शैक्षिक सत्रको सुरुमै कसरी पुग्यो यस वर्ष गाउँगाउँ किताब?

शैक्षिक सत्रको सुरुमै कसरी पुग्यो यस वर्ष गाउँगाउँ किताब?
+
-

काठमाडौँ- विगतका वर्षहरूमा शैक्षिक सत्र सुरुवात भएको महिनौँ बितिसक्दा पनि पाठ्यपुस्तक (किताब) नपूग्ने समस्या हुन्थ्यो। तर, २०८० को चालू शैक्षिक सत्र सुरुवात भएसँगै देशको हिमाली जिल्ला र दुर्गम ठाउँका विद्यालयमा किताब पुगिसकेको छ। बैशाख महिनाको सुरुवातसँगै हुने भर्ना अभियानकै क्रममा किताब विद्यालयमा पुग्दा स्थानीय विद्यार्थी, अभिभावक, शिक्षकहरू हर्षित छन्।

निजी स्कुलका विद्यालयमा किताब पुग्न कम्तिमा दुई महिना लाग्थ्यो तर सरकारी स्कुलका किताब समयमै पुगेको छ। बैतडी जिल्लाको पुर्चाैडी नगरपालिका–७ मा पर्ने श्री गलिनाथ माध्यमिक विद्यालयको कक्षा दशसम्मका सम्पूर्ण किताब पुगिसक्दा त्यहाँका स्थानीय र शिक्षकहरु खुसी छन्। यस विद्यालयका प्रध्यानाध्यापक दिनेश नागरीका अनुसार सरकारी स्कुलमा समेत समयमै किताब आइपुग्नु भनेको सामुदयिक विद्यालयप्रति सरकार सचेत हुनु हो। उनले भने, ‘सामुदायिक विद्यालयप्रति स्थानीय सरकार पनि गंभीर देखियो र पाठ्यपुस्तक निर्माणदेखि र वितरण कार्यसम्म चुस्तदुरुस्त भएरै हो।’

कैलालीे जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर ८ स्थित धनगढी नमुना प्राविधिक माध्यमिक विद्यालयमा अघिल्लो वर्षभन्दा यसवर्ष किताब छिट्टो आएकोमा आश्चर्यमा छन् शिक्षक तथा विद्यार्थीहरू। यस विद्यालयका प्रध्यानाध्यापक लक्ष्मणदत्त भट्टकाअनुसार अघिल्लो वर्षजस्तो यस वर्ष किताब भएन भनेर विद्यार्थीले रुनु परेन । प्रध्यानाध्यापक भट्टले भने, ‘यस वर्ष बैशाखमै किताब आएको छ। कक्षा चार र आठको केही किताबबाहेक सबैजसो किताब आएको छ। अहिले अन्यौल छैन।’

कञ्चनपुरका अभिभावक करनबहादुर चन्दले वर्तमान सरकारले कञ्चनपुरसहित देशभर समयमै किताब पुर्‍याउन सफल भएको बताए। ‘यसपटक वर्तमान सरकारले समयमै विद्यार्थीको हातहातमा किताब पुर्‍याएको छ, यो एकप्रकारको सफलता पनि हो,’ उनले भने, ‘विगतका वर्षहरूमा समयमै किताब नपाउँदा सास्ती व्यहोर्नुपरेको थियो।’

कञ्चनपुरको बेदकोट नगरपालिका– ८ गैलनदीमा रहेको बैजनाथ माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रकान्त भट्ट (सिके)ले इतिहासमै पहिलोपटक यसरी सामुदायिक विद्यालयमा समयमै किताब पुगेको बताए। ‘यसपटक शैक्षिक सत्र सुरुवातकै चरणमा पुस्तक पुगेका छन्,’ उनले भने, ‘हामीले पनि वितरण गरिसकेका छौँ।’

अध्यक्ष भट्ट पूर्वअखिल क्रान्तिकारी कञ्चनपुरका अध्यक्ष हुँदा यस्तै पाठ्यपुस्तक समयमै नपुगेको विषयमा आन्दोलन गरेका दिन सम्झिँदै यसपटक समयमै सरकारले पाठ्यपुस्तक पुर्‍याएको भन्दै सरकारलाई धन्यवाद दिएका छन्। विशेष गरी यो पटक कर्णालीका हिमाली जिल्लाहरुमा समेत समयमै पाठ्यपुस्तक पुगेको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले जनाएको छ । जनक शिक्षाको नेपालगन्ज कार्यालयका अनुसार हुम्ला र डोल्पामा सबैभन्दा पहिला पाठ्यपुस्तक पुर्‍याइएको छ।

