विकसित देशका लागि ’जेरियाट्रिक’ अर्थात् ज्येष्ठ नागरिक स्वास्थ्य हेरचाह सयौँ वर्ष पुरानो विषय हो। त्यहाँ जेष्ठ नागरिकका लागि छुट्टै डाक्टर र अस्पतालको व्यवस्था गरिएको छ। नेपालमा भने यो अभ्यास शून्यजस्तै छ। कारण- नेपालमा ’जेरियाट्रिक’ अध्ययन गरेका डाक्टर नभएकाले।
हाल ‘जेरियाट्रिक’ विशेषज्ञको रूपमा नेपालमा चारजना डाक्टर छन्। तीमध्ये एक हुन्- डाक्टर अनन्त अर्याल। काठमाडौँ मेडिकल कलेजमा अध्यापन गराउँदै आएका डा. अर्यालले भारतको दिल्लीस्थित ‘अल इन्डिया इन्स्टच्युट अफ मेडिकल साइन्स’ बाट पढेका हुन्।
पौढावस्थामा लाग्ने रोगका प्रकारहरू फरक रहने, प्रौढावस्थाका लागि उपचार पद्धति नै फरक हुने हुँदा यसै विषयमा विशेषज्ञता हासिल गरेका डाक्टरहरू (जसलाई जेरियाट्रिसियन भनिन्छ) ले मात्र जेरियाट्रिक सेवा दिन सक्दछन्।
जेरियाट्रिक सेवा मात्र दिनका लागि अलग्गै व्यवस्था गरिएको वार्डलाई भने जेरियाट्रिक वार्ड भनिन्छ। जसरी बालबालिकाको डाक्टर हुन्छन् त्यसैगरी ज्येष्ठ नागरिकका पनि डाक्टर हुन्छन् भन्दै ज्येष्ठ नागरिकको स्वास्थ्य हेरचाह तथा विभिन्न तालिम दिँदै आएका ज्येष्ठ नागरिक विशेषज्ञ अर्यालसँग देश सञ्चारका लागि गरिएको संवाद।
जेरियाट्रिकलाई आममान्छे सामु कसरी बुझाउनुहुन्छ ?
ज्येष्ठ नागरिकलाई शारीरिक तथा मानसिकसम्बन्धी विभिन्न स्वास्थ्य समस्याबारे हेरविचार गर्ने परामर्श दिने र केयर गर्नेलाई नै जेरियाट्रिक्स मेडिसिन भनिन्छ।
जेरियाट्रिसियनले बुढ्यौलीलाई रोगको रूपमा लिन्छन् कि अवस्थाको रूपमा?
बुढ्यौली कुनै रोग होइन, यो त अवस्था हो। जस्तै ६० वर्ष भनेर कटपछि हामीलाई बुढ्यौलीले छोएको भान हुन्छ। त्यसैले यो रोग होइन, अवस्था हो। समयकाललाई नाम दिएको मात्रै हो। उमेर बढ्दै जाँदा परिवर्तन हुन्छन्। हाम्रो हुर्काइको क्रममा शारीरिक र मानसिक रूपमा परिवर्तन देखिन्छ। समयसँगै हुँदै जाने असर हो त्यो। ७० वर्षको ज्येष्ठ नागरिक सबैको एउटै अनुभव नहुन सक्छ। शारीरिक अवस्था र मानसिक अवस्था पनि एउटै नहुन सक्छ।
ज्येष्ठ नागरिक व्यवहार बच्चाको जस्तो हुन्छ, किन यस्तो व्यवहार गर्छन्?
जसरी बच्चालाई स्याहार गर्नुपर्छ, त्यसैगरी हामीले बुढेसकालका बाआमालाई पनि स्याहार गर्नुपर्ने हुन्छ। किनकि उहाँहरूको आनीबानी बच्चाको जस्तो हुन्छ। बच्चाको जस्तो व्यवहार गर्नुको कारण डिमेन्सियाको कारण हुन्छ। एकोहोरो बसिरहनुपर्ने, घुम्न जान नसक्ने, बोल्न नसक्ने, आफ्ना आकाङ्क्षाहरू अनेक छन् तर शारीरिक दुर्वलताका कारण यस्तो हुन्छ। साथै एकलपनले पनि जीवनको उत्तरार्द्धमा ज्येष्ठ नागरिकलाई मानसिक समस्या हुन्छन्। उहाँहरूलाई व्यक्तिगत जीवन नै भारी हुन्छ।
त्यसो भए युवापुस्ताले आफ्ना ज्येष्ठ नागरिकसँग कस्तो व्यवहार खुसी बनाउन कस्तो वातावरण सिर्जना गर्नुपर्छ ?
