नेपाल फर्कन बेलारुसबाट ९ महिलाले लडेको लडाइँ

नेपाल फर्कन बेलारुसबाट ९ महिलाले लडेको लडाइँ
+
-

मलिन अनुहार, आँखामा टिलपिल आँसु। दायाँ हातको चोर औलाले आँसु पुछिन् र अर्को हातले मुखमा लगाएको कालो मास्क माथि सार्दै उनले भनिन्, ‘सुन्नु न मेरो नाम नलेखिदिनु होला है।’

कोठा शान्त भयो। सबैले उनको अनुहारमा हेरे।

दुवै हातले टिलपिलाएका आँसु पुछ्दै उनले भनिन्, ‘म अब घर फर्कनुपर्छ। यो सबै कुरा थाहा पाए भने सबैले मेरोबारेमा गलत धारणा बनाउँछन्।’

उनको स्वर भक्कानियो, बोल्न सकिनन्। रुन थालिन्।

‘अघि तपाईंले फोटो खिच्दा मैले मास्क खोलेको थिएन,’ नाकबाट तल झरेको मास्क माथि सार्दै भनिन्, ‘तपाईंले फोटो हाल्नुहुन्छ, मेरो साथीहरुले चिने भने मैले एक प्रकारको तिरस्कार सहनु पर्छ।’

किन डराउनु पर्‍यो? कोठाको एक कुनामा बसेकी युवतीले भनिन्, ‘हामीले किन लाज मान्ने? त्यसपछि सबैको एक स्वर भयो– हामीले के नराम्रो गरेका छौँ र?’

मार्था राई सिलाईको काम गर्थिन्। श्रीमान्‌सँग सम्बन्धविच्छेद भइसकेको थियो। एक छोरा र एक छोरीको जिम्मेवारी उनीमाथि आयो। कतैबाट कुनै सहयोग थिएन। मोरङ शनिश्चरेमा बसेर छोराछोरीको भविष्य राम्रो बनाउन सकिँदैन भन्ने उनलाई लाग्यो र झोलामा पासपोर्ट हालेर विदेश जाने मनसाय बोकेर उनी काठमाडौँ लागिन्। कहाँ जाने कुनै टुङ्गो थिएन।

६ महिनाअघि उनको सम्पर्कमा चितवन सिमराका राजु राई आइपुग्छन्। सँगै सिलाई सिक्दा चिनेको एक बहिनीले युरोपको लागि राम्रो काम आएको छ भनेर राजु राईसँग कुरा गराइदिएकी थिइन्।

राजुले मार्थालाई फोन गरे। अल्बानियाको लागि काम आएको, साढे चार लाख लाग्ने र तलब ८० हजार हुने बताए। तर, केही समयपछि मार्थालाई एक दिन राजु राईले फोन गरेर भने, ‘अल्बानियाभन्दा बेलारुस राम्रो हो। बेसिक तलब ९० हजार र ओभर टाइम गरेर तपाईंले एक लाखसम्म बचाउनुहुन्छ।’

फोनमा कुरा गरिरहेकी मार्थाले राप्ती–१ का जनप्रतिनिधिसमेत रहेका राजुलाई सिर्जना तामाङको घरमा भेटिन्। त्यतिबेला पनि राजुले भने ‘युरोप हो, अरु देशजस्तो होइन। राम्रो कमाइ हुन्छ, कुनै अफ्ठेरो पर्दैन।’

काठमाडौँमा कोठाको बसाइ। गार्मेन्टको काम। उनकै शब्दमा राम्रो जिन्दगी थिएन। हुर्कँदै गरेका छोराछोरीको पढाइमा कुनै बाधा नपुगोस् भन्नका लागि उनीसँग एउटै विकल्प थियो– पैसा कमाउन विदेश जाने।

कागज तयार भयो। उनी भिसा लगाउन दिल्ली पुगिन्। त्यहाँ उनीजस्तै अरु आठ जना थिए। उनीहरु एकैठाउँमा जानका लागि भिसा लगाउन त्यहाँ पुगेका थिए। नेपाल फर्किए। प्रत्येकले करिब ५ लाखका दरले काठमाडौँमा होमबहादुर तामाङलाई  पैसा बुझाए।

‘युरोपको बसाइ, राम्रो कमाइ, आफ्नो परिवारको सुन्दर जिन्दगीको सपना देखेर हामी उनीहरुसँग छुट्टिएर जहाज चढेका थियौँ,’ भक्कानिँदै उनले भनिन्।

