
पोखरा- पोखरेली टेनिस खेलाडी अभिषेक बाँस्तोला आइटिएफको विश्व वरीयतामा परेका छन्। उनी आइटिएफको विश्व वरीयतामा १ हजार ७९० औँ स्थानमा परेका हुन्।
अभिषेक आइटिएफको विश्व वरीयतामा पर्ने पहिलो नेपाली खेलाडी हुन्। उनले युनिभर्सल टेनिस रेटिङ प्रोफेसनल सिरिज खेलेका थिए। यो स्तरको खेल खेल्ने अभिषेक नेपालकै पहिलो खेलाडी भएको दाबी गरिएको छ।
अभिषेकले ८ वर्षको उमेरदेखि नै टेनिस खेल्न सुरु गरेका हुन्। १४ राष्ट्रमा आयोजित टेनिस प्रतियोगितामा सहभागिता जनाएका उनले १३ वर्षको उमेरमा अन्तर्राष्ट्रियस्तरको खेल खेलका थिए। कोरियाको इन्चोनमा भएको १७ औं एशियन गेम्समा सहभागिता जनाइसकेका छन्।
२०१७ मा काठमाठौंमा भएको १४ औँ राष्ट्रिय लन टेनिसमा अभिषेक च्याम्पियन बन्न सफल भए। अभिषेकले विश्व वरियताको १ हजार स्थानमा उक्लने लक्ष्य लिएका छन्।
‘२०२४ को ओलम्पिक खेल्ने। त्यसपछि ग्रान्ड स्लाम खेल्ने सपना छ’, उनले भने, ‘ग्रान्ड स्लाम भनेको हाम्रो सबैभन्दा ठूलो इभेन्ट हो। त्यसमा खेल्न वर्ल्डको दुई-तीन सयमा आइपुग्नुपर्छ।’
विश्व वरियतामा आफ्नो खेल जीवनमा नयाँ सुरुवात भएको उनले बताए। यो स्थानसम्म आउन आफूले थुप्रै त्याग गरेको बास्तोलको भनाइ छ।
राज्यले टेनिस खेललाई प्राथमिकतामा नराखेकाे उनले गुनासो गरे। राज्यले साथ नदिए पनि टेनिस खेलबाट नेपाललाई चिनाउन लाग्ने उनको भनाइ छ।
टेनिस संघका केन्द्रीय उपाध्यक्ष विनोद कायस्थ्यले राज्यको सहयोगबिना नै व्यक्तिगत मेहनतले अभिषेकले प्राप्त गरेको सफलता प्रशसंनीय रहेको बताए।
‘यो अवस्थामा ल्याउन राज्यले पनि धेरै सहयोग गर्नपर्ने हो। एसोसिएसनले पनि सहयोग गर्न पर्ने हो। त्यो अवस्था हुन सकेको छैन’, उनले भने।