नालापानीका निर्देशक भन्छन्- इतिहासमाथि चलचित्र बनाउन राज्यको सहयोग भएन

+
-

करिब तीन दशकदेखि नेपाली सिनेमा क्षेत्रमा सक्रिय रूपमा काम गर्दै आएका अभिनेता तथा निर्देशक रिमेश अधिकारी ‘कोतपर्व’ फिल्म निर्माणको तयारीमा छन् । हाल स्क्रिप्ट लेखन तथा कलाकार छनोटका क्रममा रहेका अधिकारी कोरसका नृत्य गर्दै निर्देशनसम्मको यात्रा सुरु गरिसकेका छन्। 

केही समयअगाडि अंग्रेजसँग लडेको युद्ध ‘नालापानी’माथि चलचित्र निर्माण तथा निर्देशन गरेका थिए। बक्स अफिसमा असफल रहेको नालापानीभन्दा अगाडि उनी प्रेम र सामाजिक विषयलाई आफ्नो चलचित्रको कथा बनाउँथे।

‘बसमा छैन यो मन’, ‘विरासत’, ‘तस्बिर’ जस्ता चलचित्रमा काम गरिसकेका अधिकारी ऐतिहासिक चलचित्र निर्माण गर्न नेपालमा कस्ता चुनौती छन् भन्ने विषय वरिपरि बसेर देश सञ्चारले गरको कुराकानीकाे सम्पादित अंश:

ऐतिहासिक विषयवस्तुमाथि चलचित्र निर्माण गर्ने सोंच अथवा रुचि कसरी जाग्यो ?

एउटा नागरिक भएको नाताले केही नयाँ काम गर्नुपर्छ भन्ने लागेर गरियो। भाषा, कला, पर्यटनजस्ता थुप्रै विषयवस्तु छन्, जसमा काम गर्ने रुचि हुन्छ तर मलाई भने इतिहासमाथि काम गर्न मन लाग्याे। इतिहासका विभिन्नकाल खण्डमा भएका घटनामा आधारित चलचित्र बनाउन पाए हुन्थ्यो भन्ने भयो। र सुरु गरें नालापानी। नालापानीपछि अहिले कोतपर्वको तयारीमा छु। डान्स र अभिनय त पहिलेदेखि नै गर्थें तर निर्देशनमा हात हाल्ने हो भने अलि फरक विषयमा काम गरौं भन्ने लाग्यो। अझ इतिहासमाथि त त्यति पढाइ पनि हुँदैन नेपालमा। यस्ता विषयलाई सिनेमामार्फत् ल्याउनुपर्छ भन्ने लागेर काम गरेको हुँ।

नालापानी जटिल इतिहास रहेको ऐतिहासिक कथा हो भन्ने हुन्छ, निर्देशकको नाताले कति अध्ययन गर्नु भयो?

करिब तीन वर्ष यसमा खोज तथा अनुसन्धान गरियो। ६ महिना त म नालापानी नै गएर बसें। डाक्टर धनबहादुर कुँवर, जो बलभद्र कुँवर प्रतिष्ठानका अध्यक्ष पनि हुनुहुन्छ। डाक्टर प्रेमसिंह बस्नेत, डाक्टर त्रिरत्न मानान्धर, डा. सुरेन्द्र केसी, इतिहासविद् दिनेशराज पन्त सरसँग सुरुदेखि नै रहेँ। सिके। उहाँहरूले सघाउनु पनि भयाे। नालापानी गर्विलो इतिहास हो। महिला बालबालिका र ढुंगामुडाले लडेको युद्ध हो। त्यसैले गम्भीर भएर काम गर्नुपर्थ्याे। इतिहासमाथि खेलवाड गर्नु हुँदैन भन्ने लागेर गम्भीर भएरै काम गरेकाे हुँ।

अक्षरमा इतिहास पढ्नु र सिनेमामा हेर्नु फरक विषय हो। तपाईंलाई नालापानीको इतिहासलाई सिनेमामा कति न्याय गरेँ भन्ने लाग्छ?

