
बुटवल, – रुपन्देहीको प्रमुख पर्यटकीय क्षेत्र भैरहवास्थित ‘मिनि क्यासिनो’ सञ्चालनमा अन्यौलता देखिएको छ ।
पर्यटन विभागले नयाँ परिपत्र गरेपछि क्यासिनो संचालनमा क्यासिनो सञ्चालनमा अन्यौलता र विवाद देखिएको हो ।ह्याप्पी आवर प्रालिद्वारा सञ्चालित उक्त मिनी क्यासिनो तीन वर्षदेखि बिना इजाजत संचालनमा थियो ।
जिल्ला प्रशासन कार्यालयले गत असार १९ गते उक्त मिनि क्यासिनो संचालनका सम्बन्धमा पत्र लेखि सोधिएको विषयमा विभागले भैरहवामा होटल नान्स र होटल लाकौल दुई स्थानमा सञ्चालित मिनी क्यासिनोको सम्बन्धमा अदालतमा विचाराधीन मुद्दा रहेकाले सो मुद्दाको फैसलापछि मात्र सोहीबमोजिम रहने प्रष्टाएको छ ।
विभागका क्यासिनो हेर्ने शाखाका प्रमुख नारायणप्रसाद भट्टराईले हस्ताक्षर गरी पठाएको पत्रमा जुन होटलमा क्यासिनो संचालनको अनुमति लिएको हो सोहीअनुसार मात्रै हुने भन्दै अन्यथा भएको भए कारबाही हुनेतर्फ समेत संकेत गरिएको छ ।
भैरहवामा १५ दिन पहिले बिना इजाजत संचालनमा रहेको नान्समा संचालित क्यासिनो फेरी होटल निर्वाणामा संचालनमा आएको छ ।
विभागको पत्रमा क्यासिनो नियमावली, २०७० को नियम ९ को उपनियम ४ बमोजिम जुन होटलमा क्यासिनो संचालनको अनुमति लिएको हो, सोही होटलमा मात्रै संचालन गर्न पाउने कानूनी प्रावधान रहेको विभागले जनाएको छ ।
ह्याप्पी आवरले नेपाल सरकारबाट चार क्यासिनो संचालन गर्ने अनुमति लिएपनि भैरहवाको होटल लाकौलमा र नान्स (निर्वाणा) मा गरी पाँचवटा शाखा रहेका छन् ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले विभागको पत्र मंगलबार मात्र आफूलाई प्राप्त भएको जानकारी दिदै विभागको पत्र आउनु अघि उक्त क्यासिनो एउटा होटलबाट अर्कोमा सरिसकेको अवस्थामा क्यासिनो संचालनका सम्बन्धमा भने ‘अदालतको फैसलाबमोजिम हुने’ भन्ने विषयले अन्योलता सिर्जना गरेको बताए ।