
काठमाडौँ- नेपाल उद्योग वाणिज्य महासंघको मतदान एसोसिएटतर्फ मात्रै सम्पन्न हुन बाँकी छ।
जिल्ला नगर र वस्तुगततर्फको मतदान सकिएको र एसोसिएटतर्फको ६५ प्रतिशत मतदान सकिएको निर्वाचन अधिकारी लिलामणि पौडेलले बताएका छन्।
उनका अनुसार ४ बजेसम्म एसोसिएटतर्फको ६५ प्रतिशत मतदान सकिएको हो। होहल्लाका कारण बिहान ८ बजेबाट सुरु हुने भनिएको मतदान २ घण्टा ढिलोगरी सुरु भएको थियो। यसका करण बेलुकी ६ बजेसम्मका लागि मतदान लम्बाइएको छ।
जिल्ला नगर र वस्तुगततर्फ एक र एसोसिएटतर्फ ३ वटा बुथ कायम गरिएको हो। महासंघको आगामी नेतृत्वको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ, रामचन्द्र संघाई र उमेशलाल श्रेष्ठबीच प्रतिष्पर्धा भइरहेको छ।
निर्वाचन अधिकारी पौडेलका अनुसार मतगणना बुधबार नै साँझ ८ बजेबाट प्रज्ञा प्रतिष्ठानको कुमारी हलमा हुने तयारी भइरहेको उनले बताएका छन्।
महासंघको कार्यसमिति सदस्यमा चार जना सर्वसम्मत निर्वाचित भइसकेकाले निर्वाचनबाट एक वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष र ५९ जना कार्यसमिति सदस्य चुनिने छन्। महासंघको विधान अनुसार हाल वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल ३० चैतदेखि स्वतः महासंघको अध्यक्ष बन्नेछन्।