
बीच सडकमा लमतन्न
पछारिएको छ एउटा मान्छे
धुलो, धुवाँ र घामको बिनापरवाह
वृद्ध शरीर र जोसिलो मन बोकेर।
नजिकै छरपस्ट छन् समृद्धि सपनाको चाङ।
सँगै छन केही मुटुहरू,
आशाको अनुहार कोरेर।
पर नेपथ्यमा
कर्कश आवाज लिएर
आकासिँदै छ, ठूलो चिलगाडी
सुख र शोकको मुस्लो उडाउँदै।
पल्लो बाटो
केही थान लवेदासुरुवाल
चिल्ला गाडीमा हुइँकिदै छन्।
नदेखै गरी साउती गर्छन्,
एकअर्कासँग, मुसुमुसु हाँस्छन्।
सयल र सुन्दर वस्त्र नभनी
दसौँ वर्षदेखि खोजमा तल्लीन
यिनी कोही वुद्ध, मोहम्मद होइनन्
न त कृष्ण, जिसस नै
फगत महावीर हुन्, महावीर।
चिसो सडकमा लडेर
तताउन खोज्दै छन् चिसै मनहरूलाई
सुदुर डाँडाहरूमा
विकास फुलाउन
अनवरत घोत्लिएका यिनी भन्दैछन्
कतिञ्जेल आइन्स्टाइनहरूलाई
मरुभूमिमा भेँडा चर्न पठाउने?
कहिले इलोन मस्कहरूलाई
अमेरिका गएर भासिन रोक्ने?
पल्लो पेटीमा अलमल्ल आत्माहरू
ठम्याउन सक्दैनन
सडकमै पल्टौँ वा बाटो लागौं?
बेपरवाह,
नमिलेको कपाल र
ज्वालामुखी शरीर लिएर
बीच सडकमा लमतन्न पछारिएको छ
एउटा मान्छे