ज्येष्ठ नागरिकको पहिलो समस्या भनेको हातगोडबाट सुरु हुन्छ। शारीरिक रूपमा पहिला घुँडा खिइने समस्या हुन्छ। उकालो ओरालो गर्न समस्या हुन्छ। सतसंङमा जानुहुन्थ्यो होला। चौतारीमा जानुहुन्थ्यो। तर हिँड्नै गाह्रो भयो भने सबै बाटा रोकिन्छन्। शारीरिक अवस्थाका कारण घरमै बसिरहनुपर्दा एक्लोपन आउँछ। परिवारमा छोराबुहारी काममा जान्छन्। नाति-नातिना स्कुल जान्छन्। यस्तो कारणले एक्लोपन बढ्दै जान्छ। एक्लोपनमा अनेक तर्कना खेल्छ।
बिस्तारै एन्जाइटी र डिप्रेसन पनि बढ्दै जान्छ। यस्तो बेला सकेसम्म परिवारका अन्य सदस्यले समय दिनुपर्छ। उनीहरूलाई बिजी बनाइदिने, मोबाइलबाट टाढा रहेको आफन्त र इष्टमित्रसँग गफ गराइदिने, हिँड्न सक्नेलाई डुलाउने, धार्मिक शक्तिपीठमा घुमाउनेलगायतका कामहरू गर्न सकिन्छ। उहाँहरूको कथा सुन्ने र बुझिने गरी प्रश्न गर्ने र उहाँहरूसँग गफिनुपर्छ। भनिन्छ नि- क्वालिटी टाइम दिऊँ।
नेपाली समाज र यहाँको वातावारण ज्येष्ठ नागरिकमैत्री कति छ ?
पहिलाको तुलनामा अहिले छैन। पहिला टाढा-टाढासम्मका बीच भेटघाट हुन्थ्यो। चौतरी हुन्थ्यो। बुढापाका उमेरमा गफिनेहरू एकठाउँमा हुन्थे। आफ्नो उमेर समूहका दौतरी एकै गाउँमा हुन्थे। अहिले गाउँ पनि सहर केन्द्रित भएको छ। विदेश जाने चलन बढ्यो। बृद्धाबृद्ध मात्रै हुनुहुन्छ गाउँमा। घुँडाको समस्या भयो भने घरमै कुजिनुपर्ने अवस्था छ। सहरमा पैदलयात्रीलाई हिँड्ने फराकिलो पेटी छैन। टहलिने पार्क छैन। भेटघाट गर्ने पार्कहरू छैन। अहिले स्थानीय सरकारले कोसिस गरेका छन्। अब ढिलोचाँडो बन्ला तर ज्येष्ठ नागरिकमैत्री समाज हुन भने नसकेकै हो।
पछिल्लो समय डाक्टरहरू खानपिनमा ध्यान पुर्याउनुहोला भन्नुहुन्छ। अर्गानिक खाना सहरमा पाइँदैन। यस्तो बेला ज्येष्ठ नागरिकको आहारा कस्तो हुन आवश्यक छ ?
