पोखरा – आदिकवि भानुभक्त आचार्यको साहित्यिक वाङ्मयको रुझान तनहुँको चुँदी रम्घादेखि भारतको सिक्किम, बर्मा हुँदै विश्वभर रहेका नेपालीभाषीमाझ छ। गण्डकी प्रदेश सरकारले त उनको जन्मजयन्त्तीलाई विशेष महत्व दिँदै शुक्रबार सार्वजनिक बिदा नै दियो।
जन्मजयन्त्तीमा नेपालमा मात्रै होइन नेपाली भाषी रहेका विश्वका कुनाकाप्चामा उनलाई सम्झिँदै साहित्यक कार्यक्रम हुन्छन्। कर्मकाण्डी भए पनि एक दिन आदिकवि भानुभक्त आचार्यको चर्चा परिचर्चा हुन्छ। पोखरेली साहित्यप्रेमीले पनि भानुभक्तको व्यक्तित्व र कृतित्वको चर्चा गर्दै सम्झिएका छन्। भानु वाङ्मय प्रतिष्ठान र पोखरा प्रज्ञा प्रतिष्ठानले पोखरामा भानु जन्मजयन्त्तीमा विशेष कार्यक्रम गरेको हो। भानु जयन्तीमा साँस्कृतिक र्याली निकालियो। चिप्लेढुंगाको मानवअधिकार चोकबाट पोखरेली साहित्यप्रेमी बाजागाजासहित फूलबारीको भानु पार्कमा पुगे।
भानुपार्कमा रहेको आदिकवि भानुभक्त आचार्यको पूर्णकदको शालिकमा माल्यार्पण गरे, पृष्ठभूमिमा शालिक राखेर तस्बिर खिचाए। भानुभक्तीय रचनामार्फत उनलाई सम्झिए पनि।
भानुभक्तले साहित्यमा मात्रै नभएर नेपाली भाषिक एकतामा खेलेको भूमिकाको विशेष चर्चा गरियो। पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले भानुभक्त नेपालीभाषीको एकताको प्रतीक भएको बताए। भानुभक्तको योगदानको जति चर्चा हुनुपर्ने हो त्यति हुन नसकेको उनको भनाइ छ।
‘आज संसारका अधिकांश देशमा नेपाली भाषा बोल्नेहरुको संख्या थुप्रै छ। हामी नेपालीका लागि एकताको प्रतीकको रुपमा आदिकवि भानुभक्त हुनुहन्छ’, मेयर आचार्यले भने।
उनले थपे, ‘हामी भारतका विभिन्न सहरमा गयौं भने त्यहाँ भानुभक्तको नाममा नै राष्ट्रिय एकता नेपालीभाषीमा देख्छौं। त्यहाँ जाँदा नेपालमा बस्नेहरुले अलि ध्यान पुर्याउन सकेनौं कि भन्ने हुन्छ।’
मेयर आचार्यले पोखराको साहित्यिक पर्यटनका लागि विशाल भानुभक्तको मूर्ति बनाउने योजना महानगरले अगाडि सारेको जानकारी दिए।
भानु वाङ्मय प्रतिष्ठानका अध्यक्षसमेत रहेका प्राज्ञ सरुभक्त नेपाली साहित्यको आधुनिक रुपको प्रबद्र्धकको रुपमा सम्झन्छन्। ‘जुन समयमा संस्कृति भाषाको दबदबा थियो र नेपाली भाषाको ठोस रुप बनिसकेको थिएन। त्यस समयमा जनताले बोल्ने भाषामा लालित्यपूर्वक उहाँले रामायण लगायत अनेक कविताको रचना गर्नुभो’, उनले भने, ‘ति रचनाले जसरी जनमानसलाई सदियौंदेखि प्रभावित पार्दै आएको छ।’
नेपाल बाहिर पनि भानुभक्त एकताको प्रतीकको भूमिका खेलेको सरुभक्तले बताए। उनले थपे, ‘त्यसले नेपाली साहित्यको महत्व राष्ट्रिय परिदृश्यमा साहित्यको महत्व बुझाएको छ।’ भाषा मात्र नभएर जनताको बीचमा पनि भानुभक्तले एकताको उदय गराएको उनी बताउँछन्।
पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकालले नेपालीलाई भाषिक र भावनात्मक रुपमा भानुभक्तले एक बनाएको बताए। ‘वास्तवमा हामीले जति सम्मान गर्नुपर्ने नभइरहेको अनुभूति हुन्छ’, उनले भने, ‘सिक्किम राज्य सरकारले करोडौं रुपैयाँ भानु जयन्त्तीका लागि छुट्याउँछ। वर्षभरि भानुलाई सम्झेर विभिन्न कार्यक्रम गर्छ। हामीले त थोरै मात्रै काम र कार्यक्रम गरेका छौं।’
पृथ्वीनारायण क्याम्पसका नेपाली विभाग प्रमुख प्रध्यापक डाक्टर कुसुमाकर न्यौपानेले नेपाली भाषामाथिको भ्रष्टचार अन्त्य गर्नुपर्ने बताए। भानु जयन्तीको दिनबाट नेपाली भाषामा त्रुटि सच्चाउन संकल्प गर्नुपर्नेमा उनको जोड छ।
भाषिक त्रुटि सच्याउन सके भानुभक्तको आत्माले शान्ति पाउने उनको भनाइ छ। प्रा.डा. न्यौपानेले भने, ‘आज हामीले संकल्प गरौं आजका दिनदेखि कहीं भाषिक त्रुटि गर्नेछैनौं। सचेत बनौं। यसले राष्ट्रको लागि पोखराबाट एउटा मिठो सन्देश दिन्छ।’
विंस १८७१ आषाढ २९ गते तनहुँको चुँदी रम्घामा जन्मिएका आदिकवि भानुभक्त आचार्यले रामायणलाई नेपाली जनमानसले बुझ्ने गरी सरल नेपाली भाषामा उल्था गरेर नेपाली साहित्यले बिर्सनै नसक्ने गुन लगाएका छन्। १९१० सालमा लेखेको ‘भानुभक्तीय रामायण’ महाकाव्यले उनको आफ्नै काव्यिक उचाइलाई बढायो। भानुभक्तले ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘वधूशिक्षा’ लगायतका महत्वपूर्ण कृतिसँगै फुटकर रचना नेपाली साहित्यलाई उपहार छाडेका छन्।
नेपाली साहित्य र भाषाका धरोहर आदिकवि भानुभक्त आचार्य विंसं १९२५ असोज ६ गते भौतिक रुपमा यो संसारबाट विदा भए। उनका कृतिहरु भने अजरअमर छन्। उनको योगदानको चर्चा केबल जन्मजयन्त्तीमा मात्रै गरेर पुग्दैन्, राज्यसँगै साहित्यक संघसंस्थाले सोच्न जरुरी छ।