भ्रष्टाचारविरुद्ध पोखरामा प्रदर्शनः ‘करोडौं पर्ने महल तिमीलाई कसले किन्दियो?’ (तस्बिरसहित)

भ्रष्टाचारविरुद्ध पोखरामा प्रदर्शनः ‘करोडौं पर्ने महल तिमीलाई कसले किन्दियो?’ (तस्बिरसहित)
+
-

पोखरा – नेता भोट माग्नलाई झुकेर जनताको घरदैलो चाहर्छ। जनताले मत प्रकट गरेपछि ऊ अग्रस्थानमा हुन्छ। शासक बनेपछि कुर्चीको माथिपट्टि उभिन्छ। उसैको इशारामा सब चल्न थाल्छन्।

हद नाघ्न थालेपछि जनता विस्तारै दुई धारमा विभाजित हुन्छन्। एकाथरि नेताले जसो गरे पनि समर्थन गर्ने, अर्कोथरीले राम्रो काम गरेन भनेर शासकको कमीकमजोरी खोतल्न थाले। जब जनता एक भएर शासकको कमजोरी खोतल्न थाले, तब कुर्चीमा पनि उभिएको शासक गर्ल्यामगुर्लुम ढल्यो।

शनिबार पोखराको पृथ्वीचोकमा देखाइएको नाटकको दृश्य हो, यो। भ्रष्टाचार ढाकछोपविरुद्धको नागरिक आन्दोलनमा पोखरा थिएटरका कलाकारले संवादबिनाको नाटक नेताको चरित्र र कसरी जनताले शासकलाई ढलाउँछन् भन्ने देखाए। नाकटमा शासकको भूमिकामा थिए, रमेशबाबु तिमिल्सिना।

नाटक प्रर्दशनपछि तिमिल्सिनाले भने, ‘सुरुमा नेतालाई चियरमा अप गरेर देखाइयो। पछि ऊ ढल्यो, पुरै डाउन गरेर देखाइयो। यदि जनता जागरुक भए भने साँच्चै कसैले केही गर्न सक्दैन। यी नेता जो–जो भने पनि जनता एकजुट हुने हो भने भ्रष्टाचार निर्मुल गर्न सक्छन् भन्ने सन्देश हो।’

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नलाई राजनीतिक संरक्षण हुन नदिन र दोषीलाई कारबाही गर्न नागरिकस्तरबाट खबरदारी गर्न शनिबार पोखरामा प्रदर्शन भएको हो। शनिबार बिहान ११ बजेपछि करिब डेढ घण्टा पोखरेलीले नागरिकस्तरबाट पृथ्वीचोकमा उभिएर खबरदारी गरे।

नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसका नेता पूर्वगृहमन्त्री बालकृष्ण खाण, पूर्वगृह सचिव टेकनारायण पाण्डे, पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहाकार इन्द्रजीत राईलगायत १२ जना पक्राउ परेका छन्। पक्राउ पुर्जी जारी भएपछि पूर्व उपप्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी फरार छन्।

‘टोपबहादुर हो कि टापबहादुर’, ‘करोडौं पर्ने बंगला तिमीलाई कसले किन्दियो’, ‘जो अर्बौं पैसा पचाउँछ, राज्यले त्यसैलाई बचाउँछ’, ‘मन्त्री सोचेको तस्कर र बिचौलिया पो परेछ’, ‘देशमा अर्थतन्त्र मन्द छ, नेताहरुको भ्रष्टाचार धन्दा छ’, व्यंग्यात्मक शैलीका प्लेकार्ड प्रदर्शन गरे।

‘भन्छौँ हामी बारम्बार, भ्रष्टचारीलाई कारागार’, ‘सरकार, ठूला माछा पकडी लगा छिटो हत्कडी’, ‘नेताहरुको घडीमा तस्करको ब्याट्री छ’, केहीबेर नारा चर्काए।

