
सिमकोट – परम्परागत स्वास्थ्यकर्मीसँग उपचार विधिसम्बन्धी अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिएको छ। परम्परागत स्वास्थ्यकर्मीले आफ्नो पुर्खा वा गुरूकुल प्रथाअनुरूप ज्ञान, सीप, प्रविधि, अनुभव हासिल गरेको आधारमा रोगी जाँचेर रोगको कारण, प्रकृति र अवस्था हेरी प्राकृतिक रूपमा स्थानीयस्तरमा उपलब्ध विभिन्न जडीबुटी खनिज, द्रव्य जान्तव द्रव्य प्रयोग गरी वा त्यस्ता द्रव्य प्रशोधन गरेर घरमा नै बसेर उपचार गराउनेबारे जानकारी दिन अभिमुुखीकरण गरिएको हो।
आयुर्वेद स्वास्थ्य केन्द्रका कविराज कृष्णचन्द्र जोसीले परम्परागत स्वास्थ्यकर्मीलाई यसरी अभिमुखीकरण गर्नुको उद्देश्य परम्परागत उपचार ज्ञान, साँस्कृतिक ज्ञान तथा परम्परागत उपचारको पहिचान, वर्गीकरण र तथ्यांक संकलन गर्नका लागि भएको जनाए।
अभिमुुखीकरणमा परम्परागत रूपमा उपचार वा स्वास्थ्य सेवा दिइरहेका योग्य र सक्षम उपचारकलाई उनीहरूको योग्यता क्षमता र भौगोलिक एवं विषयगत क्षेत्रको आधारमा वर्गीकृत गरी सूची तयार गरी उनीहरूको सीमा निर्धारण गरिएको छ। जसमा सूचीकृत उपचारकले तोकिएको सीमाभित्र रहेर कार्य गर्ने, सोअनुरूप नगर्नेहरूलाई निरूत्साहित र दण्डित गर्ने आधार तयार पारिनेछ।
त्यसैगरी, परम्परागत उपचारकको मापदण्डमा स्थानीय तहमा एकरूपता ल्याउने बाटो खुल्ने विश्वास केन्द्रले गरेको छ। परम्परागत उपचारकहरूको ज्ञान, सीप, प्रविधिको अभिलेखीकरण र संरक्षणमा मद्दतसमेत पुुग्नेछ। परम्परागत उपचारकको बौद्विक सम्पत्तिको अधिकारको संरक्षण गर्ने र परम्परागत उपचारकहरूको पेसा, व्यवसायको संरक्षण र ज्ञान, सीप, प्रविधिलाई प्रोत्साहन मिल्नेछ।
अभिमुखीकरणमा परम्परागत उपचारकमा जडीबुटी उपचारक, परम्परागत आयुर्वेद उपचारक, स्थानीय उपचारक, आम्ची आध्यात्मिक उपचारक, ज्योतिष, धामी, झाँक्री, झारफुके, जान्ने मान्छे, पण्डित, लामा, पुजारी परम्परागत सुडेनी रहेका छन्।
स्थानीयस्तरमा पाइने जडीबुटीको प्रयोग, योग तथा पञ्चकर्म सेवा दिनचर्या, ऋतुचर्या, जीवनशैली व्यवस्थापन, आयुर्वेद संस्थाहरूबाट प्रदान गरिने सेवाबारे जानकारी गरिएको थियो। अभिमुुखीकरणमा सहभागी परम्परागत उपचारकलाई शिलाजित, तुलसी चिया र महानारायण तेल वितरण गरिएको थियो। कार्यक्रममा ५३ जना परम्परागत उपचारक सहभागी थिए।