
बुटवल – बुटवलमा सरसफाइ तथा वृक्षरोपण अभियान सुरु भएको छ। साउन १५ गते सोमबारदेखि ४५ दिनसम्म चल्ने अभियानको बुटवल योगीकुटीमा वृक्षरोपण र सरसफाइ गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले शुभारम्भ गरे।
अभियानअन्तर्गत मुख्य सडकका डिभाइडरमा बिरुवा रोप्ने र सडक क्षेत्रको सरसफाइ गर्ने उनले बताए। उनले बुटवललाई सफा, सुन्दर र हरियाली शहरका रुपमा स्थापित गर्नका लागि चालु अर्थिक वर्षमा उज्यालो बुटवल अभियानअन्तर्गत मुख्य सडक क्षेत्रमा उच्च क्षमताका बत्ति जडान गर्ने, मुख्य सडक क्षेत्रलाई हरियाली बनाउने र भित्री सडकहरुलाई समेत उज्यालो बनाउँदै रात्रिकालीन बजार सञ्चालन गर्ने योजना रहेको बताए।
‘यो वर्ष हामीले बुटवललाई हरियाली, सफा र सुन्दर बुटवल बनाउने काम थालेका छौँ,’ उनले भने, ‘साथसाथै उज्यालो बुटवल कार्यक्रमअन्तर्गत मुख्य सडक, भित्री सडक र सार्वजनिक स्थलहरुमा उच्च क्षमताका बत्तिहरु जडान गर्नेछौँ।’
उनले बुटवललाई उज्यालो, हरियाली, सफा र सुन्दर शहर बनाउँदै उपयुक्त पर्यटकीय विश्रामस्थलका रुपमा स्थापित गर्ने गरी योजना अगाडि बढाएको बताए। सोमबार सुरु भएको नगरस्तरीय अभियान मुख्य सडक, भित्री सडक, खोलानाला र सार्वजनिकस्थलहरु सरसफाइका लागि प्रत्येक महिना नियमित रुपमा सञ्चालन हुने प्रमुख पाण्डेयले बताए।
उनले हरियाली र उज्यालो शहर बनाउन चालु आर्थिक वर्ष २०८०/०८१ का लागि पर्याप्त बजेट विनियोजन गरेको बताए। बुटवलले चालु आर्थिक वर्षमा उज्यालो बुटवल कार्यक्रम अन्तरगत विद्युतीकरण, सडक बत्ती र सौन्दर्यीकरणका लागि १ करोड ९० लाख रुपैयाँ विनियोजन गरेको छ भने एक घर तीन रुख कार्यक्रमका लागि १२ लाख रुपैयाँ विनियोजन गरेको छ। यस्तै, रात्रीकालीन बजार सञ्चालन व्यवस्थापनका लागि १० लाख रुपैयाँ विनियोजन गरेको छ।
नगर प्रमुख पाण्डेयका अनुसार मुख्य सडक क्षेत्रलाई सफा र सुन्दर बनाउनका लागि विभिन्न प्रजातिका फूल र बिरुवा रोपिने छ। अभियानका क्रममा मुख्य सडकको डिभाइडरमा बेगम बेली १ हजार, क्यालियान्ड्रा, हेमिलिया, करबिर, इक्जोराका ३–३ सय बिरुवा रोपिने छ। त्यसबाहेक अन्य क्षेत्रमा गुलमोहरका १ सय बिरुवा रोप्ने र अन्य क्षेत्रमा फूल र फलफूलका बिरुवा रोप्ने कार्यक्रम रहेको उपप्रमुख सावित्रादेवी अर्यालले बताइन्।
नगरस्तरीय अभियानबाहेक वडास्तरमा प्रत्येक शनिबार र आवश्यकताअनुसार अभियानकै रुपमा सञ्चालन हुने उनको भनाइ छ। साउन १५ गते योगीकुटीबाट सुरु भएको अभियानअन्तर्गत पहिलो दिन योगीकुटीदेखि होराइजन चोकसम्म, १६ र १७ गते होराइजन चोकदेखि भुड्की चोकसम्म, १८ र १९ गते भुड्की चोकदेखि ट्राफिक चोकसम्म, २१ गते देखि २३ गतेसम्म ट्राफिक चोकदेखि गोलपार्कसम्म सरसफाइ गर्दै वृक्षरोपण गरिने प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बताए।
यस्तै, २५ र २६ गते गोलपार्कदेखि चिडियाचौकीसम्म, २८ र १९ गते अस्पताल चोक प्रहरीदेखि तिनाउ पुलसम्म र भदौ १ गतेदेखि भदौ मसान्तसम्म योगीकुटीदेखि चिडियाचौकीसम्म नियमित सरसफाइ तथा विरुवा संरक्षण, सौन्दर्यीकरण गर्दै बाँकी क्षेत्रमा अभियान सञ्चालन गरिने उनले बताए।
सरसफाइ तथा वृक्षरोपणका लागि बुटवल उपमहानगरका जनप्रतिनिधि, कर्मचारी, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी, सामाजिक संघसंस्थाहरु, राजनीतिक दल, स्वयमसेवी संस्थाहरु, क्लबहरुलाई आह्वान गरिएको उनले बताए।