काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) नेपालका अध्यक्ष कमल थापाले पार्टीलाई मुलुकको अग्रणी शक्ति बनाउने दाबी गरेका छन्।
२०७८ मंसिरमा राजेन्द्र लिङ्देनसँग राप्रपा अध्यक्षमा पराजित भएपछि सो पार्टीबाट अलग भएका थापाले केही समयपछि राप्रपा नेपाल स्थापना गरेका हुन्।
थापाको राजनीतिक हैसियत, राप्रपा नेपालको उद्धेश्य,सिद्धान्त, थापा पुरानै घरमा (राप्रपा) फर्किने सम्भावनालगायत बिषयबस्तुमा केन्द्रित भएर मुलुकको पूर्व उपप्रधानमन्त्री समेत रहेका राप्रपा नेपालका अध्यक्ष थापासँग देशसञ्चारको लागि ईश्वरी बरालले गरेको कुराकानीको संपादित अंश।
राप्रपा नेपालको हैसियत के छ? संगठन र संचालनको ढंग हेर्दा एनजीओको शैलीमा पार्टी चलाईरहनुभएको जस्तो देखिएको छ। पार्टीलाई एनजीओकरण गर्न लाग्नुभएको हो?
राप्रपा नेपाल पुनर्जागृत भएको करिव एक बर्ष मात्रै भयो। यो छोटो अवधिमा देशका ७७ वटै जिल्लामा नै पार्टीको संरचना खडा गरिसकेको छौँ। धेरै पालिकाहरुमा पनि पार्टीको उपस्थिति छ। केन्द्रीय तहमा आधा दर्जन जति भ्रातृ संगठन खडा भएर कृयाशील भएका छन्। र हामीले विभिन्न कार्यक्रमहरु गरेर जनताको माझमा जाने प्रयास गरेका छौँ। यति छोटो अबधिमा यति धेरै उपलव्धि सायद अन्य पार्टीले गर्न सकेका छन् जस्तो लाग्दैन मलाई। राप्रपा नेपालले अवलम्बन गरेको सार्थकता र औचित्यको कारणले गर्दा नै छोटो अवधिमा नै हामी एउटा क्रियाशील राजनीतिक शक्तिको रुपमा देखा परिसकेका छौँ।
हारेको झोँकमा पार्टी खोलेको आरोप छ तपाईलाई, स्वीकार्नुहुन्छ?
आरोप लगाउनेलाई रोक्न सकिदैन। भन्नेले जे पनि भन्छन्। अलिअलि प्रकारान्तरले त्यस्तो देखिन पनि सक्छ। तर बास्तवमा मैले राप्रपाको एकता महाधिवेशन सकिएपछि मेरा केही मतभेदहरुलाई पार्टीभित्रैबाट निराकरण गर्नको निमित्त हरसम्भव प्रयास गरेँ। त्यो संभव नभएपछि करिव ४ महिनापछि म पार्टीबाट एक्लै अलग भएको हुँ। तर अव म एउटा राष्ट्रिय दृष्टिकोणबाट पनि झण्डै पाँच दशक लामो राजनीति गरेको व्यक्ति पार्टीको नेतृत्वमा एक दशक भन्दा लामो समय रहेको व्यक्ति भएको कारणले गर्दा देशभरी नै हाम्रा केही सहयोगी र शुभचिन्तकहरु छन्। मैले त नेपाली राजनीतिमा एउटा विचार पनि प्रतिपादन गरेको छु। त्यो बिचारलाई साथ दिने देशभरी छन्। उनीहरुले मलाई तपाईँ चुप लागेर बस्नु पाउनुहुँदैन विश्राम गर्न पाउनुहुँदैन नयाँ पार्टी खोलेर जाउँ भनेर गरेका कारण नयाँ पार्टी खोलिएको हो। पहिचानसँग जोडिएको राप्रपालाई पुर्नजागित गरेको हो।
महाधिवेशनमा राजेन्द्र लिङ्देनसँग पराजित भएपछि तुच्छ शैलीका आरोपहरु लगाउँदै पार्टीबाट बारिहिनुभएको थियो। उक्त घटना अहिले सम्झिँदा राजनीतिक भूल गरेँ जस्तो महसुस हुन्छ वा हुँदैन?
प्रतिस्पर्धामा उत्रिएपछि हार वा जित हुन्छ। मलाई योजनावद्ध ढंगबाट पराजित गराइएको हो। मेरो नाममा छाप लागेका ४७२ मतलाई योजनाबद्ध रुपमा बदर गराएर पराजित गराइएको हो। तर त्यसको बाबजुत निर्वाचन परिणाम सकिने वित्तिकै मैले राजेन्द्र लिङ्देनलाई बधाई दिएको थिएँ। शुभकामना दिएँ। खुसी पनि व्यक्त गरेँ। आन्तरिक मामिलामा राजाको हस्तक्षेप भएको रोक्न खोज्दा मेरो मागको उपेक्षा भयो। मेरो आग्रहलाई पार्टी अध्यक्ष लिङ्देनले वास्ता नगरेपछि मलाई चित्त बुझेन र बाहिरिएँ।
आम निर्वाचनमा एमालेको चुनाव चिन्ह सूर्य लिएर चुनाव लड्दै गर्दा हिनताबोध भएन?