भ्रष्टाचार ढाकछोपविरुद्धको नागरिक आन्दोलनमा कवि सुरज उपाध्यायले सुनाएः
बा भन्नुहुन्छ
मलाई थाहा छ, नेपालीलाई भुटानी कसरी बनाइयो
तर म भन्दिनँ
४ गते पनि भन्दिनँ
ज्यान जाला भन्दिनँ
अँह भन्दै भन्दिनँ
यदि मैले भनेँ भने
टोपबहादुरभन्दा ठूलो भ्रष्टाचारीमा मेरो नाम दर्ज हुनेछ
थाहा छ नि मैले भ्रष्टचार गर्दिनँ
त्यसैले मैले भन्दै भन्दिनँ

कवि बाबु साहेबले बेतिथिविरुद्ध आवाज बुलन्द पार्न कविताबाटै आग्रह गरेः

‘आवाजहरु ओ आवाजहरु ,
अनुहारको कुन तप्का भित्र बसिरहेछौ?
बाहिर निस्क ओ आवाजहरु…’

रंगकर्मी परिवर्तनले मुक्तकबाट चोटिलो प्रहार गरेः

‘मैले फुटेकालाई जुट भनेको थिएँ
बग्ने नै छ नदी अटूट भनेको थिएँ
त्यही कारणले मेरो हातमा हत्कडी लगाइयो,
मैले सुतेकालाई उठ भनेको थिएँ ।’

रंगकर्मी अनुप बरालले पनि भ्रष्टाचार ढाकछोपविरुद्धको नागरिक आन्दोलनमा ऐक्यवद्धता जनाए। बरालले नेपालीलाई भुटानी शरणार्थी बनाउन गरिएको दुष्प्रयासलाई संगिन अपराधको संज्ञा दिए।

‘त्यसलाई त अझ राष्ट्रको नेतृत्वमा बसेका ठूला पद ओगटेका उनीहरुले नै ढाकछोप गर्ने प्रयत्न गरे। हाम्रो देशमा भ्रष्टाचारको जरो कति गहिरो र नमिठो तरिकाले संयन्त्रहरुमा गढेको छ पोष्टमार्टमा गरेको छ’, उनले भने।

भ्रष्टचारको असर बढ्दै जाँदा नेपाल अपराधिक संगठनहरुको अपराधिक थलो बन्नेमा उनले चिन्ता जनाए। उनले भने, ‘हामी नेपालीहरु डिप्रेसनको सिकार बन्नेछौँ। मानवअधिकार हनन् भएर जानेछ। देश बस्न लायक ठाउँ नै हुनेछैन।’ राज्य संयन्त्रबाट भएको अपराधिक कार्य र भ्रष्टाचारको खुलेरै विरोध गर्न रंगकर्मी बरालले आह्वान गरे।

अभियन्ता गनेस पौडेलले अति हावा भरेपछि बेलुन पड्कने भन्दै भ्रष्टचारीको पोल्न खुल्ने बताए। नेपालीको पाइला पाइलामा भ्रष्टाचार भइरहेको उनको भनाइ छ। ‘बाटोमा भ्रष्टाचार छ। ढलमा भ्रष्टाचार छ। नलमा भ्रष्टाचार छ’, उनले भने, ‘कहिलेकाहीँ त लाग्छ मैले खाने पानी र मैले फेर्ने श्वासमा पनि भ्रष्टाचार छ। मैले बिरामी हुँदा सेवन गर्ने औषधिमा भ्रष्टाचार छ।’

नेपालका भ्रष्टचारीले जनतालाई हेपेको उनको भनाइ छ। ‘यिनीहरुले त अन्तर्राष्ट्रिय जगतलाई हेप्न थाले’, उनले सुनाए। अन्तर्राष्ट्रिय जगतले चाहेर मात्रै अहिलेको नक्कली भुटानी शरणार्थी प्रकरण सतहमा आएको उनको दाबी छ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?