
पोखरा – दक्षिण एसियाकै पहिलो सामुदायिक होमस्टे सिरुबारी। ग्रामीण पर्यटनले अन्तर्राष्ट्रिय जगतमा समेत चर्चित सिरुबारीसँगै पहिचान जोडिन्छ दरौंपनि। गीतसंगीतमा पनि दरौंसिरुबारीको चर्चा हुन्छ।
दरौं र सिरुबारी चर्चाको चुली उक्लिँदा बीचैको माझकटेरी गाउँ भने ओझेलमा छ। दरौंसिरुबारी पुग्न पाहुनाहरू माझकटेरी हुँदै जानुपर्छ। तर, माझकटेरीमा न पाहुना रोकिन्थे न त गाउँको नाम नै सम्झन्थे।
अमेरिकामा बस्दै आएका प्रा.डा. नरकाजी गुरुङलाई धेरै नेपालीले सोधखोज गर्थे, ‘सरको घर कहाँ हो ?’ उनको जवाफ हुन्थ्यो, ‘स्याङ्जा माझकटेरी गाउँ।’
‘माझकटेरी भनेर त कसैले नचिन्ने। दरौंसिरुबारीको बीचमा पर्छ भनेपछि बल्ल चिन्ने’, माझकटेरीमा उनले सुनाए। उनलाई सताउन थाल्यो गाउँलाई कसरी चिनाउने ? गाउँको आफ्नै पहिचान कसरी बनाउने?
गुरुङलाई मात्रै हैन माझकटेरीलाई आफ्नै पहिचानले चिनाउने गाउँले सबैमा धोको थियो। गाउँमै बसेका हुन् या पोखरा बसाइँ झरेका, रोजगारीको सिलसिलामा बिदेसिएका नै किन नहुन् ? माझकटेरी गाउँलाई आफ्नै पहिचानले चिनाउने सपना देखेका थिए।
गाउँ चिनाउन नरकाजीले परिकल्पना गरे–गाउँ छिर्ने नाकामा आकर्षक प्रवेशद्वार बनाउने। अमेरिका बस्ने उनले गाउँमा फोन गरेर सुनाए। ‘ग्रामीण पर्यटनले चम्किएको सिरुबारी आउने हजारौं पर्यटकले प्रवेशद्वार हुँदै यात्रा गर्ने भएपछि माझकटेरी गाउँ सम्झन्छ,’ उनको सोच थियो।
उनको परिकल्पनालाई मामाचेला, फुपुचेला र इस्टमित्र मिलेर सार्थक बनाए। आर्थिकदेखि समन्वयसम्म सहयोग पाएपछि माझकटेरी छिर्ने नाका खर्कटीडाँडामा गाउँ चिनाउन १७ लाख रुपैयाँ लगानी गरेर प्रवेशद्वार बनेको छ।
प्रवेशद्वारमा शिव र बुद्धको मूर्ति राखिएको छ। ‘आउने जाने सबैले एक पटक ढोगेर जान्छन् भनेर मूर्ति राखेका हौं। धेरैले यो ठाउँलाई सम्झिनेछन्’, नरकाजीले भने।
प्रवेशद्वारले माझकटेरी धेरथोर त चिनायो। तर, पर्यटकलाई रोक्न सकेन। त्यसपछि नयाँ सोंच बनाए, ‘प्रवेशद्वारसँगै रहेको खर्कटीडाँडामा पार्क बनाउने।’
आँधीखोला गाउँपालिका–१ माझकटेरीको खर्कटी डाँडामा चिटिक्कको पार्क बनाइएको छ। नांगो डाँडालाई सिंगारेर बनाइएको पार्कको नामाकरण गरिएको छ, ‘म्हाँजु भञ्ज्याङ पार्क।’
ढुंगाले बिच्छ्याएर बनाइएको पैदलमार्ग, विश्रामस्थल, झुला र पार्कमा फर्फराईरहेका ध्वजापतकाले पाहुनाको मन लोभ्याएको छ। अचेल सिरुबारीको यात्रामा निस्किएका हर पर्यटकको पाइला म्हाँजु भञ्ज्याङ पार्कमा पुगेपछि टक्क रोकिन्छ। सेल्फी प्वाइन्टमा सेल्फी खिच्दै रमाउँछन्। सिरसिरे बतासले त हपक्क गर्मी चढेको मौसममा मोहनी लगाउँछ।