कर्णाली प्रदेशमा एक दशकपछि पहिलो पटक समयमै किताब पुगेको हो । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ कर्णाली प्रदेशका अध्यक्ष कमल नेपाल झण्डै एक दशकपछि पहिलो पटक कर्णालीमा समयमै पाठ्यपुस्तक पुगेको बताउँछन् । उनले पटक–पटकको दबाब र संघर्षका कारण पहिलो पटक कर्णालीमा समयमै किताब पुगेको बताए ।

दुर्गम र हिमाली जिल्लाका विद्यालयहरुमा ०७९ मा पनि कर्णालीका ४० प्रतिशत विद्यार्थीले पूरै सेट किताब पाउँदैनथे । पाठ्यपुस्तक बेलैमा उपलब्ध नगराएको भन्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका विद्यार्थीहरुले केही समयअघि जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको प्रादेशिक कार्यालय प्रमुखलाई कालोमोसो दलेका थिए।

तर यसपाली जनक शिक्षा सामग्रीले चैत्र १५ गतेभित्र किताब प्रकाशन गरिसकेको थियो । केन्द्रले ६ देखि १० कक्षासम्मका एक करोड ५० लाख थान पुस्तक छाप्ने जिम्मेवारी पाएको थियो । जनक शिक्षाका प्रबन्ध निर्देशक अनिलकुमार झा बाहिरी जिल्लालाई प्राथमिकता दिएर पाठ्यपुस्तक छापिएको र छापिसकेका पुस्तकहरु देशभरिका शाखा कार्यालयमा पठाउने क्रम पनि तीब्रताका साथ भएकाले विद्यालयमा पुग्न सम्भव रहेको बताउँछन् ।

‘स्थानीय वितरकले लापरवाही नगरी वितरण गरिदिनु भएकोले पनि विद्यार्थीको हात–हातमा समयमै किताब पुग्न सकेको हो’, उनै झाले भने। जनक शिक्षा सामग्रीले यसपाली दुई वटा नयाँ मेसिन थपिएको र अघिल्लो वर्षमा भन्दा यसवर्ष कम भार परेको कारण पनि पाठ्यपुस्तक प्रकाशन र वितरण सहज भएको रहेको बताउँछन् केन्द्रका एक कर्मचारी।

यसपालि कागजमा पनि गत बर्षजस्तो अप्ठ्यारो परेन। कागज छैन भनेर बस्नु परेन। ढुवानीमा अवरोध भएन। स्थानीय सरकारले आफ्ना विद्यालयमा छिटो किताब चाहियो भनेर झक्झकाउने काम पनि भयो, त्यसले गर्दा पनि समयमै किताब पुगेको बताउँछन् झा।

शिक्षा मन्त्रालयका प्रवक्ता दिपक शर्माका अनुसार समयमै किताब छापियो, समयमै ढुवानी भयो र वितरण पनि समयमै हुन सकेकोले सबै विद्यालयमा किताब पुगेको हो। ‘पहिलो कुरा त यसपालि कागज सर्टेज भएन। समयमा कागज पाउँदा पनि किताब छाप्न समयमा सकिएको हो। अर्काे कुरा जनक शिक्षा सामाग्रीलाई कक्षा ६ देखि १० र निजीले कक्षा १ देखि ५ सम्मको एक करोड २० लाख थान पुस्तक छाप्ने भएपछि जनक शिक्षालाई सहज भयो’, प्रवक्ता दिपक शर्माले भने, ‘अहिले हामीले निजी क्षेत्रलाई पहिलेको तुलनामा बढी जिम्मेवारी दिएको हो र निजी क्षेत्रका प्रकाशन गृहले समयमै किताब छापेर वितरण गरिदिनुभयो। त्यसो हुँदा पनि समयमा किताब पुगेको हो।’

प्रवक्ता शर्माका अनुसार अघिल्लो वर्ष किताब समयमा नपुग्नुको पहिलो कारण कागजको अभाव र त्यसभन्दा अगाडि वर्ष कोरोना महामारीको प्रभावका कारण किताब पुर्‍याउन सकिएको थिएन। उनी भन्छन्, ‘हिजोअस्ति यसले गर्दा भएन र अहिले यसले गर्दा भएको हो भन्ने छैन। बरू, सरकारी संयत्रले बनाएको कार्ययोजनालाई पछ्याउन सकिएको भएर पनि यो सम्भव भएको हो।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?