‘सगरमाथा यात्राको हरेक पाइला जीवनको अन्तिम पाइला हुन सक्थ्यो’ (भिडियो)

+
-

काठमाडौँ– केही समयअघि सगरमाथाको सफल आरोहण गरेका नेपाल प्रहरीका वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई) पुरुषोत्तम सानु आन्तरिक र बाह्य पर्यटकलाई सुरक्षित बनाउनु नेपाल प्रहरीको पनि दायित्व रहेको बताउँछन्।

प्रहरीले पनि पर्यटनसँग रहेर नेपालको पर्यटन क्षेत्रलाई उकास्न भूमिका खेल्नुपर्ने उनको मान्यता छ।

अन्य कुनै पनि हिमाल आरोहण नगरीकन सिधै सगरमाथा चुमेका उनी बाल्यकालदेखिको हुटहुटीले नै त्यो सम्भव भएको बताउँछन्।

प्रहरी संगठनको तर्फबाट पहिलो सगरमाथा आरोही पुरुषोत्तमसँग शिखर आरोहणको अनुभव,कठिनाइ र सन्देशबारे देशसञ्चारको लागि ईश्वरी बरालसँग गरेको कुराकानीको संपादित अंश:

यसअघि अन्य कुनै हिमाल नचढी सर्वोच्च शिखर सगरमाथा आरोहणको आँट कसरी गर्नुभयो?
बाल्यकालदेखि नै सगरमाथा चढ्ने मभित्र एउटा हुटहुटी थियो। नेपाल सरकारको प्रावधान अनुसार सगरमाथा बेस क्याम्पमा रहँदाखेरि ३२ दिनको तालिम लिएको थिएँ। तालिमको केही समयपछि ६ हजार १ सय १९ मिटरको हिमाल चाहिँ चढेको थिएँ। यो बाहेक अन्य कुनै पनि हिमाल चढेको अनुभव थिएन। तर सगरमाथा चढ्ने हुटहुटी र ३२ दिनको तालिमले सहयोग गरेको हो।
खुम्बु क्षेत्रको माटोमा खेलेको अनुभव र त्यहाँको वातावरणमा हुर्किएको हो त्यसैकारण सगरमाथा आरोहण सम्भव भएको हुन सक्छ।

आधार शिविरदेखि सगरमाथाको चुचुरोसम्म पुग्दा सबैभन्दा अप्ठेरो ठाउँ कहाँ कहाँ थिए?
सबैभन्दा अप्ठेरो खुम्बु आइसफल थियो। खुम्बु आइसफल मृत्युको द्वार हो। खुम्बु आइसफल रातिको समयमा हिँड्नुपर्छ। खुम्बु आइसफलमा हामी रातिको १२ बजे हिँडेका थियौँ। समिटको लागि हिँडेका थियौँ तर अत्याधिक हावाको कारण हामी फेरि बेस क्याम्पमा फर्कियौँ। सबैभन्दा ठूला र जोखिमयुक्त आइसहरु त्यहाँ देख्न पाइन्छ। त्यहाँको बाटो अत्यन्तै जोखिमपूर्ण हुन्छ।

खुम्बु आइसफलबाट क्याम्प वानमा पुग्दा खाल्डोमा चढ्ने, जम्प गर्ने भर्‍याङहरु हुन्छन्। त्यसपछि क्याम्प वानबाट माथि पुग्न वारिपारि भर्‍याङहरु राखिएको हुन्छ। क्याम्प वानदेखि टु सम्म पुग्ने बाटो हेर्दा नजिक लागे पनि निकै सकस अप्ठेरो भएको कारण धेरै समय लाग्छ। तुलनात्मक रुपमा क्याम्प टुमा सुविधाहरु छन्। क्याम्प टुमा बसेपछि क्याम्प थ्री जानुपर्ने हुन्छ। क्याम्प टुबाट हिँडेपछिको आधा बाटो तेर्सो जानुपर्ने हुन्छ। त्यहाँ अत्याधिक गर्मी हुन्छ। क्याम्प थ्रीको जुमर पोइन्ट छ। त्यहाँ डोरीको भरमा लगातार ६ घन्टा उकालो हिड्नुपर्ने हुन्छ। त्यो अत्यन्तै जोखिम थियो।

त्यसपछि?
१० देखि १५ घन्टा सम्म लगातार हिँड्नुपर्छ। क्याम्प थ्रीबाट लगातार उकालो भिरालो बाटो डोरीको भरमा १० देखि १५ घन्टासम्म हिँड्नु पर्छ। आँखाले हेरेर भ्याएसम्म बाँदर लड्ने जस्ता भिरमा ठूलाठूला हिँउका डल्लाहरु मात्रै देखिन्छन्। अनि क्याम्प फोर फुटवल मैदानजस्तो फराकिलो छ। त्यहाँ खान र आराम गर्न मिल्छ। सुत्ने निदाउने भन्दा पनि आफुलाई जोगाउँदै आराम गर्नु पर्ने हुन्छ। त्यहाँ अत्यधिक हावा चल्ने रहेछ। जीवनमा त्यस्तो हावा मैले कहिल्यै पनि देखेको,भोगेको थिएन। हिउँ जमेको ठाउँ,माइनस डिग्री तापक्रम हुँदा चिसो अत्यधिक थियो। त्यो बिचको एक किलोमिटरको भागमा स्वास फेर्न समेत गाह्रो हुने ठाउँ छ। त्यो पार गरेर समिट गरेपछि सगरमाथाको शिखरमा पुगिन्छ, उक्त अनुभुतिलाई व्यक्त गरेर सकिँदैन।