खानपानमा त युवाअवस्थाका साथीहरूले पनि ध्यान दिन जरुरी छ। चिल्लो पिरो कम खानुपर्छ। खानपिनमा धेरै विचार गर्नुपर्ने छ। विषादीयुक्त खानपानले पनि हाम्रो शरीरमा रोग बढाउने काम गरेको छ। फेरि उमेर बढ्दै गएपछि धार्मिक कारणले माछामासु खाइरहेका ज्येष्ठ नागरिकले अचानक छोड्ने गर्ने गरेको हामीले पाएका छौँ। तर ज्येष्ठ नागरिकलाई प्रोटिन बढी चाहिन्छ।
जस्तै युवालाई एक ग्राम चाहिन्छ भने ज्येष्ठ नागरिकलाई त सवा एक ग्रामसम्म पनि चाहिन्छ। यदि शाकाहारी हो भने सागपातबाटै प्रोटिनको मात्रा बढाउनुपर्यो। प्रोटिनको मात्रा त बढी चाहिन्छ। बिरामी अथवा घाउ भएकालाई त १.५ ग्राम प्रोटिन चाहिन्छ। कतिपयले त फलफूल खाँदा चिसो लाग्ने अथवा खोकी लाग्ने हुन्छ भनिन्छ।
तर अंगुरको सिजन छ भने तातो पानीमा भिजाएर खान सकिन्छ । ब्यालेन्स डाइट त हुनुपर्यो। हाम्रोमा के छ भने भात मात्रै धेरै खाने गरिन्छ। बरु, भात कम तरकारी बढाउने गर्नुपर्यो। जस्तै शाकाहारी हुनेमा भिटामिन बी- १२ को कम हुन्छ। हातगोडा झमझमाउनेदेखि, कमजोर हुने, शिथिल बनाउने गर्छ। यस्तो बेला पनि ज्येष्ठ नागरिकले खानपान मिलाएर खाने गर्नुपर्छ। अर्को कुरा ज्येष्ठ नागरिक बढी उपबास बस्ने गर्नु हुन्छ। फाष्टिङ बस्नु राम्रो हो। शरीरलाई राम्रो हुन्छ। उपबासको पनि विभिन्न तरिका हुन्छ। केही नखाइ बस्नुभन्दा जुस खाने, फलफूल खाने, एक छाक खाने एक छाक नखाने पनि गर्न सकिन्छ। शरीरको अवस्था हेरेर उपवास बस्नुपर्यो।
सहरदेखि गाउँसम्मका निराक्षर तथा कम साक्षर भएका ज्येष्ठ नागरिकलाई जेरियाट्रिकको बारेमा खासै थाहा छैन, हो ?
ज्येष्ठ नागरिकको लागि छुट्टै डाक्टर हुन्छन् भन्ने कतिलाई थाहा नै छैन। ज्येष्ठ नागरिक विशेषज्ञ नहुँदा उनीहरूको उपचार रोकिएको थियो र भन्ने पनि छन्। हामीले गर्नपनुे कामहरू गरिरहेका छौँ। अब राज्य विभिन्न सरकारी तथा निजी अस्पताल र स्थानीय सरकारले पनि ज्येष्ठ नागरिकका लागि विशेषज्ञ चाहिन्छ भनेर प्रभावकारी कार्यक्रम पनि ल्याइरहनुभएको छ। कतिपयले त्यो काम सुरु पनि गरिसक्नुभएको छ ज्येष्ठ नागरिकको स्वास्थ्यसम्बन्धी विभिन्न तालिम दिएको छ। जेरियाट्रिकमार्फत् देवघाटमा पनि अन्तरक्रियात्मक कार्यक्रम गर्यौँ। बुढ्यौलीमा कसरी हेरचाह गर्ने भन्नेबारे मिडियाले पनि लेखिरहनुभएको छ। स्थानीय सरकारले पनि पहल गर्नुपर्छ।
शारीरिक अपांग भएका ज्येष्ठ नागरिकको हेरविचार चाहिँ कसरी हुन्छ ?
ज्येष्ठ नागरिक भनेको अनुभवको खानी हुनुहुन्छ। उहाँबाट ज्ञान लिन सकिन्छ। हरेक बच्चा ज्येष्ठ नागरिकको हातबाट हुर्किन्छ। जसरी बालबालिकाको डाक्टर हुनुहुन्छ त्यसैगरी ज्येष्ठ नागरिकको डाक्टर पनि आइसक्नुभएको छ। यस्तो अवस्थामा साङ्गलाई भन्दा अपाङ्ग भएका ज्येष्ठ नागरिकलाई बढी हेरिबिचारको आवश्यक पर्छ। सक्रिय जीवन बाँच्यौँ भने धेरै रोगबाट बाँचिन्छ
ज्येष्ठ नागरिकलाई राज्यले मासिक भत्ताचाहिँ दिँदै आएको छ तर भत्ताले मात्रै ज्येष्ठ नागरिकको स्वास्थ्यमा सुधार आउँछ?
मासिक चार हजार भत्ताले मात्रै के हुन्छ। राज्यले ज्येष्ठ नागरिक भत्ता दिइरहेका छौँ भनेर पुग्दैन। यदि बिरामी परेर निजी अस्पताल जानुपर्यो भने घरखेत बेच्नुपर्ने अवस्था छ। सरकारी अस्पताल जाँदा अनेक दुःख छन्, उपचार हुँदैन। बीमाले केही सहयोग पुर्यायो भने हो। राज्यलाई त अझै ज्येष्ठ नागरिक हेरचाहका लागि डाक्टर चाहिन्छ।
बुढ्यौली त छँदै छ त्यसमा शारीरिक अवस्था भएका ज्येष्ठ नागरिकलाई अझ गाह्रो हुन्छ। त्यस्तो अवस्थामा परिवारले बढी समय दिनुपर्याे। विभिन्न संघसंस्था छन् जसले उहाँहरूलाई दैनिकीलाई सजिलो बनाउने काम गरेको छ। यस्तो भयो भने एक्लोपनबाट जोगाउन सकिन्छ।
राज्यको भूमिका के कस्तो हुनुपर्छ ?
