
पोखरा – हरियाली वातावरणमा खुलेको पोखराको मौसम। माछापुच्छ्रे हिमालले बादलको बर्को ओडेको थियो।
निलो आकाशमा छरिएका बादलका टुक्राले रोमाञ्चक दृश्य। यही रोमाञ्चक दृश्यमा चाँदनी शर्माले मान्द्रेढुंगाबाट प्याराग्लाइडिङको उडान भरिन्। पहिलो पटक हावामा उड्दै धर्तीभन्दा माथि बादलसँगै सयर गर्ने मौका थियो उनको।
कुनै दिन हावामा कावा खाँदै पोखराको आकाशमा फन्को मारुँला, उनको कल्पनाभन्दा दूर थियो। तर, सोमबार दिउँसो प्याराग्लाइडिङको पहिलो अनुभव बटुलिन्।
‘यो आकाशमा उड्ने कुरा कस्तो होला भन्ने लाग्थ्यो। इम्याजिन नै थिएन। आज नयाँ अनुभव गर्न पाएँ, एकदमै खुशी छु’, पामेको हर्पनखोला किनारमा ल्यान्ड गरेपछि उनले अनुभव साटिन्।

प्याराग्लाइडिङ ल्यान्ड गरेपछि चाँदनी शर्मा प्यारा पाइलट राम गौतको साथमा। तस्बिरः विनोद ढुंगाना/देशसञ्चार
बाग्लुङ जैमिनीकी चाँदनी ब्लाइन्ड रक्सले दृष्टिविहीनलाई प्याराग्लाइडिङ गराउँदैछ भन्नेबारे जानकार थिइन्। तर, आफैंले गर्न पाउने आइतबार मात्रै टुंगो लाग्यो। त्यसपछि उनको उत्साहको उचाइ बादलभन्दा माथि पुग्यो।
‘प्याराग्लाइडिङ गर्ने भनेपछि ए… आकाशमाथि कस्तो होला भन्ने थियो। आफूले त नदेखेपछि आकाशमा के हुन्छ होला भन्ने थियो,’ चाँदनीले भनिन्, ‘प्याराग्लाइडिङ गर्दा नर्मल्ली गाडीमा यात्रा गर्दाखेरी सिटमा बस्दाको फिलिङ्सजस्तै हुने रहेछ। त्यो फ्रेस हावा फिल गर्न पाइयो।’
प्याराग्लाइडिङको मज्जा लिन दृष्टिविहीन सबैलाई चाँदनीले सुझाइन्। ‘हाम्रो समाजले दृष्टिविहीनलाई हेर्ने दृष्टिकोण फरक नै छ। केही गर्न सक्दैनन् भन्ने सोचाइ छ। अनुभव सबै कुराको लिनुपर्छ साथीहरु। एकपटक प्याराग्लाइडिङ गर्नुहोला’, उनको सुझाव छ।
काठमाडौँ अन्तर्राष्ट्रिय विमानस्थलमा टेलिफोन अपरेटरको रुपमा कार्यरत सुनिता दवाडी प्याराग्लाइडिङको मज्जा लिन आइतबार पोखरा आइन्। उनलाई पोखरा आएपछि मौसमले साथ नदेला कि चिन्ता सतायो। सोमबार उनको समूहलाई आकाशमा उड्न मौसमले बादलको टुक्रा बिछ्याएर साथ दियो।
‘धेरै जनाको धेरै थरी कुरा सुनियो तर के होला? कस्तो होला? लाग्यो। उड्ने बेलासम्म पनि सहज हुन्छ कि हुँदैन भन्ने थियो। सबैको सपोर्टले एकदमै राम्रो भयो’, फुरुगं हुँदै उनले भनिन्, ‘आकाशमा त एकदम रमाइलो भयो। जब हावाको प्रेसरले माथि गा’को पनि ठ्याक्कै थाहा हुने। डिरेक्सन चेन्ज भाको पनि थाहा भो। सनिस पाइलटसँग गफ गर्दै उडेँ, एकदम रमाईलो भो।’

प्याराग्लाइडिङमा उड्दै ब्लाइन्ड रक्सकी संस्थापक अध्यक्ष सृष्टि केसी। तस्बिरः विनोद ढुंगाना/देशसञ्चार
ब्लाइन्ड रक्सले दृष्टिविहीनलाई प्याराग्लाइडिङ गराउने योजना बुन्दै थियो। त्यतिबेला नै उनी हावाको गतिमा आकाशमा उड्न आतुर बनिन्। ‘कहिले चाहीँ उड्न पाइएला भाको थियो’, सुनिता स्मरण गर्छिन्।
ब्लाइन्ड रक्सकी संस्थापक अध्यक्ष सृष्टि केसीले दोस्रो पटक प्याराग्लाइडिङको उडान भरिन्। उनले उडान मात्रै भरिनन् बादललाई छुँदै मनबाटै हिमाललाई हेरिन्।
‘उहाँ (पाइलट) ले मलाई बादल छुआउन लैजानुभो। मैले बादल छोइराको थिएँ। एउटा सपना हुन्छ नि जीवनमा बादलमाथि पुग्ने, उचाईमाथि पुग्ने। आज लिटरेल्ली बादल छोइराको थिएँ। बादलभित्र हामी हराइरहेका थियौँ’, उनले भनिन्।
बादलुले डम्म ढाकेको हिमाल पनि सृष्टिले छर्लङ्गै देखिन्। पाइलटले उनलाई हरियाली वातावरण, निलो आकाश, विशाल फेवाताल र निश्चल माछापुच्छ्रे हिमालको बखान गरे। सृष्टिले त्यसैलाई मनको दृष्टिले नियालिन्।
‘पोखरा यति सुन्दर छ। मलाई उहाँ (पाइलट) ले बयान गर्दिनुभाथ्यो। तलको हर्पन खोला बगिराको छ भन्नुभाथ्यो’, उनले भनिन्, ‘त्यो सुन्दर दृश्यको अनुभूति गर्न पाएँ। मैले त्यो सुमधुर मन्ध मन्ध चलेको शित्तल हावासँगै उहाँले गर्नुभएको वर्णन सबै कैद गरेँ।’

प्याराग्लाडिङ ल्यान्ड गरेपछि प्यारा पाइलटको साथमा ब्लाइन्ड रक्सकी संस्थापक अध्यक्ष सृष्टि केसी। तस्बिरः विनोद ढुंगाना/देशसञ्चार
सृष्टिले अगाडि थपिन्, ‘उहाँले त यो मौसममा त्यतिधेरै हिमाल देखिएको छैन भनिरहनुभाथ्यो। तर मैले त्यो छेकिरहेको हिमाल पनि मनबाट तानि तानि हेरिराकोथेँ।’
यसअगाडि ब्लाइन्ड रक्सले आफ्ना सदस्यलाई रक क्लाइमबिङ र र्याफटिङ गराइसकेको सृष्टिले जानकारी गराइन्।
करिब पाँच वर्ष अगाडि सृष्टिले पोखराकै आकशमा फेवातालमाथि फन्को मारेकी थिइन्। उनलाई उचाई पुग्दाको अनुभव गराउने रहर जाग्यो। त्यतिबेला नै दृष्टिविहीन साथीलाई प्याराग्लाइडिङ गराउने सपना देखेको बताइन्।
जीवनको उचाई र सफलतामा पुग्नका लागि अपांगता दृष्टिविहीनताले छेक्दैन भन्ने सन्देश फैलाउन प्याराग्लाइडिङ उडाएको उनको भनाइ छ।
‘जीवनमा सपना देख्नका लागि आँखा होइन हिम्मत चाहिन्छ, आत्मबल चाहिन्छ। र त्यो कहिल्यैपनि अपांगता हुँदैन’, उनको अनुभवले भन्छ।
ब्लाइन्ड रक्सले १२ जनालाई प्याराग्लाइडिङ उडाएको हो। त्यसमा १० जना दृष्टिविहीनमा पनि २ जना विदेशी।
दोस्रो पटक नेपाल आएका अष्ट्रियाका थोमसले पनि पोखराको आकाशमा फन्को मारे। प्याराग्लाइडिङको अनुभवले उनी निकै रोमाञ्चित भए। उनले भने, ‘मैले पहिलो पटक प्याराग्लाइडिङ गरेँ। भरपूर मज्जा लिएँ। देखेर मात्रै मज्जा लिइँदैन। मैले महशुस गरेर मज्जा लिएको छु।’