
बुटवल- बुटवलमा सामुदायिक कुकुरहरूको बन्ध्याकरण सुरु गरिएको छ।
बुटवल उपमहानगरपालिकाभित्रका सामुदायिक कुकुरहरूको संख्या वृद्धि नहोस् भनेर बन्ध्याकरण सुरु गरिएको हो।
मंगलबार बुटवल उपमहानगरपालिकाको आयोजना र वातावरण तथा सामाजिक परिवर्तनका लागि युवासँगको सहकार्यमा ३ दिने अभियान सुरु भएको हो।
बन्ध्याकरणका साथै रेबिजविरुद्धको खोप पनि लगाउन थालिएको छ।
अभियानका क्रममा बुटवलभित्रका सडकका कुकुरहरूको बन्ध्याकरणले कुकुरको संख्या वृद्धि रोकिने बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बताए।
उनले कुकुर पाल्नेहरूले सार्वजनिक स्थलमा दिसापिसाब गराउँदा कारबाही गर्ने र आगामी वर्षदेखि बुटवलमा कुकुर पाल्नका लागि अनुमति लिनुपर्ने व्यवस्था गर्न कानुन बनाइरहेको जानकारी दिए।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रवक्ता तथा वडा नं १५ का अध्यक्ष शिव रानाले बुटवलका १९ वटै वडाका सामुदायिक कुकुरहरूको बन्ध्याकरण गरिने बताए।
बुटवल उपमहानगरपालिकाका पशुपंक्षी विकास शाखाका प्रमुख झविन्द्र बञ्जाडेले बुटवलभित्र कुकुरको संख्या बढ्दै गएकाले संख्या वृद्धि हुन नदिन बन्ध्याकरण गरिएको बताए ।
उनले ३ दिनसम्म चल्ने बन्ध्याकरण कार्यक्रममा बुटवलका सबै वडाहरुबाट कुकुर संकलन गरिने पनि बताए।