
काठमाडौं- ललिता निवास जग्गा प्रकरणमा मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा पुनः पक्राउ परेका छन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गत असार १२ गते देउजालाई पक्राउ गरेर छाडेको थियो। सो दिन पक्राउ परेका तीनसहित १७ जनालाई पक्राउ गर्न मिल्नेगरी सर्वोच्च अदालतले शुक्रबार आदेश दिएसँगै देउजालाई पुन: पक्राउ गरिएको सीआईबीका एसएसपी दिनेश आचार्यले बताएका छन्। देउजा २०४९ सालमा मालपोत कार्यालयका प्रमुख थिए।
उनीहरूलाई पक्राउ नगर्न २०७९ साउन १९ गते न्यायाधीश ईश्वरप्रसाद खतिवडाले दिएको अन्तरिम आदेश शुक्रबार खारेज भएको हो। यसअघि अख्तियारले भ्रष्टाचारको मुद्दा चलाएकासहित ४ सय ६ जनालाई पक्राउ गर्न प्रहरीले अनुमति लिइसकेको छ। सीआईबीले अहिले उनीहरुविरुद्ध कीर्ते र संगठित अपराधको कसुरमा म्याद लिएर अनुसन्धान अगाडि बढाएको छ।