो’, उनले भने।
गण्डकीकलीकाे उमेर २५ वर्ष भइसकेकाे छ। यो उसको दोस्रो बेत हो। यसअघि करिब चार वर्षअघि पनि हात्तीको छावा अड्किएर डोरी लगाइ निकालिएको थियो। त्यसबेला बच्चा बचाउन नसकिएको डा. सडौलाले बताए।
सडाैलाका अनुसार आमा र बच्चाको स्वास्थ अवस्था सामान्य रहेको छ।
हात्ती प्रजनन केन्द्रले १० देखि १२ दिनभित्रमा छावाकाे नामाकरण गर्ने जनाएकाे छ।

ढोइ (पोथी हात्ती) गर्भवती भएको २२ देखि २४ महिनामा बच्चा जन्माउँछे। तस्बिर: अमिर सडाैला।
तस्बिर: अमिर सडौला