
पोखरा – निर्वाचित हुने पक्का भइसकेपछि मेयर धनराज आचार्यले सबैभन्दा पहिले समस्या समाधान गर्ने गरी अर्जुनदृष्टि लगाएको विषय नै फोहोर व्यवस्थापन थियो। मेयर निर्वाचित भएको ८ महिनासम्म सबैभन्दा ठूलो टाउको दुखाइ र व्यवस्थापनका लागि भन्दै देशविदेश धाएर बल्ल पोखरा–३२ लामेआहालस्थित सेती नदी किनारमा ल्याण्डफिल साइटको अस्थायी टुंगो लागेको घोषणा नै गरेका थिए।
फोहोर व्यवस्थानको अस्थायी टुंगो लागेसँगै पुस १७ गते पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा त आयो तर मेयर आचार्य दीर्घकालीन रुपमा समाधान गर्न चुक्दा पटक–पटक महानगरलाई गिज्याउने गरी फोहोर नउठ्ने नियति पोखराले भोगिरहेको छ।
बुधबारदेखि पोखरामा फेरि फोहोर उठ्न सकेको छैन। सडकमै फोहोरको थुप्रोले पोखरालाई नै दुर्गन्धित बनाइरहेको छ। पोखरामा फोहोर नउठेको यो पहिलो पटक होइन। महानगरले ल्यान्डफिलसाइटमा फोहोर पुर्न प्रयोग गरेको एक्साभेटरमा हालेको इन्धनको रकम नदिएपछि जेठ अन्तिम साता पनि सडकमा यसैगरी फोहोर थुप्रिएको थियो। अहिलेसम्म पाँचौं पटक फोहोर उठ्न नसकेको हो।
यसपटक पोखराको अस्थायी ल्यान्डफिल साइट रहेको पोखरा–३२ लामेआहालका स्थानीयले महानगरले गरेको सम्झौता कार्यन्वयन नगरेको भन्दै फोहोर विसर्जनमा अवरोध गरेका हुन्। ल्यान्डफिलको दुर्गन्धले आजित भएको लामोआहालका इच्छा गुरुङले बताए।
‘हाम्रो माग यहाँ फोहोर ल्याउनै भएन। सरकारी काम भनेको त हाम्ले बुझिरहेको काम हो। जे भन्छ त्यो गर्दै गर्दैन। त्यहाँबाट फोहोर पनि छान्न नपाउने भन्ने नियम हो तर त्यहाँबाट फोहोर पनि छानिरहेको छ’, उनले भने। दिनदिनै पुर्नपर्ने सम्झौता पनि कार्यन्वयन नभएको उनले बताए।
लामेआहाल राधाकृष्ण मन्दिरभन्दा तल सेती नदीमा झरेको पहिरो रोकिने आशले फोहोर फाल्न दिएको गुरुङ बताउँछन्। तर, पहिरो नियन्त्रणको काम पनि अपेक्षाकृत नभएको उनको भनाइ छ।
महानगरको फोहोर उठाउने ठेक्का पाएका कम्पनीका गाडी बाटैभरि फोहोर छिरल्दै आउजाउ गर्ने एक स्थानीयले बताइन्। ‘फोहोर बाटोमा नफाल भनेर भनिसाध्य छैन उल्टै थर्काउछन्’, उनले भनिन्, ‘हावा चल्दा बस्तीभरि प्लाष्टिक उडेर आउँछ। गर्मी बढेपछि गन्हाएर बस्न सकिँदैन।’ ल्यान्डफिल साइटदेखि बस्तीसम्म झिंगा र माखाले बसीखप्नु नभएको उनले सुनाइन्।
लामेआहालमा पुसदेखि ६ महिनासम्म मात्र फोहोर फाल्ने सम्झौता महानगरले गरेको हो। सम्झौता गरेको म्याद सकिएको छ। महानगरले यसअघि पोखरा–१४, बाच्छेबुडुवामा फोहोर फाल्दै आएको थियो। चाउथेमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि बाच्छेबुडुवाकोे ल्यान्डफिल साइट सार्नैपर्ने बाध्यता आइलाग्यो।
सरसफाइ शाखाका अनुसार हाल पोखरा महानगरबाट दैनिक २०० टन फोहोर उठ्छ। ४ दिनदेखि फोहोर उठ्न नसकेपछि मेयर धनराज आचार्यले फेसबुकमा स्टाटस लेख्दै डेंगुको संक्रमण बढेकाले सडकमा नफाल्न अनुरोध गरेका छन्।
