
काठमाडौँ – काठमाडौँको कपनस्थित सरस्वतीनगरमा भाँडा पसल सञ्चालक नीरा पाण्डे आचार्यको वैशाख ७ गते विभत्स हत्या भयो।
हत्यामा संलग्न भएको आरोपमा झापाका विनोद विक पक्राउ परेका छन्। शनिबार राति करिब १० बजे झापाको बिर्तामोडस्थित इलाम स्ट्याण्डमा रहेको एक होटलबाट प्रहरीले उनलाई पक्राउ गरेको हो।
उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालय र सीआईबीको टोलीले पक्राउ गरेको थियो। आइतबार बिहान काठमाडौँ ल्याइएका उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सार्वजनिक गरेको हो।
पत्रकार सम्मेलनको क्रममा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिनेश आचार्यले उक्त व्यक्तिले नीराले लगाएको गहना लुट्नकै लागि हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको बताए।
‘नीरा पाण्डेले करिब १ तोला बराबरको सुनको सिक्री लगाउनुभएको रहेछ। सोही सुन लुट्नको लागि हत्या गरिको हुँ भनेर पक्राउ परेका विकले बयान दिएका छन्,’ उनी भन्छन्, ‘ पाण्डेको घाँटीमा भएको सिक्री उनले चोरेर तारकेश्वर नगरपालिकास्थित पाथीभरा सुनचाँदी पसलमा ५५ हजार रुपैयाँमा बिक्री गरेको पाइएको छ।’
त्यस्तै, प्रहरीका अनुसार पाण्डेको पसलको गल्लामा भएको ११/१२ सय रुपैयाँ पनि उनले लगेको पाइएको छ।
काठमाडौँको कपनस्थित सरस्वतीनगरमा वैशाख ७ गते व्यवसायी नीरा पाण्डे आचार्य (निरु)को हत्या भएको थियो। उनलाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज लगिएको थियो। अस्पतालमा चिकित्सकहरुले उनलाई मृत घोषित गरेका थिए।
हत्यामा संलग्न विक क्यासिनोमा बाउन्सरको काम गर्थे। उनले झापामा साथै काठमाडौँमा पनि विभिन्न क्यासिनोहरुमा काम गरिसकेका छन्। कपनको सरस्वतीनगरमै रहेको एक क्यासिनोमा समेत उनले काम गरिसकेका छन्। विकको कपनस्थित सरस्वतीनगरमा सानीआमाको घर छ। उनी त्यस परिसरको लागि चिरपरिचित नै व्यक्ति थिए। यद्यपि उनको नीरासँग भने कुनै व्यक्तिगत चिनजान थिएन।
प्रहरीका अनुसार घटना भएको दिन विक यतिकै घुम्दै नीराको पसल पुगेका थिए। सुरुमा उनले सामान किन्न आएको भन्दै केही सामानहरु हेरे। सामान हेर्ने निहुँमा लामो समय नीरासँगै गफिएर उनकै पसलमा बसे। केहीबेरपछि उनले पैसा निकाल्न एटीएम गएर आउँछु भन्ने बहाना बनाएर बाहिर निस्किए।
बाहिर निस्किएर पुनः पसलमा पुग्दा नीरा सामान मिलाउनको लागि पछाडितिर फर्किएर बसेकी थिइन्। त्यहीबेला उनले मुक्काले हाने। नीराले उनीतिर फर्किदै प्रतिकार गर्न खोज्दा विकले तत्कालै उनको मुख थुनिदिए, जसका कारण उनी चिच्याएको वरिपरी कसैले पनि सुनेनन्।
नीरा बेहोस भएर भुइँमा लडिन्। भुइँमा लडेसँगै नीराकै पसलको चक्कु प्रहार गरी उनको हत्या गरेको खुलेको अनुसन्धानमा संलग्न प्रहरी उच्च अधिकारीले बताएका छन्।
पोष्टमार्टम जाँचका क्रममा उनको शरीरमा कम्तीमा १९ पटक छुरा प्रहार गरिएको देखिएको थियो। प्रहरीका अनुसार पहिले घाँटीमा, त्यसपछि शरीरमा पटक–पटक छुरा हानेको देखिएको छ।
तर, उक्त घटनामा पारिवारिक सदस्यले भने आपत्ति जनाउँदै आएका छन्। ९९ लाल सुन (करिब एक तोला) र करिब ११/१२ सय रुपैयाँका लागि नीराको हत्या भएको प्रहरीले सार्वजनिक गरेपछि आफन्तहरुले भने शंका गर्दै आपत्ति जनाएका छन्।
‘कहिल्यै नदेखेको, नचिनेको व्यक्तिले सुन नै लगाएको छ भनेर दिउँसै पसलमा कोही पनि व्यक्ति लुट्नै मात्रै सोच राखेर गएको हुनै सक्दैन,’ नीरा आफन्त हुमबहादुर पाण्डे भन्छन्, ‘लुट्नको लागि मात्रै थियो र हत्या गरिएको थियो भने २/४ पटक मात्रै चक्कु हानेको हुन्थ्यो होला तर यहाँ त्यस्तो देखिएन। शरिरमा कम्तिमा १७/१८ ठाउँमा चक्कु प्रहार गरिएको छ। यो त जसरी भए पनि मार्नै पर्छ भनेर नै हत्या गरिएकोजस्तो देखियो।’
आफन्तले उनको शरीरबाट धेरै रगत नबगेको देखिएको विषयलाई पनि शंकास्पद मानेका छन्।
सीआईबी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्य भने सुरुमै मुटुसम्म प्रहार गरेकोले भित्रै रगत जमेकोजस्तो देखिएको डाक्टरले बताएको दाबी गर्छिन्।
‘हामीलाई पनि शंका लागेर पोष्टमार्टम गर्ने चिकित्सकहरुलाई सोधेका थियौँ। उहाँले सुरुमै मुटुमा प्रहार गरेकोले भित्रै रगत जमेको बताउनु भएको छ। यद्यपि, हामीले भर्खर पक्राउ गरेर ल्याएर बयान थालेका छौँ, अनुसन्धानका थुप्रै पाटा अझै बाँकी नै छन्।’
कागेश्वरी मनोहरा खोलानजिकै रहेको पिज्जा हब रेष्टुरेन्टमा आरोपी विनोद विक साथीहरुसँग बस्दै आएका थिए। शनिबार साँझ उनी बस्ने कोठामा उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली पुगेको थियो।
प्रहरीका अनुसार कोठाबाट रगत लत्पतिएको सर्ट र ब्याग बरामद भएको थियो। घटनास्थल वरपरबाट संकलन गरेको सीसी क्यामरामा देखिएको सर्ट र ब्याग नै त्यहाँबाट बरामद गरेको प्रहरीको भनाइ छ।
घटना भएपछि पाँच दिनसम्म उनी काठमाडौँमै बसेको प्रहरीले जनाएको छ। ‘त्यसअघि काठमाडौँमै सुन बिक्री गरेर कोठामा बसेको पाइएको छ’, एसएसपी आचार्य भन्छन्, ‘विक आर्थिक रुपमा एकदमै समस्यामा भएको देखिएको छ।’
आचार्यका अनुसार उनले उक्त सिक्री वैशाख १३ गते ५५ हजारमा बिक्रि गरेका थिए। सिक्री बेचेर आएको पैसाबाट १० हजारको मोबाइल किनेको र भोलिपल्ट नै उनी झापा हिडेका थिएँ। विनोदको घर पनि झापा नै हो। पैसाको अभावकै कारण नीराको हत्या गरिएको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ।