
‘बाबु, मेरो पेसर नापीदिनू न! टाउको दुखेर बोल्नै गारो भको छ,’ अधबैंसे महिलाले भनिन्।
‘धेरै पुगेछ! १७० का मुनि १०० रैछ, आन्टी,’ डाक्टर एकै सासमा बोल्यो।
‘दवाइ खाने गर्नुभको छ?’ डाक्टरले सोध्यो। ‘पैले तिन मैना खाको थें, बानी पर्छ भनेर छोड्दें,’ महिलाले बेलिबिस्तार लगाइन्।
झर्को मान्दै डाक्टरले थप्यो, ‘यसरी कहाँ हुन्छ? यो दवाइ नविराइ खानू।’
‘बाबु दबाइ खाइनहालुँ होला, करेलाको रस खाएर घटाउँछु!’
डाक्टर अवाक भयो।
पछि तिनै महिला बाटोमा बिस्तारै हिँड्दै गरेको देखेर डाक्टरले सोध्यो, ‘हिजोआज स्वास्थ्य कस्तो छ?’
‘के भन्नु र बाबु बेहाल छ, किड्नी फेल भएर डाइलाइसिस गर्दै छु!’
डाक्टरले मनमनै सोच्यो, ‘हेर समयमै दबाइ खाको भए यो समस्या हुने थिएन कि!”
‘बीपी ठिकै छ?’ सोध्यो।
‘ठिकै छ भन्नुपरो,’ महिला आफ्नो बाटो लागिन्।
पछि थाहा भयो, दिमागको नसा फुटेर महिला अस्पताल भर्ना भैछन्।
डाक्टरलाई दिक्क लाग्यो।
‘डाक्साब, आज विश्व उच्च रक्तचाप दिवस रैछ। बोलिदिन परो भनेर पत्रकार आका छन्,’ सहयोगी बोल्यो।
‘के बोल्ने यार, भनेको कसैले सुन्ने भए पो?’ हारेको सिपाहीझैँ गरी डाक्टर कुर्सीमा थचक्क बस्यो।
पर रेडियो बजिरहेको थियो, ‘सबैले आफ्नो बीपी जाचौं, औषधी खाएर रक्तचाप नियन्त्रण गरौं।’
(मे १७ अन्तर्राष्ट्रिय उच्च रक्तचाप दिवस हो।)