
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष डिपीअर्याल भेट्न पार्टी कार्यालय बसुन्धरा पुगेका साइकल यात्री पुस्कर शाहलाई पालेले साइकल भित्र लैजान मिल्दैन भन्दै फर्काइदिएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष डिपी अर्यालकै निम्तामा सोमबार पार्टी कार्यालय पुगेका उनलाई पालेले भित्र पस्न नदिएका हुन्।
उनले सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट सार्वजनिक गर्दै घन्टी घर प्रवेश गर्न नदिएको बताएका हुन्।
‘चिया गफको लागि उपाध्यक्ष अर्यालले बिहान निम्ता दिनुभएको थियो ।अध्यक्षज्यूलाई नि भेट्नु पर्यो भनेर पुरानो कोट भिरेर सिमसिम पानीमा भिज्दै घन्टी घर बसुन्धरा पुगेँ। पालेज्युले साइकललाई घन्टी घर भित्र प्रवेश छैन भन्नु भो,’ उनले लेखेका छन्, ‘ढोका खुल्लै देखेर म साइकल लिएरै भित्र पसेँ । भित्र मोटर साइकल चै छिर्न दिइएको रैछ । मैले त्यो बारे प्रश्न गरेँ । पालेले गाडी र मोटर साइकल त पाउँछ भने।’
शाहले अन्य चार पाङ्ग्रे गाडी र मोटरसाइकल चाँहि भित्र प्रवेश गर्न दिने तर साइकल भएकै कारण भित्र पस्न नदिएको भन्दै गुनासो गरेका छन्।
पालेले भित्र प्रवेश गर्न नदिएपछि शाहले अर्याललाई फोन गरेका थिए तर फोन नउठेपछि उनी बाध्य भएर पानीमा भिज्दै घर फर्किएका हुन्।