‘अस्थायी ल्याण्डफिल्ड साइटमा फोहर लैजान केही अवरोध भएकोले विगत ४ दिनदेखि फोहोर उठाउन सकिएको छैन, हामी संवादमा छौँ। डेंगु बढिरहेको अवस्थामा फोहर उठाउन नपाउँदा हामी अत्यन्त दुःखी छौँ’, उनले भनेका छन्, ‘आशा गरौँ छिटोभन्दा छिटो समस्या सामाधान हुनेछ। फोहोर उठाउने गाडी नआउदासम्म प्रतीक्षा गरौँ। कृपया सडकमा फोहर नफालौँ।’
ल्यान्डफिल साइट अवलोकनमा पुगेका मेयर आचार्यले फोहोर वर्गीकरण गर्ने अनुमति कसैलाई नदिएको बताएका थिए। पोखरा महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएपछि धनराज अचार्यले घोषणापत्रमा मिति नै तोकेर ६ महिनाभित्र वेस्ट बैंकमार्फत फोहोर खरिद गर्ने प्रणाली सुरु गर्ने उल्लेख गरेका थिए। तर, उनको वाचा कार्यकाल सम्हालेको १४ महिनासम्म पनि पूरा हुन सकेको छैन।
महानगरपालिकाले पोखरा–३३ उपल्लो पुँडीटारको झाँक्रीखोलामा ९६ रोपनी क्षेत्रफलमा फोहोरमैला प्रशोधन केन्द्र बनाउन जग्गा पाएको छ। जग्गा प्राप्तिका लागि संघीय सरकारको मन्त्रीपरिषद्ले स्वीकृतिसमेत दिएको छ। जग्गा बैना भइसेकेको चर्चा गरिए पनि जग्गा रोक्का मात्रै भएको पोखरा–३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीले बताए। जग्गा प्राप्तिमा जिल्ला प्रशासन कार्यालयबाट निर्णय हुनुपर्नेमा ढिलाइ हुँदा ल्यान्डफिल साइटको काम ढिलो भइरहेको उनको भनाइ छ।
महानगर प्रवक्ता मोतिलाल तिम्सिना भने स्थायी ल्यान्डफिल साइट(प्रशोधन केन्द्र) को काम तीव्र गतिमा भइरहेको दाबी गर्छन्। ‘स्थायी ल्यान्डफिल साइटको प्रक्रिया तिब्र गतिमा अगाडि बढिरहेको छ। जग्गा प्राप्तिको प्रक्रियामा छौँ। आशायपत्र पनि हाम्ले निकालिसकेका छौँ’, उनले भने। उनले आइतबारदेखि फोहोर उठ्ने जानकारी दिएका छन्।
पोखरा महानगरले ल्यान्डफिल साइट सट्टा प्रशोधन केन्द्र बनाउनेछ। अन्तर्राष्ट्रिय टेन्डर भइसकेको महानगरले जनाएको छ। प्रशोधन केन्द्र सञ्चालनका लागि ग्लोबल टेन्डर आह्वान गरेको ५ कम्पनीले प्रस्ताव गरेका थिए। त्यसमध्ये ३ कम्पनी छानिएका छन्।
निर्माण कम्पनी छनोट भएपछि एक वर्षमा प्रशोधन केन्द्र तयार गर्ने दाबी छ। महानगरले सार्वजनिक निजी साझेदारी (सानिसा) मोडेलमा प्रशोधन केन्द्र बनाउन लागेको हो।
पोखरा महानगरपालिकाको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा फोहोरमैलालाई स्रोतमै वर्गीकरण, पुनर्प्रयोग, प्रशोधन गर्ने अवधारणासहित पिपिपी मोडलमा अत्याधुनिक फोहोर प्रशोधन केन्द्र स्थापना र सञ्चालन गर्ने उल्लेख गरेको छ।
गत वर्ष पनि नीति तथा कार्यक्रममा फोहोरलाई स्रोतमै वर्गीकरण गरेर उद्यमशीलता, उर्जा र हरित व्यवसायसँग जोड्ने, सेनेटरी ल्यान्डफिल साइटको निर्माण अघि बढाउने उल्लेख थियो। कार्यन्वयन भएन।
चालु वर्षको बजेट भाषणमा उपमेयर मञ्जुदेवी गुरुङले पोखरा–३३ मा जग्गा प्राप्ति प्रक्रियामा रहेको अत्याधुनिक फोहोरमैला निर्माण कार्य थालनी लागि आवश्यक सबै प्रक्रिया पूरा गर्ने बताइन्। पोखरा–३२ लामेआहालको अस्थायी ल्यान्डफिल साइट सुधारका लागि आवश्यक बजेट विनियोजनसमेत भएको छ।
बजेट,नीति तथा कार्यक्रममा उल्लेख भएअनुसार काम नहुँदा फोहोर व्यवस्थापन पोखरा महानगरपालिकाको टाउको दुखाइको विषय बनिरहेको छ।