काठमाडौं – नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न भएको आरोप लागेका समीरमान सिंह बस्नेतलाई जिल्ला अदालत काठमाडौंले जन्मकैदको फैसला सुनाएको छ ।
गुण्डा नाइके बस्नेतलाई जिल्ला अदालत काठमाडौंका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले बुधबार जन्मकैदको फैसला सुनाएको हो।
गौचनको हत्यामा संलग्न भएको आरोपमा उनलाई यसअघि नै दोषि रहेको ठहर गरेको थियो। सजाय निर्धारण बुधबार भएको जिल्ला अदालत काठमाडौंका स्रेस्तेदार ज्ञानेन्द्र इटनीले बताए । उनलाई अदालतले पुर्पक्षका लागि केन्द्रीय कारागार सुन्धारामा राखेको छ।
हत्याका मुख्य योजनाकार भनिएका बस्नेत र काले भन्ने अम्बरबहादुर रानालाई जन्मकैदको फैसला सुनाइएको छ।
हत्या गर्नका लागि गोली हान्ने लोप्साङ लामा भन्ने सोम तामाङलाई १५ वर्ष कैदको फैसला भएको छ। समीरमानकी श्रीमती माया शेरचनलाई १० वर्ष कैद र ६० हजार रुपैयाँ जरिवाना हुने फैसला भएको छ।
हत्या अभियोगमा २४ जनाविरुद्ध कर्तव्य ज्यानको कसुरमा मुद्दा दायर भएको थियो। जिल्ला अदालतले १८ जनालाई दोषी ठहर र ६ जनालाई सफाइ दिएको छ।
गौचनको २०७४ असोज २३ गते काठमाडौंको प्रयागचोकमा गोली प्रहार गरी हत्या भएको थियो।
(निर्माण व्यवसायी शरद गौचनको हत्या आफ्नै योजनामा भएको अपराध अनुसन्धान ब्युरोसमक्ष समिरमानसिंह बस्नेतले स्वीकार गरेका थिए। २०७४ मंसिर १७ गते देशसञ्चारलाई प्रहरी स्रोतले उपलब्ध गराएको अडियोमा बस्नेतले हत्या स्वीकार गरेका थिए।)