सरकारको तर्फबाट विभिन्न कार्यक्रम आए पनि प्रभावकारी तरिकाले अगाडि बढाउनुपर्छ। यो ज्येष्ठ नागरिकको स्वास्थ्य रणनीति बनेको छ त्यसलाई प्रभावकारिताका साथ लागू गर्नुपर्छ। जस्तै देशभरिमा चार जना छौँ जेरियाट्रिसियन। सरकारको तर्फबाट जेरियाट्रिकका लागि दरबन्दी नै छैन। वार्डहरू स्थापित गर्ने त भनियो तर प्रभावकारी स्थापित हुन नसकेर अड्किएको छ। केही काम गरिरहेको छैन भन्न मिल्दैन। चाँडै नै ज्येष्ठ नागरिकसम्बन्धी एमडी लेवलको पढाइ पनि अगाडि बढाउनुपर्छ।
जेरियाट्रिकमार्फत् दिइने आधारभूत तालिम के के हुन् ?
तालिम दिइरहेको डब्लुएचओको आइको बेस्ट (इन्टरग्रेटर केयर फर वल्डर पर्सन ) भन्ने छ। उहाँहरूलाई के के समस्या हुन्छ ? एउटै ज्येष्ठ नागरिकमा विभिन्न खालका हुन सक्नुहुन्छ। उहाँहरूको समस्या के के हुन सक्छ। एउटा भनेको बिर्सिन सकिने समस्या छ कि छैन। आँखाको अवस्था, कानको, नाकको, पेटको, हड्डीको अवस्था छ। खाना कस्तो। दिसापिसाब कस्तो छ ? डिप्रेसन कस्तो छ? ६ वटा डोमेन्टमा हेरिन्छ।
कार्यक्षमता कति छ भन्ने पनि हेर्नुपर्ने हुन्छ। ज्येष्ठ नागरिक कुन अवस्थामा हुनुहुन्छ होला। उमेरको हिसाबले कार्यक्षमता घटिरहेको छ कि भने कसरी गर्ने? आफ्नो स्थानमा कसरी गर्न सक्नुहुन्छ भन्ने हुन्छ।
नेपालमा अहिले जेरियाट्रिकको संगठन पनि छ कि ?
अहिले विभिन्न संगठन छन्। गाउँपालिकासँग समन्वय गरेर स्थानीय लेबलमा पनि जाने कुरा छ। जेरियाट्रिक सोसाइटी नेपाल पनि छ।
अध्यापन पनि गराइरहुनुभएको छ। युवापुस्ताले यो विषय पढ्न या चासो राखेका छन् कि छैनन् ?
यो सबै युवा तन्नेरीको चासो छ। तर समस्या के छ भने जेरियाट्रिक विशेषज्ञ बन्नका लागि सोच्नुपर्छ किनकि सरकारी दरबन्दी छैन। निजी अस्पतालमा जेरियाट्रिक्स पढेकालाई राख्न हिचकिचाउने अवस्था छ। पढेर आइसकेपछि के छ त स्कोप, प्लेसमेन्ट भन्ने सोच्नुपर्छ। जेरियाट्रिसियन राख्ने भन्ने कुरा गरे अहिलेसम्म उपचार भएकै थिएन त भन्ने प्रश्न आउँछ ? सरकारीमा त अझै कार्यान्वयन भएको छैन। पढेपछि त्यो अनुसारको अभ्यास पाउनुपर्यो नि, स्थान हुनुपर्याे। एम्समा मसँगै ८ जनाले जेरियाट्रिक्स पढ्नुभएकाे थियाे0 तर चारजना मात्रै नेपाल फर्किनुभयो। बाँकी उतै बस्न बाध्य हुनुभयो। यदि सरकारले दरबन्दीको व्यवस्था गथ्र्यो भने बाँकी चार जना पनि नेपाल फर्किन सक्नुहुन्थ्याे।