
पोखरा- छङ्गाछुर भीर, हेर्दै कहालीलाग्दो । त्यहीं भीरबाट ५ वर्षअगाडि सडकको ट्रयाक खनियो ।
पैदलै हिँड्न पनि साहस जुटाउनुपर्ने गलेमको भीरबाट अचेल सवारी हुँइकिन्छ। बर्खा लागेसँगै बेलाबखतमा पहिरो खसिरहन्छ। भीरबाट खसेका ठूल्ठूला ढुंगाले पैदलै हिँड्न मुस्किल हुन्छ।
सर्केटारी-आरुखर्क-गलेम-पञ्चासे ग्रामीण सडक खण्डको आरुखर्क-गलेमको २.८ किलोमिटर अक्करे भीर काटेर सडकको ट्र्याक खोलिएको हो।
यो सडकमा पहिरो खसेपछि स्याङजाको फेदीखोला गाउँपालिका-४ का गलेम, राँपु, खामेहाले, टुटेलगाउँका स्थानीय १ घण्टा घुमाउरो चौबिस घुम्टी सडक हुँदै यात्रा गर्छन्। २०५५ सालमा ट्रयाक खोलिएको यो सडक जीर्ण छ ।
भीरको सडक ठाउँ ठाउँमा ढलान गरिएको छ। पहिरो रोक्नलाई छेउमा ग्याबिन जाली भरिएको छ। सडक स्तरोन्नतिको काम भइरहेपनि थोरै बजेटले भीरमा कनिका छरेजस्तै भइरहेको छ।
तस्बिरहरू: विनाेद ढुंगाना