इतिहासलाई मैले बंगाउने गरेको छैन। जे छ, त्यही देखाउने कोसिस गरेको छु। मेकिङको हिसाबले भने अलि कमजोर भए झैं लाग्छ। यसमा मैले तीन सिनेमा बन्ने पैसा खर्च गरेको छु। आफूले दिनसक्ने कोसिस गरेको छु। प्राविधिक हिसाबले केही कमजोरी भएका होलान्। अब इतिहासजस्ता विषयमा चलचित्र बनाउन सरकारले सहयोग गरेन। यो छुट्टै विषय हो। सबैले कन्सेप्ट लिएर आए भने यो त हाम्रो पनि इतिहास हो भनेर केही गर्नुपर्थ्याे, गरिएन। पोस्टमा गएपछि केही प्राविधिक पक्ष कमजोर भयो। र केही कमजोरीलाई म स्वीकार्छु पनि। नैतिक जिम्मेवारी रहन्छ मेरो। म आफ्नो कमजोरी खुलेर भन्न चाहन्छु। मेकिङको प्रक्रियामा हामीबाट केही कमजोरी भएका छन्।

इतिहासमाथि सिनेमा बनाउन भनेजस्तो बजेट पाइँदैन। बजेट भए भनेजस्तो मेकिङ हुँदैन। दर्शकलाई इतिहासमा बनेका फिल्मबाट चित्त बुझाउन पनि सकिँदैन। के साँच्चै सिनेमा मेकरको कमजोरी हो?

नालापानीको कुरा गर्दा मेरो टीम बलियो भएन। कमजोर टीमले कमजोर सिनेमा न बनाउने हो। गाह्रो हुन्छ पनि। भनेजस्तो सफलता पाएन नालापानीले तर अहिले म स्कुलमा देखाइरहेकाे छु। सबैले मन पराइदिनु भएको छ। इतिहास पढाउनेले पनि बुझ्नु भएको छ। टेक्निकल मिस्टेक छ, म स्वीकार्छु। इतिहासमाथि बनेको सिनेमा किन चल्दैन भन्ने पहिलो त टीमको कारण, दोस्रो राज्यको कारण, तेस्रो समयका कारण। राज्यले गर्ने काम हामी निजी स्तरबाट गरेका छौं। सोचेजस्तो बनेनन् त, बनेनन्।

नालापानी सफल भएन। अथवा दर्शक पाएन। अब अर्को कोतपर्वमाथि काम गर्दै हुनुुहुन्छ? यो चाहिं सस्तो चर्चाका लागि हो कि इतिहासमाथि फिल्म बनाउन हौसिएको मात्र हो?

स्क्यान्डलका लागि होइन। यत्रो लगानी कोही स्क्यान्डलका लागि काम गर्दैन। राष्ट्रको जिम्मेवारी नागरिकका हिसाबले किताबमा पढिरहेको विषयलाई फिल्ममा पनि हेर्न पाइयोस् र संसारले हेरोस् भन्ने हो। युट्युबबाट आउँछ, टिभीबाट आउँछ। दर्शक अब सिनेमा हल मात्रै होइन, ओटिटीमार्फत् पनि फिल्म हेर्छन्। अन्य माध्यम पनि भएकाले म काम गर्न हौसिएको हुँ।

कोतपर्वको अध्ययन अनुसन्धान गर्न कति समय लगाउनु भयो?

अनुसन्धान गर्न लागेको तीन वर्ष भयो।

यस्तो गम्भीर विषयलाई तीन वर्षको अध्ययन अनुसन्धानले सम्भव छ?

तीन वर्षमा कति घण्टा दिने भन्ने कुरा पनि हुन्छ। हामीले एक-दुई घन्टा होइन, पूरा दिन लगाएका छौँ। जब मैले कोतपर्व बनाउन सुरु गरेँ अन्य कुनै पनि काम गरिनँ। तीन वर्षमा त डिग्री नै गरिन्छ नि होइन?

राज्यको सहयोग नपाउँदा पनि ऐतिहासिक विषयमा फिल्म बनाउन सकिन्छ?

मैले नालापानी फिल्म बनाउँदा सिनेमा क्षेत्रसँग सम्बन्धित मन्त्रालयहरू धाएँ। तर सहयोग भएन। सोचेजस्तो सान्त्वना पनि पाइएन। चलचित्र विकास बोर्डले त कि स्वयत्त बनाउनु पर्छ कि खारेज गर्नुपर्छ भन्याे। विकास बोर्डको काम त सिनेमा निर्माणका लागि इजाजत दिने र हिन्दी सिनेमाबाट कर उठाउने मात्र भएको छ। सेन्सर सिफारिस गर्ने भएको छ। अब त्यति काम गर्नका लागि त सञ्चार मन्त्रालयमा दुईवटा रुम थपेर राखिदिए हुन्छ नि। त्यत्रो बजेट किन विकास बोर्डलाई? के नीतिगत भ्रष्टाचार गर्नलाई हो? निर्माता संघ, निर्देशक संघ र प्राविधिक संघ छन् जेजे छन्, तिनीहरूले केही काम पनि गर्न सकेका छैनन्।

इतिहासमाथि फिल्म बनाउने छविको निर्देशक बन्न खोज्नु भएको हो ?

आफूले जानेको काम न गर्ने हो। र मैले कोसिस गरिरहेको छु।

इतिहास पढ्नु भएको त होइन नि?

होइन।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?