
धनगढी -बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरको भिमदत्त नगरपालिका, २ उल्टाखामकी १३ वर्षकी निर्मला पन्तको चार दिनपछि दाहसंस्कार गरिएको छ ।
शुक्रवार बिहान बलात्कारपछि हत्या गरिएको अवस्थामा उखुबारीमा फेला परेकी निर्मलाको सोमबार बिहान महाकाली आर्यघाटमा अन्त्येष्टि गरिएको हो। उनको बलात्कार गरी हत्या गरेको चौथो दिनमा दाहसंस्कार गरिएको पारिवारिक श्रोतले जानकारी दिएको छ।
निर्मलालाई बुवा यज्ञराज पन्तले दागबत्ती दिएका छन् । छोरीलाई दागबत्ती दिदै यज्ञराजले हत्यारालाई कडा सजाय दिन माग गरेका छन्।
घटनाको अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोली महेन्द्रनगर पुगिसकेको छ ।
आफन्त तथा स्थानीय बासिन्दाहरुले घटनाका दोषीहरुलाई पक्राउ गरेर कडा कारबाहीको माग गर्दै आन्दोलन गरेका थिए।