जिन्दगीलाई नै माया मार्नुपर्ने अत्यन्तै सकसको क्षणमा के सोच्नुभयो?
आफूले आफैँलाई बिर्सिएँ। परिवार सम्झनु हुँदैन। किनकी हामी सामाजिक प्राणी हो। सबैभन्दा प्रिय मान्छे को छ, त्यसलाई सम्झनु हुँदैन। मृत्युसँग जुधिरहेको कारण अरुलाई सम्झिने सम्भावना र फुर्सद हुँदैन।

सगरमाथाको चुचुरोमा पुग्दाको अनुभूति छोटकरीमा बाँड्नुस् न।
सम्झिँदा एउटा ऐतिहासिक क्षण हुन्छ। सगरमाथा संसारकै सवैभन्दा सुन्दर ठाउँ हो भन्ने कुरा सगरमाथाको चुचुरोमा पुगेपछि अनुभूत हुनेरहेछ।  चुचुरोमा पुगेर खादा र ध्वाजा पताकाहरु लगाएँ। सगरमाथाको शिखरमा ढोगेँ। ढोगिसकेपछि विश्वमा शान्ति फैलियोस् भनेर कामना गरेँ। १५ मिनेटसम्म चुचुरोमा बसेँ। त्यहाँ बसिन्जेलसम्म आफ्ना नजिकका र प्रिय मान्छेहरुलाई सम्झिएँ। घर,परिवार, सानी छोरी, श्रीमती बुबा आमा लगायतलाई सम्झिएँ।

सगरमाथा शिखर चढ्न पुग्दा र चढेर फर्किँदा कस्तो फरक महसुस भयो?
फर्किदा झन् जोखिम थियो। एउटा डोरीको भरमा सयौंजना फर्किनुपर्ने। एउटै डोरीबाट जाने र फर्किने गर्नुपर्छ।  हामी झर्दाखेरि अरु जाँदै हुनुहुन्थ्यो। जहाँ धेरै व्यक्तिहरु हुनुहुन्थ्यो, जसले गर्दा जोखिम थियो। फर्किदा पनि यति जोखिम थियो कि मृत्यु भयो भने शव समेत नपाइने अवस्था हुने रहेछ। भिरालो बाटो चिप्लेर कता पुगिन्छ ठेगान नहुने रहेछ। हिउँचितुवा पनि लड्ने डरलाग्दो ठाउँ छ। कति ठाउँमा म लडेर जीवनको माया मारेको छु। एउटा शव माथि लड्दा मैले जीवनको अन्त्यै नै यहीँ रहेछ कि भनेर माया मारेको थिएँ। मेरी साढे दुई बर्षकी छोरी सम्झिएँ, घर परिवारलाई पनि सम्झिएँ। धेरै पटक भक्कानिएँ।

यात्राको क्रममा कतिपटक जीवनको माया मार्नुभयो?
अनगिन्ती पटक जीवनको माया मारेँ, प्रत्येक पाइला नै जीवनको अन्तिम पाइला हुनसक्ने अवस्था थियो।  डोरीको भरमा हिँडेको मान्छे कतिबेला कुन खाडलमा पर्छ ठेगान हुँदैनथ्यो। सगरमाथाको यात्रा तय गर्नुभन्दा केही समयअघि देखि माया लागेर मैले मेरा छोराछोरी र श्रीमतीको फोटो हेरिन। परिवारको फोटो हेर्दा भावनात्मक रुपमा कमजोर हुन्थेँ।

यस्तो जोखिमपूर्ण यात्रा किन रोज्नुभएको?
मान्छे चुनौतीसँग खेल्न चाहन्छ। जहाँ जोखिम छ, त्यहाँ नै खेल्न चाहन्छ। त्यही भएर नै मान्छे अन्तरिक्षमा पुग्छ, मंगल ग्रहमा पुग्छ। समुन्द्रको खोँचमा छिर्छ। मान्छे अनौठो प्राणी हो जो खतरा र जोखिमसँग खेल्न मन पराउँछ। नेपालको पहिलो महिला सगरमाथा आरोही (पासाङ ल्हामु शेर्पा) नै हाम्रो छिमेकी हुनुहुन्थ्यो। उहाँको चर्चा सुन्दाखेरी र त्यतिबेलाको वातावरणले पनि सगरमाथा चढ्नैपर्छ भन्ने हुटहुटी र तृष्णा जागेको हो।

आरोहण गरेर फर्र्किपछि परिवार र शुभेच्छुकले कसरी खुसी व्यक्त गर्नुभयो?
खुसी हुनुभयो। बधाई दिनुभयो। म नफर्किएको भए,नआएको भए के हुन्थ्यो होला भनेर म बेलाबेला भक्कानिन्थेँ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?