
लाओसमा निर्माणाधिन बाँध भत्किएर आएको बाढीका कारण कम्तिमा २० जनाको ज्यान गएको छ भने १०० जना भन्दा बढी बेपत्ता भएका छन् । लाओसको दक्षिण–पूर्वमा निर्माणाधिन बाँध भत्किएर बाढी गएको हो ।
बाढी बाँधको नजिकै रहेका बस्तीमा पस्दा क्षति भएको हो । एतापेउ प्रान्तमा निर्माणाधिन हाइड्रोलिक बाँध कामदारले आंशिक रुपमा क्षतिग्रस्त रहेको आइतबार नै देखेका थिए । त्यसपछि नजिकै रहेका बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको थियो ।
सोमबार अबेर बाँध भत्कियो, जसका कारण नजिकका ६ गाउँमा बाढी पसेको छ । बाढीका कारण ६६ सय भन्दा बढी मानिस घरबार बिहीन भएको लाओ समाचार संस्थाले जनाएको छ । बाढीका कारण घरको अधिकांश भाग डुबेको छ ।
गाउँले तथा बालबालिका घरको छानामा बसेर ज्यान जोगाएको बाढीपछिको तस्बिरमा देखिएको छ । एतापेउ लाओसको दक्षिणमा रहेको प्रान्त हो, यसको सीमा कम्बोडिया र भियतनामसँग जोडिएको छ । यहाँ कृषि तथा काष्ठजन्य उद्योग बढी रहेका छन् ।
यस्तै जलविद्युत पनि यहाँको प्रमुख निर्यातजन्य उत्पादन हो । लाओस, थाइल्याण्ड र दक्षिण कोरियाका कम्पनीको संयुक्त लगानीमा निर्माणाधिन से–पिएन–से–नामनोयी जलविद्युत परियोजनाको बाँध भत्किएको हो ।
आइतबार बाँधमा समस्या देखिएको थियो, सोमबार भत्कियो भने मंगलबार बाढी गाउँमा पसेको हो। बाढी प्रभावितहरुको उद्धारका लागि उद्धाकर्मी खटिएका छन् ।
उनीहरुले प्रभावितलाई बोट मार्फत उद्धार गर्ने प्रयास गरेका छन् । बेपत्ताहरुको पनि खोजी भइरहेको लाओस सरकारले जनाएको छ ।