
पोखरा – पोखराको पृथ्वीनारायण (पिएन) क्याम्पसमा स्ववियु निर्वाचन झनै अनिश्चित बनेको छ। त्रिभुवन विश्वविद्यालयअन्तर्गत सबैभन्दा बढी विद्यार्थी भएको क्याम्पसमा विद्यार्थी संगठनको तालाबन्दीले तोकिएकै समयमा स्ववियु निर्वाचन प्रक्रिया अगाडि बढ्न सकेको थिएन।
तालाबन्दीले अन्योल पैदा भएको पिएनको स्ववियु निर्वाचनको प्रक्रिया उच्च अदालत पोखराले तत्काल अगाडि नबढाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेपछि झनै अनिश्चित भएको हो।
उच्च अदालत पोखराका न्यायाधीश ऋषि राजभण्डारी एकल इजालाशले चैत २ गतेसम्म निर्वाचनसम्बन्धी काम कारबाही अगाडि नबढाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। आइतबार आदेश जारी भएसँगै निर्वाचन तत्कालका लागि अनिश्चित भएको छ।
स्ववियु निर्वाचनका लागि दर्ता गराएको नाम परिवर्तन भएको भन्दै ‘स्वतन्त्र विद्यार्थी समूह’ले फागुन २६ गते क्याम्पसलाई विपक्षी बनाएर उच्च अदालत पोखरामा रिट दायर गरेको हो। विद्यार्थी समूहको तर्फबाट विप्लवी न्यौपानेले रिट दायर गरेकी थिइन्।
फागुन १९ गते ‘स्वतन्त्र विद्यार्थी समूह’ नाम राखी निर्वाचन समितिमा नाम दर्ता गराएकोमा निर्वाचन समितिले जानकारी नदिइकन नाम परिवर्तन गरेर ‘पृथ्वी विद्यार्थी मञ्च’ राखेर अन्तिम नामावली प्रकाशन गरेपछि विरोध जनाउँदै उच्च अदालत पोखरामा रिट दायर गरेको थियो।
उच्च अदालतको आदेशमा चैत २ गतेसम्मका लागि निर्वाचनसम्बन्धी काम कारबाही अगाडि नबढाउन भनिएको छ।
आदेशमा उल्लेख छ, ‘निवेदकले अन्तरिम आदेशसमेत जारी गरी पाउन निवेदनमा उठाइएको विषयवस्तुको संवेदनशीलतातर्फ दृष्टिगत गर्दा दुवै पक्षको कुरा सुनी निष्कर्षमा पुग्न उपयुक्त हुने देखिँदा अन्तरिम आदेशको छलफलका लागि
मिति २०७९/१२/०२ को पेशी तारिख तोकी सो दिन अन्तरिम आदेशको छलफलमा उपस्थित हुन विपक्षीहरुलाई सकेसम्म छिटो माध्यमद्वारा जानकारी दिइ उक्त छलफल हुने मिति २०७९/१२/०२ गतेसम्मको लागि निर्वाचनसम्बन्धी काम कारबाही अगाडि नबढाउनू भनि अल्पकालीन अन्तरिम आदेश जारी गरिदिइएको छ।’
स्ववियु निर्वाचन कार्यालयमा लागेको ताला नखुलेपछि शनिबार कार्यसूची रहेको उम्मेदवारी दर्ता प्रक्रिया सुरु भएन। कर्मचारीले विद्यार्थीको व्यक्तिगत विवरण चुहावट गरेको भन्दै माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारी, विप्लवनिकट अखिल क्रान्तिकारी, राष्ट्रिय जनमोर्चानिकट अखिल छैटौं र अखिल क्रान्तिकारी संयुक्तले संयुक्त रुपमा स्ववियु कार्यालयमा बिहीबार तालाबन्दी गरेका थिए।
माओवादी निकट अखिल क्रान्तिकारीले भने विज्ञप्ति जारी गर्दै तालाबन्दी गर्ने निर्णयबाट पछाडि हटेको उल्लेख गरेको थियो। तर, अरु विद्यार्थी संगठन सहमति नआएपछि तालाबन्दी खुलेको छैन। पिएनमा १० हजार ८७० मतदाता छन्।
त्रिभुवन विश्वविद्यालयअन्तर्गत कास्कीमा रहेका ६ मध्ये कार्यतालिकाअनुसार २ क्याम्पसमा मात्रै स्ववियु निर्वाचन प्रक्रिया अगाडि बढेको छ। शनिबार पोखरा नर्सिङ क्याम्पस र इञ्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पसमा मात्रै उम्मेदवारी दर्ता भएको छ।
पृथ्वीनारायण क्याम्पस, वन विज्ञान अध्ययन संस्थान पोखरा, विन्ध्यावासिनी संस्कृत विद्यापीठ र जनप्रिय बहुमुखी क्याम्पसमा भने स्ववीयु निर्वाचन प्रक्रिया अगाडि बढ्न सकेको छैन।