
रुपन्देही-रुपन्देहीमा भ्याट बिलमा कम परिमाणको माल देखाई ट्राफिक प्रहरीको ओभरलोड जरिवानाबाट जोगिन खोजेको नवलपरासीस्थित सर्वोत्तम सिमेन्ट उद्योग प्रालिलाई क्षेत्रीय राजस्व अनुसन्धान कार्यालय बुटवलले राजस्व छलेको आरोपमा १ लाख ८५ हजार रुपैयाँ धरौटी माग गरेको छ।
भ्याट बिलमा कम परिमाणको माल देखाई ट्राफिक प्रहरीको ओभरलोड जरिवानाबाट जोगिन खोजेको उक्त उद्योगको पछिल्लो यस घटनाले महिनौंदेखि ओभरलोड ढुवानी गर्ने र जरिवानाबाट जोगिँदै आउने गरेको रहस्यलाई पनि उजागर गरेको छ।
उक्त उद्योगबाट भ्याट बिल जारी गरी रुपन्देहीको लुम्बिनी करिडोरमा रहेको जगदम्बा सिमेन्ट उद्योगको नाममा छ वटा ट्रकबाट पठाएको कच्चा पदार्थ क्लिङ्करको परिमाण, बिलमा उल्लेख गरिएभन्दा दोब्बर पाइएपछि कारवाहीका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले क्षेत्रिय राजस्व अनुसन्धान कार्यालय बुटवलमा ट्रकसहित पठाएको थियो।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक दक्ष बस्नेतले उक्त उद्योगले ओभरलोड गरी माल पठाउने गरेको सूचना पाएपछि भैरहवा–परासी हुलाकी सडकमा आकस्मिक चेकजाँच गरी धर्मकाँटामा तौल गराउँदा उद्योगबाट जारी गरिएको बिलमा भन्दा दोब्बर परिमाणमा माल ढुवानी गरेको पाइएपछि कारबाही प्रक्रिया अघि बढाइएको बताए।
उनका अनुसार छवटै ट्रकको बिलमा उल्लेखित परिमाण १ लाख २२ हजार ८ सय ४० किलो थियो। ट्राफिक प्रहरीले पुन: तौल गराउँदा २ लाख ३ हजार १ सय ४० किलो पाइएको थियो। भ्याट बिलमा उल्लेख गरिएको कुल परिमाणको मूल्य १० लाख ८७ हजार १ सय ३४ रुपैयाँ रहेको र छलेको परिमाणको समेत मूल्य जोड्दा १७ लाख ९७ हजार ७ सय ८९ रुपैयाँ पुगेको थियो।
यसबाट भ्याटकोमात्रै राजस्व ९२ हजार ३ सय ८५ रुपैयाँ देखिएकोले कारवाहीका लागि राजस्व अनुसन्धानमा पठाएको बस्नेतले बताए।
क्षेत्रीय राजस्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख नरेन्द्र पाण्डेले मुद्दाको टुंगो नलाग्दासम्म १ लाख ८५ हजार रुपैयाँ धरौटी जरिवानामा छ वटा ट्रक मंगलवार छाडिएको बताए। उनका अनुसार सबै ट्रकमा ढुवानी गरिएको मालको टुक्राएर बनाइएको दुई–दुईवटा भ्याट बिल कार्यालयमा पेश गरिएको थियो। यसअनुसार राजस्व छलेको नभई ट्राफिकको ओभरलोड जरिवाना छल्नका लागि कम तौल परिमाण भएको बिलमात्र देखाइएको हो।
ट्राफिक नियम अनुरुप मापदण्डभन्दा बढी ढुवानी गर्नेलाई अधिकतम १ हजार ५ सय रुपैयाँ जरिवाना र बढी भएको माल अर्को गाडीमा पल्टी गराउने प्रावधान छ।
सर्वोत्तम सिमेन्ट उद्योगका व्यवस्थापक नेत्र घिमिरेले केही दिनदेखि प्रहरीले ओभरलोड ढुवानीमा कडाइ गरेपछि यो समस्या आएको र ट्रकबालाले कम परिमाणमा माल बोक्दा आफूलाई पोसाउँदैन भनेपछि त्यही अनूरुप बिल टुक्राएर बिल बनाइएको बताए।
सिमेन्टको तौल, गुणस्तरमा बारम्बार गुनासो बढ्दै गएको बेला सिमेन्ट उद्योगहरुले नयाँ ठगीको धन्दा शुरुवात गरेको देखिएको छ। यो धन्दामा ढुवानी व्यवसायीको समेत प्रत्यक्ष संलग्नता देखिन्छ। अर्कोतर्फ सिमेन्ट व्यवसायीको कच्चा पदार्थ बोक्ने टिप्परको कारण रुपन्देहीमा दैनिक मान्छेले अनाहकमा ज्यान गुमाइरहेका छन्।
टिप्पर चालकलाई ट्रिपपिच्छे दिइने भत्ताका कारण चालकहरुले ब्रेक नै नलगाई राजमार्ग तथा भित्री सडकमा ओभरस्पिडमा गाडी चलाउँदा दैनिकजसो मान्छेको ज्यान गइरहेको छ। टिप्पर चालकको कारण सर्वसाधारणको ज्यान जोखिममा परेको भन्दै विद्यार्थी संगठनहरुले प्रशासनमा ज्ञापन पत्र समेत बुझाएका छन्।
जगदम्बा ग्रुप र न्यौपाने ग्रुपजस्तो नाम चलेको व्यवसायिक प्रतिष्ठानले राज्यलाई ठग्ने ध्येयले नै बिलबिजक फरक फारेर कारोबार गर्नु विडम्बना भएको भन्दै रुपन्देहीका व्यवसायीबीच चर्चा चलेको छ।