
काठमाडौँ- इन्द्रसरोवर तालमा हाम फालेर बेपत्ता रहेका एक जना पुरूषको शव फेला परेको छ।
मंगलबारदेखि बेपत्ता रहेका काठमाडौंको दक्षिणकाली नगरपालिका-८ छैमलेका ३३ वर्षीय राजकुमार सुवेदीले शव बुधबार दिउँसो फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले बताएका छन्।
उनका अनुसार बुधबार दिउँसो मकवानपुरको इन्द्रसरोवर गाउँपालिका मार्खुस्थित तालमा पुरूषको शव फेला परेको हो।
उनी मंगलबार मार्खु पुगेका थिए। दिउँसो साढे १ बजेतिर उनी एक्लै डुंगा लिएर तालमा गएका थिए। तालको बीचमा पुगेपछि उनले ‘लाइफ ज्याकेट’ फुकालेर हाम फालेको घिमिरेले बताएका छन्। उनले फुकालेर छाडेको उक्त ज्याकेटबाट प्रहरीले मृतकको नागरिकता फेला पारेको छ।
‘काठमाडौंबाट यहाँसम्म एक्लै आउनुभएको रहेछ। डुंगामा पनि उहाँ एक्लै ने आउनुभएको रहेछ,’ उनी भन्छन्, ‘हामीले शव भेटाइसकेका छौँ। अब उहाँ कसरी आउनुभयो, किन आउनुभयो जस्ता कुराहरु अनुसन्धानकै क्रममा छन्।’
उनी हाम फालेको खबर पाएपछि प्रहरी, सशस्त्र प्रहरी लगायतको टोलीले खोजी गर्ने क्रममा बुधबार उनको शव फेला परेको हो।