पोखरा – जलकुम्भी झारले ढाकिएर पोखराको फेवाताल कुरुप बनेको छ। मोहनी लगाउने फेवाताल जलकुम्भीले ढपक्कै छोपेपछि डुंगा सयर गर्न आएका पर्यटक नाक खुम्चाउँदै फर्कन बाध्य छन्।
वर्षाको भेलले माथिल्लो क्षेत्रमा रहेको जलकुम्भी बगाएर ल्याएपछि हल्लनचोकदेखि बाराहीघाटसम्मको क्षेत्र बढी कुरुप देखिन्छ।
शनिबारसम्म यो क्षेत्र सफाचट थियो। माथिल्लो क्षेत्रमा फुलेका जलकुम्भीले त सामाजिक सञ्जाल प्रयोगकर्ता पर्यटकलाई तानेको थियो। लगातारको वर्षाले जलकुम्भी बगाएर तल्ल्लो क्षेत्रमा ल्याएपछि डुंगा चलाउनसमेत अफ्ठ्यारो पारेको छ।
पोखरा आउने पर्यटकको पहिलो रोजाइमा पर्ने फेवाताल जलकुम्भीले कुरुप बन्दा पोखरा महानगरपालिकाले करोड बढी खर्च गरेर ल्याएको जलकुम्भी झार निकाल्ने मेसिन भने प्रयोगविहीनजस्तै छ।
२०७४ माघमा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको ५० लाख रुपैयाँ र पोखरा महानगरपालिकाको ७५ लाख रुपैयाँ गरेर १ करोड २५ लाख रुपौयाँमा जलकुम्भी निकाल्ने मेसिन ल्याइएको थियो। मेसिन त्यतिधेरै प्रयोगमा आउन सकेको छैन। जलकुम्भी झार निकालेर कम्पोष्ट मल बनाउन क्यानडाबाट एक्वाइटिक प्लान्ट हार्भेस्टिङ मेसिन ल्याएर फेवातालमा राखिएको छ।
गतवर्ष बर्खा सकिने बेला पोखरा महानगरपालिकाले फेवाताल सरसफाइ महाअभियान चलाएको थियो। विभिन्न संघसंस्थासँग सहकार्यमा चलेको महाअभियानमा मेसिन बिग्रदा हातैले जलकुम्भी झार निकालियो।
यसपालि पनि फेवातालको जलकुम्भी निकाल्न महाअभियान सञ्चालन गर्ने पोखरा महानगरपालिकाका प्रवक्ता मोतिलाल तिम्सिनाले बताए। ‘फेवाताल सफा गर्ने क्रम जारी छ। यो वर्ष पनि सरसफाइ अभियान अगाडि बढाउँछौँ’, उनले भने।
वातावरण संरक्षणका लागि महाअभियान कास्कीले असार २ गते फेवातालको खपौदी ढल्केबर क्षेत्रबाट जलकुम्भी झार निकालेको थियो। त्यसअगाडि जेठ २७ गते खपौदीको ल्यान्डिङ जोनमा सिसा र प्लाष्टिकजन्य फोहोर सफा गरेको थियो। समयमै महानगरले सरसफाइ गरेको भए फेवाताल कुरुप नबन्ने महाअभियानका संयोजक रामबहादुर पौडेलले बताए।
‘बर्खा सुरु हुनअगावै हामीले जलारी समुदायलाई दैनिक ज्यालादारीमा काममा लगाउँ भन्दै सफाइ अभियान सुरु गरेका थियौँ। जलारी समुदायलाई काममा लगाउनुस् भनेर मेयरसापसँग सल्लाह गर्दा उहाँले हुन्छ भन्नुभयो’, उनले भने, ‘प्रधानमन्त्री स्वरोजगार कार्यक्रम ३ दिनमै रोक्न लगाउनुभयो।’
पौडेलले थपे, ‘३ दिनमा काम नरोकी निरन्तरता दिएको भए अहिले जलकुम्भी झार यसरी फेवातालमा देख्न पाइन्थेन।’
तस्बिर/भिडियोः विनोद ढुंगाना/देश सञ्चार