आँधीखोला गाउँपालिका र नेपाल पर्यटन बोर्डले संयुक्त २५ लाख रुपैयाँ लगानीमा पार्क बनाइएको हो। पार्कको शुक्रबार परिकल्पनाकार उनै प्रा.डा. नरकाजी गुरुङले उद्घाटन गरे।
पार्कले पर्यटक तान्न थालेपछि गाउँको पहिचान बनाउने योजनाले पूर्णता पाउन थालेको नरकाजीले महसुस गरेका छन्। अब माझकटेरी आसपासको क्षेत्रलाई पर्यटनको हब बनाउनुपर्ने उनको भनाइ छ।
‘मेरो फरक भिजन हो। सिरुबारीको होमस्टे अन्तर्राष्ट्रिय भयो। तर त्यो होमस्टेले सबै समुदायको मान्छेलाई फाइदा पुर्यायो कि पुर्याएन भन्ने कुरा पनि हेर्नुपर्छ हामीले’, उनले भने, ‘त्यसले यहाँका बस्तीलाई के फाइदा भयो त्यसरी सोच्नुपर्छ। विकास भनेको एकीकृत हुनुपर्यो।’
थाप्लेदेखि डहरे देउरालीसम्म एकीकृत विकास गर्नुपर्ने उनले बताए। ‘डाँडाकाँडाको दृश्य बेच्ने हो। नेपालमा सुन बेच्न सक्दैनौं। यो सबै दृश्य बेचौं। यहाँको भेरिटेसन बेचौं। जे छ त्यही बेच्ने हो। तर, यसको सकारात्मक असर यहाँका विभिन्न समुदायमा पुग्नुपर्छ’, उनले भने।
गाउँ चिनाउने सपना पूरा हुन थालेपछि पर्यटकीय गाउँ बनाउने योजना बुनेका छन्। स्थानीयसमेत रहेका गण्डकी विश्वविद्यालयका प्रा.डा. गणेशमान गुरुङले स्मार्ट भिलेज बनाउनुपर्ने आवश्यकता औंल्याए। ‘स्मार्ट भिलेज भनेको त्यहाँ सहकारी हुन्छ। त्यहाँ हाइस्कुल छ। खानेपानीको प्रबन्ध घरघरमै छ। बैंक ल्याउन मैले कोशिस गरिरहेको छु। सडकको सुविधा हुन्छ’, उनले भने।
सिरुबारीलाई जस्तै समग्र पञ्चमूल क्षेत्रलाई नै पर्यटकीय ब्रान्ड बनाउने योजना रहेको वडाध्यक्ष पवनकाजी अधिकारीले बताए। वडाबासीलाई पर्यापर्यटनसँग जोड्ने उद्देश्यका साथ अगाडि बढेको उनले जानकारी दिए।
‘पर्यापर्यटनलाई जोड्नुपर्छ भन्ने उद्देश्यका साथ हामी जनप्रतिनिधि साथीहरू लागिरहेका छौँ। र सिंगो सिरुबारीसँगै समग्र पञ्चमूललाई नै पर्यटनको माध्यमद्वारा आर्थिक उन्नतिमा हामीले जोड्नुपर्छ,’ वडाध्यक्ष अधिकारीले भने, ‘उत्पादनसँग जोडिनुपर्छ भनेर पर्यटनका गतिविधि र निर्माण कार्यको गुरुयोजना नै बनाएका छौं।’
पोखराबाट ४४ किलोमिटरको पर रहेको पार्कबाट डहरे देउरालीसम्म पैदलमार्ग बनाउने योजना छ। मौसम खुलेकोबेला म्हाँजु भञ्ज्याङ पार्कबाट देखिने हिमालका दृश्य, हरियाली डाँडाकाँडा, थाप्लेमा निर्माण गरिएको विशाल बुद्ध मूर्ति यहाँको थप आकर्षण हो। पार्कमा खानेपानी, शौचालयजस्ता पूर्वाधार थप गर्न भने आवश्यक छ।