तीन महिनाअघि उनीहरु दुबई हुँदै बेलारुस पुगे। बिहान तीन बजे पुगेका उनीहरुलाई लिन एक जना महिला आएकी थिइन् र उनले बस्ने ठाउँमा लगेर गइन्। १२ बजेतिर उनीहरु कम्पनी पुगे। ती महिलाले काम सिकाइन्। सिलाउने मेसिन चलाउन सिकाइन्।

मार्था राई

‘उहाँले पहिला त राम्रै कुरा गर्नु भएको थियो,’ मार्थाले भनिन्। तिमीहरुलाई पैसा चाहिएको हो, मलाई काम चाहिएको हो भनेको उनीहरुले बुझे। यहाँबाट ८ घण्टा काम गर्ने भनेर गएको ओभर टाइम नै होला भनेर १२ घण्टासम्म उनीहरुले काम गरे। चार दिनको लागि भनेर खाना थियो। ती महिलालाई खाना सकियो भनेको ‘अस्ती पो तिमीहरु राति आएको थियौ र दिएको, खाना त आफै व्यवस्था गर्नुपर्छ भन्नुभयो,’ राईले सुनाइन्।

त्यसरी दु:ख गरेको महिना सकिँदा राम्रो तलब आउँछ भनेको सबै अचम्ममा परे। ‘मलाई ११५ रुवेल तलब दिइयो। मिना बैनीले ७५ र सबैभन्दा धेरै २५० रुवेलभन्दा धेरै तलब नै पाएनौँ,’ मार्थाले भनिन्, ‘त्यो भनेको त्यहाँ पनि खान नपुग्ने रकम हो। त्यहाँ समान्य रुपमा ३५० रुवेलसम्म खर्च हुन्थ्यो।’

आफूले पाएको ११५ रुवेल भनेको नेपाली ५ हजारभन्दा केही बढी भएको राईले बताइन्।

सबैको मन चिसो भयो। आफूहरु ठगिएको सबैले महसुस गरे। अरु केही गर्न सकिँदैनथ्यो। त्यसपछिको सबैको तयारी घर फर्कनेमा भयो। पुगेपछिको तीन महिनामा मार्था राईले पहिलो महिना ११५, दोस्रो महिना ११९ र तेस्रो महिना १५२ रुवेल पाइन् त्यो भनेको नेपालको लगभग २० हजार बराबर हो। अरुले पनि त्यही हाराहारीमा तलब बुझे।

समूहमा सानुमाया तामाङ र कविता राना मगर ‘स्मार्ट’ थिए। उनीहरुले पहिलो महिनाबाटै आफूहरुको उद्दार कसरी हुनसक्छ? उपाए खोज्न थाले। कोठाको कुनामा बसेकी सानुमाया तामाङले छेउकी कवितालाई देखाउँदै भनिन्, ‘चार रात नसुतेर हामीले ५० भन्दा बढी युट्युब च्यानललाई पछ्यायौँ। एउटामा फोन नम्बर रहेछ। त्यसमा फोन गरेको एक जना दाइले वैदेशिक रोजगार रेस्क्यु नेपालका इन्द्रलाल गोलेको नम्बरदिनु भयो।’

दायाँ सानुमाया तामाङ र बायाँ कविता राना मगर

एकदिन सबैजना इन्द्रबहादुर गोलेको फेसबुक लाइभमा आए। गोलेले लाइभबाटै पहिला होमबहादुर तामाङलाई गरेको फोन उठेन। त्यसपछि चितवनका राजु राईलाई फोन गरेको उनीसँग कुरा भयो। सानुमायाका अनुसार लाइभमा फिर्ता लाने विषयमा कुरा भइरहेको बेला गोलेले राईसँग छुट्टै कुरा गरेका थिए।

‘हाम्रो उद्धार होला भनेको, उनले त त्यसको आधा घण्टापछि त्यो फेसबुक लाइभ नै डिलिट गरे,’ अचम्म मान्दै सानुमायाले भनिन्, ‘किन डिलिट गर्नुभयो भनेर सोधेको, मलाई ज्यान मार्ने धम्की आयो भन्नुभयो।’ उनीहरुले गोलेसँगै म्यानपावरमा आफ्नो परिवार पठाए। तर म्यानपावरसँग मिलिसकेका गोले उतैको सपोर्ट गरे। म्यानपावरले उनीहरुका आफन्तसँग ‘यो महिनाको तलब आउन दिनुस्’ भनेर टार्‍यो।

