
पोखरा – अंग्रेजी होस् या नेपाली नयाँ वर्ष पोखराको लेकसाइड पर्यटकले गुल्जार हुन्छ। नयाँ वर्षको स्वागतार्थ पर्यटकको ताँती लाग्छ। तर, लेकसाइडको नजिकैको खपौदी सुनसान हुन्छ।
यसपालि नयाँ वर्षमा खपौदीमा पर्यटक डाक्न स्थानीय पर्यटन व्यवसायी जुटेका छन्। लेकसाइड नयाँ वर्ष मनाउन आएका पर्यटकलाई खपौदीसम्मको यात्रा तय गर्नलाई पहिलो पटक ‘खपौदी कार्निभल’ आयोजना गरिएको छ।
फेवा पर्यटन विकास समितिले ‘खपौदी कार्निभल’ आयोजना गरेको हो। चैत ३० र वैशाख १ गते महोत्सव चल्ने अध्यक्ष अर्जुन सुवेदीले बताए।
फेवातालको उत्तरतर्फ गैराचौतारादेखि चंखपुर पामेसम्म महोत्सव लाग्नेछ। स्थानीय नौमती बाजासहित विभिन्न समुदायको झाँकीहरु प्रदर्शन गर्ने सुवेदीले बताए।
सांगीतिक तथा सांस्कृतिक साँझ, खानाका परिकार, स्थानीय माछा तथा कृषि उत्पादनको प्रदर्शन र डुंगा दौड हुने सचिव शिव थापाले बताए। २५ हजार दर्शक आउने अनुमान छ।
होटल संघ पोखरा नेपालले पनि १८ औं फेवा नववर्ष महोत्सव गर्दैछ। लेकसाइडमा चैत २९ देखि वैशाख १ गतेसम्म हुने महोत्सवको तयारी अन्तिम चरणमा पुगेको संघले जनाएको छ।