मेरो पार्टीमा पार्टी अध्यक्षले जसरी पनि चुनाव जितेर आउनुपर्छ भन्ने आवाजहरु थिए। मैले मंसिर ४ मा एमालेको चुनाव चिन्ह सूर्य बाट चुनाव लड्दा मेरो राजनीतिक जीवनमा कति उपयुक्त भयो वा गल्ती भयो भन्ने समीक्षाको बिषय हो। व्यक्तिगत रुपमा मलाई पनि सूर्य चुनाव चिन्ह लिएर लड्दै गर्दा बडो असहज स्थिति त रह्यो नै।
एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सहमतिहरु अझै बाँकी छन् वा चुनावपछि सकिए?
व्यक्तिगत रुपमा केपी ओलीप्रति सद्भाव छ,उहाँले मप्रति पनि सकारात्मक धारणा राख्नुहुन्छ। अहिले केही छैन।चुनावमा सहकार्य गरेको हो। चुनावसम्म मात्रै सीमित रह्यो। यदाकदा हाम्रो भेटघाट हुन्छ। भेटघाट हुँदा विचारको आदान प्रदान गर्छौ।
पार्टीको संगठन र जनाधार बढ्दै गएको देख्दा राजेन्द्र लिङदेन नेतृत्वको राप्रपा अर्थात पुरानै घर फर्किन मन लागेको छैन?
राप्रपाको प्रगति देख्दा खुसी लाग्छ तर पुरानै घर फर्किने कुरा भएको छैन। राप्रपाले मेरो लिगेसीलाई नै निरन्तरता दिएको छ। म त्यहाँ अटाउन सकिन त्यो बेग्लै कुरा हो तर मैले बनाएको घरमा बसेको छ। मैले प्रतिपादन गरेको विचार बोकेर हिडेको छ र त्यहाँ मेरा धेरै सहयोगी साथीहरु हुनुहुन्छ। भोलिसम्म सँगै बसेर हिड्ने सन्दर्भमा राजनीतिमा कुनै कुरा असम्भव हुँदैन। तर मेरा आदर्श र मान्यतामा आघात पुगेपछि म बडो भारी मनले अलग भएको हुँ। कठिन र संघर्षपूर्ण बाटोबाट अघि बढ्न खोजेको हुँ। भोलिको दिनमा मेरो र मेरो पार्टी राप्रपा नेपालले आत्मसाथ गरेको मान्यतालाई त्यहाँ सम्मानजनक ढंगबाट अगाडि बढाउने अवसर रह्यो भने भोलि एकै ठाउँमा हुन सक्छौँ।
राप्रपासँग कार्यगत एकता र सहकार्यका लागि प्रस्ताव भएको छ कि छैन?
छैन। मेरो पार्टी राप्रपा नेपाल र राप्रपाबीच कार्यगत एकताको लागि कुनै छलफल भएको छैन। सार्वजनिक कार्यक्रमहरुमा भेटघाट हुन्छ। राजनीतिक दृष्टिकोणबाट एक भएर जानेबारे छलफल भएको छैन।
राप्रपा नेपाललाई कहाँसम्म पुर्याउने योजना छ?
म राप्रपा नेपाललाई देशको अग्रणी शक्तिको रुपमा अघि बढाउन चाहन्छु। केही व्यक्तिको रहर पूरा गर्न मात्रै राप्रपा नेपाल स्थापना भएको होइन।
राजनीतिमा नयाँ पुस्ताको उदय भएको छ। तपाई पार्टीलाई ज्यादै अघि बढाउने सपना देख्दै हुनुहुन्छ, कहिले पूरा गर्नुहुन्छ? समय, सिद्धान्त,जनाधारले साथ दिनेमा विश्वस्त हुनुहुन्छ?
२०६३ सालपछि देशले अवलम्बन गरेको देशको मार्गचित्र र राष्ट्र निर्माणका अवधारणा त्रुटिपूर्ण छन्। १२ बुँदे समझदारी राष्ट्रको हितमा छैन भन्ने आत्मविश्वासको साथ मैले एउटा वैकल्पिक शक्ति निमार्ण गर्न खोजिरहेको छु। यसको विजारोपण गर्छु। आगामी पुस्ताले अगाडि बढाउँछ। राष्ट्रवादी,प्रजातान्त्रिक, सम्बर्द्धनवादी शक्ति स्थापना गर्ने लक्ष्य छ।