अन्तिममा तपाईंले एजेन्टसँग मिलेर हाम्रो भिडियो डिलिट गर्नुभयो हामी अरुसँग सहयोग माग्छौँ भन्दा ‘तिमीहरुको कारण मेरो ज्यान जोखिममा पर्‍यो। गर को छ तिमीहरुको ठूलो मान्छे?’ भनेर तर्किएको रत्न माया राईले बताइन्। उनीहरुको एउटा आश मर्‍यो।

गएको एक महिना पनि भएको थिएन। न खाना टाइममा थियो, न सुताइ न, त तलब नै। कतिदिन भोकै सुतेको उनीहरुले बताए।

गएको पहिलो महिना नै हामी फस्यौँ भन्ने सबैले थाहा पाइसकेका थिए। कतिपयले परिवारलाई भने कतिपयले झनै पीर मान्लान् भनेर भनेका थिएनन्। अधिकांशले मिटरब्याजमा पैसा लिएर एजेन्टलाई बुझाएका थिए।

चितवनकी पार्वती माया तितुङले ६ महिनाअघि श्रीमान् अर्जुन थिङलाई थाहा नै नदिइ बेलारुसको भिसाका लागि कागजपत्र एजेन्ट राजु राईलाई दिइन्। जुन कुरा श्रीमान् थिङले धेरैपछि थाहा पाए। थिङ चितवन सौराहाको एक होटलमा काम गर्छन् भने श्रीमती सिलाई कटाइको काम गर्थिन्। त्यहाँका सबैले भने– सिलाई कटाइको नै काम हो राम्रो होला। थिङले श्रीमतीलाई नजाऊ पनि भनेका थिए तर श्रीमतीले जाने मन गरेपछि ऋण सापट गरेर पठाएका थिए। राम्रो कमाइ हुने आशामा तीन महिनाअघि दुई वटा छोरा छोडेर पार्वती मार्था राईसँगै विदेश उडेकी थिइन्।

तर, गएको एक महिनामै दु:ख पाउन थालेकी उनले श्रीमान् थिङलाई केही भनेको थिइनन्। घर फर्कदै छौँ भनेकी थिइन् तर खानै नपाएकोसम्म दु:ख बताएकी थिइनन्। उताबाट उनीहरुले आफ्नै तरिकाले घर फर्कने चाँजोपाँजो मिलाइरहेका थिए।

रुवेलमा पाएको उनीहरुको तलव जनु बेलारुसी भाषामा छ।

तर, दुई महिनाअघि तितुङले श्रीमान्‌लाई आफूहरुले खानेकुरा राम्रोसँग नपाएको बताएकी थिइन्। उनले फोन गरेर एजेन्टहरुलाई भेट्न भनेपछि थिङ काठमाडौँ आएर दुई जना एजेन्ट र इन्द्रलाल गोलेसँग भेटेका थिए।

त्यतिबेला उनीहरुले भर्खर गएको र सिक्दै गरेकाले तलब थोरै पाएको बताएका थिए। केही महिनामै तलब ७०० डलर हुने उनीहरुले बताएका थिए। तर म्यासेन्जरमा उताबाट सुनिरहेका तितुङ र उनका साथीहरुले आफूहरुलाई जसरी पनि नेपाल फर्काउनुपर्ने अड्डी कसिरहेका थिए।

यता एजेन्टहरुले आलटाल गरिरहेका थिए। उता सानुमाया तामाङ र कविता राना मगरले एउटा असफल भए पनि अर्को उपाए खोजिरहेका थिए। साथीहरुलाई किन दु:ख दिने भनेर कविता र आफूले ७२ घण्टासम्म नसुतेर सल्लाह गरेको सानुमायाले बताइन्। फेरि युट्युबमा खोज्दै जाँदा हिमाल वाइबासँग कुरा भयो। ‘मैले नम्बर खोज्ने उसले फोन लगाउने,’ कवितातिर हेर्दै सानुमायाले भनिन्। फोन गर्दै गएको  एक जना रिम्पोछेसँग कुरा भएको र उनले हिमाल वाइबाको नम्बरले दिएको कविताले बताइन्।

