
काठमाडौं- काठमाडौंको ठमेलस्थित क्लब ओम्नियामा सञ्चालक राजेन्द्र गुरुङसहित अन्य कर्मचारीहरुलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका ६ जना छुटेका छन् ।
पक्राउ परेका ७ जनामध्ये ६ जना छुटेका हुन्। जिल्ला प्रशासन कार्यालय, काठमाडौंले रघु तामाङ, विनोद तामाङ, कमल तामाङ, निरु भनिने निरज गुरुङ, विश्व तामाङ र बिक्रम अधिकारीलाई ८ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।
आदेशपछि उनीहरुलाई छाडिएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ। पक्राउ परेकामध्ये सानुभाइ भनिने युवराज गुरुङ भने अभद्र व्यवहारमा पटक-पटक पक्राउ परिसकेको व्यक्ति भएकाले उनको मुद्दा भने जिल्ला अदालतमा नै पेश हुनेछ ।
असार १५ गते युवराज गुरुङको समूहले क्लब ओम्नियामा प्रवेश गरेर सञ्चालक राजेन्द्र गुरुङ र बाउन्सरलाई कुटपिट गरेको भिडियो सार्वजनिक भएको थियो। भिडियो सार्वजनिक भएसँगै उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। युवराज र क्लब सञ्चालकबीच लेनदेनको कारोबार रहेको खुलेको छ।