
झापा- झापाको कनकाई नगरपालिकाले सोमबारदेखि सुर्तीजन्य पदार्थको बिक्री तथा उपभोगमा प्रतिबन्ध लगाएको छ।
करिब डेढ महिनाअघि नै नगरसभाले निर्णय गरेर आजदेखि उक्त नियम नगरपालिकाले लागू गरेको हो।
सार्वजनिक क्षेत्रमा सुर्तीजन्य पदार्थको बिक्रीवितरण तथा प्रयोगमा आजदेखि प्रतिबन्ध लगाएको नगरपालिकाद्वारा जारी सूचनामा जनाइएको छ।
नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले ऐन नै बनाएर सुर्तीजन्य पदार्थको बिक्री तथा उपभोगमा लगाइएको प्रतिबन्धको कार्यान्वयनका लागि नगरबासीसंग आग्रह गरेका छन्।
नगरबासीको स्वास्थ्य तथा नगरको फोहोर व्यवस्थापनमा प्रतिबन्धको ऐनको कार्यान्वयनले सहयोग पुग्ने नगरप्रमुख पोखरेलको भनाइ छ ।
नगरपालिकाले आजदेखि कसैले नगर क्षेत्रमा सुर्तीजन्य पदार्थको बिक्रीवितरण तथा प्रयोग गरे नगरको ऐनबमोजिम बिक्री वितरणकर्तालाई अधिकतम ५० हजार रुपैयाँ जरिवाना गरिने जनाएको छ।
उपभोग गर्नेलाई पनि अधिकतम ५ हजार रुपैयाँ जरिवाना नगरपालिकाले तोकेको छ।