नेकपा एकीकृत समाजवादीकी प्रचार विभाग सदस्य क्रितु भण्डारी प्रायः समाजिक सञ्जाल टिकटकमा लाइभ आइरहन्छिन्। उनका अनुसार जसमा समाजमा भइरहेका समास्यामाथि बहस हुने गर्छ।

टिकटक चलाइरहने वाइबाले एकदिन भण्डारीको टिकटकमा वैदेशिक रोजगारीमा समस्या र समाधानका विषयमा गरेको बहसमा उनी पनि घुसे। ‘कार्यक्रमको अन्तिममा मलाई ठ्याक्कै बेलारुसका बहिनीहरुको याद आयो,’ भण्डारीतिर हेर्दै वाइबाले भने, ‘उहाँको बारेमा बुझ्दा मलाई लाग्यो, यो काम उहाँले त पक्कै गर्नुहुन्छ।’

उत्साहित हुँदै उनले भने, ‘समाजवादी पार्टीको मान्छे पहुँच पक्कै होला। यो तपाईंबाहेक अरुले गर्न सक्दैन होला भनेर अनुरोध गरेको उहाँले ल्याउनुस् न भन्नुभयो अनि मैले कविता र सानुमायालाई त्यो लाइभमा जोडे।’

भण्डारी दुवै जना रुँदै लाइभमा आएको सम्झन्छिन्। ‘उहाँहरु रुँदै आउनुभयो, खाना पाएको अवस्था थिएन, साथमा पैसा थिएन। हामीले त्यहाँ त्यतिबेला नै ३०० डलर संकलन गर्‍यौँ। उहाँहरुलाई पठाउने व्यवस्था गर्‍यौँ।’

‘उहाँहरुलाई आफूबसेको ठाउँ नै थाहा रहेन छ,’ भण्डारीले भनिन्, ‘हामिले ह्वाट्सएपमा लोकेसन पठाउन लगाएर त्यहाँका एनआरएन साथीहरुलाई त्यहाँ पठाएका थियौँ। उहाँहरु मिन्सका हुनुहुँदो रहेछ।’

बेलारुसमा रहेका एनआरएन डा. रामा शाहले उनीहरुलाई सहयोग गरे। ‘कविता र सानुमाया हाम्रो सम्पर्कमा आएको दुई दिनमा नै उहाँ बहिनीहरु भएको ठाउँमा पुग्नुभएको थियो,’ भण्डारीले बताइन्।

उनले त्यहाँ आवश्यक सामान लगेर गएका थिए। ‘हाम्रो लागि उहाँले चप्पलसमेत किनिदिनु भएको थियो,’ आफ्नो खुट्टाको चप्पल देखाउँदै पार्वती माया तितुङले भनिन्, ‘यो उहाँले नै किनिदिएको हो।’

रत्नमाया राई

त्यसपछि उनीहरुले केही राहतको सास फेरे। घर फर्कन पाउने आशा पलायो। तर समस्या यता एजेन्टले पारिरहेका थिए। १८ दिन लामो लडाइँपछि एजेन्टले टिकट काटिदिए र उनीहरु दिल्ली हुँदै चैत १० गते काठमाडौँ उत्रिएका छन्।

बत्तिसपुतलीको एक होटल। २०५ नम्बर कोठा। कोठाको कुनामा बसेकी रत्नमाया राईले रुँदै भनिन्, ‘लामो लडाइँ लडेर नेपाल आएका छौँ, अबको हाम्रो लडाइँ दलालले ठगेको रुपैयाँ उठाउनेमा हुनेछ। श्रीमान् बितेको सात वर्ष भयो। एउटा छोरो छ। जसको भविष्य राम्रो होस् भनेर यहाँको काम छोडेर मैले ऋण गरेर पैसा तिरेको छु।’

सबै जना नेपालमा गार्मेन्टमा काम गर्थे। गरिरेहेकै काम भएपछि अझै राम्रो हुन्छ कि भनेर उनीहरु मिटरव्याजको पैसाले विदेश उडेका थिए।

भित्तामा अढेस लागेर कोठाको कार्पेटमा बसेका अर्जनु थिङले खाटमा बसेकी श्रीमती पार्वतीलाई हेर्दै भने, ‘पहिलो पटक सुन्दा अब के हुने हो? मलाई केही थाहा थिएन।’

श्रीमानलाई हेर्दै पार्वतीले भनिन्, ‘म अब जाँदैन विदेश।’

तस्बिरहरु: बर्षा शाह/देश सञ्चार।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?