
काठमाडौँ – लघुवित्त पीडितहरुले लघुवित्त संस्थाहरुलाई कारबाहीको माग गर्दै काठमाडौँमा प्रदर्शन गरेका छन्।
उनीहरुले विभिन्न माग राखेर आइतबार माइतीघर मण्डलादेखि भद्रकालीसम्म र्याली निकाल्दै विरोध प्रदर्शन गरेका हुन्। लघुवित्तीय संस्थाविरुद्धको संघर्ष समितिको आयोजनामा प्रदर्शन गरिएको हो।
उनीहरुले लघुवित्त संस्थाहरु खारेज गर्नुपर्ने, लघुवित्तहरुले लगाएको ऋण मिनाह गर्नुपर्ने, गरिब किसानहरुलाई निःशुल्क प्रदान गर्नुपर्नेलगायतका माग राखेका छन्।
यसैबीच लघुवित्त पीडितहरुले सरकारसँग वार्ता गर्न रमेश तामाङको संयोजकत्वमा ६ सदस्यीय वार्ता टोलीसमेत गठन गरेका छन्। उक्त टोली वार्ताका लागि सिंहदरबार गएको छ। गत असार २९ गतेदेखि लघुवित्त पीडितहरुका केन्द्रीय अध्यक्ष मणिराम ज्ञवाली माइतीघर मण्डलामा आमरण अनशन बसिरहेका छन्।