
काठमाडौं- ललिता निवास जग्गा अनियमितता प्रकरणमा पक्राउ परेका भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित ६ जनाविरुद्ध सरकारी कागजात किर्तेमा मुद्दा चलाउने तयारी गरिएको छ।
गुरुङसहित अन्य चार तत्कालीन कर्मचारीविरुद्ध सरकारी कागजात किर्तेमा म्याद थप गरेर मुद्दा अघि बढाउन लागेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले जनाएको छ।
सिआइबीले मुख्य योजनाकार मानिएका मध्ये एक भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई पक्राउ गरेको हो । साथै उनीसँगै अन्य चार जनालाई समेत आजै पक्राउ गरेको छ। पक्राउ पर्ने थप चार जनामा भूमि सुधार तथा व्यवस्था विभाग र मालपोत कार्यालय डिल्लीबजारमा तत्कालीन कर्मचारीहरू रहेका छन्।
मालपोत कार्यालय, डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, कर्मचारी सुरेन्द्रमान कपाली, धर्मप्रसाद गौतम र भुपेन्द्रमणि केसीलाई काठमाडौँका विभिन्न ठाउँबाट पक्राउ गरिएको ब्यूरो स्रोतले जनाएको छ।
यस प्रकरणमा पछिल्लो पटक डिल्लीबजार मालपोतका तत्कालीन कर्मचारी गोपाल कार्की पनि तानिएपपछि एकै दिन पक्राउ पर्नेको संख्या ६ पुगेको छ। उनीहरु ६ जनाविरुद्ध नै सरकारी कागजात किर्तेमा म्याद थप गरेर मुद्दा अघि बढाउने तयारी भइरहेको छ।