
सिमकोट – दक्षिणी क्षेत्रको ताँजाकोट गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनाका गाउँगाउँमा परिचालन भएका स्वास्थ्य स्वयंसेविकाहरूसँगको समीक्षा कार्यक्रम सम्पन्न भएको छ। वर्षभरि सेवा गरेको कामको लेखाजोखा गर्दै समीक्षा कार्यक्रम गरिएको हो।
स्वास्थ्य शाखाका संयोजक धनराज ढकालले गाउँपालिकाका पाँच वटै वडामा छनोट भई परिचालन भएका स्वास्थ्य स्वयं सेविकासँगको समीक्षा कार्यक्रम सम्पन्न भएको बताए।
समीक्षा कार्यक्रममा सेविकाले गरेको कामको प्रगतिमाथि पनि छलफल भएको थियो। उनले सेविकाले गाउँगाउँमा काम गर्दा भोगेको समस्या, बाधा अड्चनबारे छलफल भएको आगामी दिनमा ती समस्या कसरी समाधान गर्ने भन्ने विषयमा छलफल भएको बताए।
यसले गर्दा नयाँ आर्थिक वर्षमा काम गर्दा प्रभावकारिता आउने विश्वास शाखाले लिएको छ। कार्यक्रममा सहभागी वर्षभरिको उत्कृष्ट स्वयंसेविका छनोट भएकी नानीमैया बुढाले समीक्षाले आगामी दिनमा काम गर्न सहज हुने बताइन्।
काम गर्दा भोगेको समस्या स्पष्ट राखेको र त्यसलाई समाधान गर्ने आश्वासन पाएको उनले बताइन्। उक्त गाउँपालिकामा २२ जना सेविकालाई छनोट गरेर भर्ना गरिएको छ। कार्यक्रममा सेविकाका साथै अन्य सरोकारवाला पक्षको समेत सहभागिता थियो।