
वीरगञ्ज – गर्मी बढेसँगै अस्पतालमा सर्पदंशका बिरामी बढ्न थालेका छन्। मधेस प्रदेशका पर्सा, बारा, रौतहटलगायत जिल्लाका सर्पले टोकेका बिरामी वीरगञ्जको नारायणी अस्पताल पुग्ने गरेका छन्।
चैतसम्ममा फाटफुट रुपमा मात्रै सर्पले टोकेका बिरामीहरु अस्पतालमा आउने गरेका भए पनि वैशाखपछि गर्मी बढेसँगै सर्पदंशका बिरामीहरु अस्पतालमा आउने क्रम बढेको छ।
अहिले दैनिक रुपमा दुईदेखि तीन जनासम्म सर्पले टोकेका बिरामीहरु अस्पतालमा आउने गरेको नारायणी अस्पतालमा प्रवक्ता डा. उदाय नारायण सिंहले जानकारी दिए। अस्पतालमा गोमन, करैत सर्पले टोकेका बिरामीहरु उपचारको लागि आउने गरेको उनले बताए।
उनले सर्पको टोकाइबाट बच्न सावधान रहनुपर्ने सुझाव दिए। ‘गर्मी बढेर पानी परेपछि सर्पहरु दुलोबाट बाहिर निस्कने गरेका छन्। यस्तो बेलामा सर्पले टोक्ने सम्भावना बढी हुन्छ,’ उनले भने, ‘यस्तो बेलामा सर्पको टोकाइबाट बच्न घर वरिपरी सफा राख्ने, रातिको समयमा बाहिर निस्किदा टर्च लिएर निस्कनेजस्ता सावधानी अपनाउनुपर्छ।’
पर्साको ठोरी गाउँपालिका र बाराको जितपुर सिमरा उपमहानगरपालिकामा नेपाली सेना, प्रादेशकि अस्पताल कलैया र निजगढमा पनि सर्पदंश उपचार केन्द्र सञ्चालन गरिसकिएकाले नारायणी अस्पतालमा पहिलेको भन्दा अहिले सर्पदंशका बिरामीहरु कम पुग्ने गरेका छन्।
अहिले गर्मी विस्तारै बढ्दै गएको तथा पानी परेपछि सप दुलोबाट बाहिर निस्कने भएकाले त्यस्तो बेलामा सर्पदंशका घटनामा वृद्धि हुने भन्दै सावधानी अपनाउन डा. सिंहको सुझाव छ।