
काठमाडौँ- उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले नेपाली उद्योग तथा व्यवसाय क्षेत्रलाई मजबुत बनाए मुलुकको अर्थतन्त्र बलियो हुने बताएका छन्।
राष्ट्रिय विज्ञापन संघ ‘नान’ को प्रारम्भिक साधारणसभा तथा अधिवेशनको उद्घाटन सत्रलाई शुक्रबार काठमाडौँमा सम्बोधन गर्दै मन्त्री रिजालले यस्तो बताएका हुन्।
विज्ञापन क्षेत्रलाई अन्य उद्योगजस्तै बिस्तार गर्दै लैजाने प्रस्तावमा उनले आफू सधैं सकारात्क रहेको भन्दै आफू र आफ्नो मन्त्रालय यो क्षेत्र बिस्तारका लागि सधैं सम्पर्क र सम्वादमा रहने जिकिर गरे।
मन्त्री रिजालले वर्तमान सरकार मुलुकको अर्थ मजबुद बनाउने दिशातिर उन्मुख भएको भन्दै विज्ञापन क्षेत्रमा काम गर्ने एजेन्सीहरूलाई सरकारसँग सहकार्य गरी अगाडि बढ्न आह्वानसमेत गरे।
कार्यक्रमलाई सम्वोधन गर्दै बिज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले खस्कदो विज्ञापन क्षेत्रलाई बढाउन विज्ञापन बोर्ड सधैं सजग रहेको बताए।
बोर्डले विज्ञापन सम्बन्धी ऐन, नीति तथा योजनालाई थप व्यवस्थित गर्ने योजना अन्तिम चरणमा पुर्याएको र त्यो छिट्टै कार्यान्वयनमा आउने अध्यक्ष हुमागाईंको भनाइ छ।
राष्ट्रिय विज्ञापन संघ नेपालको प्रारम्भिक साधारणसभाबाट धर्मेन्द्रकाजी श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको छ। हिजो काठमाडौँमा सम्पन्न साधारणसभाबाट श्रेष्ठको अध्यक्षतामा नयाँ समिति निर्वाचित भएको हो।
मल्ल होटलमा बसेको साधारणसभाले प्रथम उपाध्यक्षमा प्रदिप कोइराला, द्वितीय उपाध्यक्षमा अमृतकुमार पन्थी, महासचिवमा आशिष खड्का, सचिवमा विमल खड्का, कोषाध्यक्षमा अरुण अर्याल, सहकोषाध्यक्षमा रोजी पराजुलीलाई निर्विरोध निर्वाचित गरेको छ।
यसैगरी संघको सदस्यहरूमा वसन्त योगी, रवि अर्याल, इन्द्रमणि न्यौपाने, राम बज्राचार्य, गुञ्जमणि भट्टराई, चन्द्रकान्त अवस्थी, निर्मल अधिकारी, नवराज निरौला, सुनिल आहुजी र सविन पोख्रेल छन्।
निर्वाचित भए लगत्तै बसेको कार्य समितिको पहिलो बैठकले विज्ञापन क्षेत्रलाई समय सापेक्ष बनाउन विधान संशोधन गर्ने लगायतका तीनबुँदे निर्णयहरू पारित गरेको छ।