इमेज सहकारी

बुढेसकालको सहारा सहकारीले डुबाएपछि…

बुढेसकालको सहारा सहकारीले डुबाएपछि…
+
-

विष्णुमाया काफ्ले लौरी टेकेर सिर्जनाचोकस्थित कर्मा भवनको दोस्रो तलामा रहेको इमेज बचत तथा ऋण सहकारी संस्थामा बेलाबेला धाइरहन्छिन्। सहकारीको प्रवेशद्वारमा भोटे ताल्चा ठोकिएको छ। यो दृश्यले उनको मन भतभति पोल्छ। सहकारीमा बचत गरेको रकम बदमास सञ्चालक र कर्मचारीले झ्वाम पारेपछि उनले बुढेसकालको सहारा गुमाएजस्तै भएको छ। सहारा दिने न छोराछोरी न श्रीमान।

आफन्तको रेखदेखमा बाँचिरहेकी उनले सहकारीमा ३ लाख ५५ हजार रुपैयाँ बचत गरेकी थिइन्। राम्रो ब्याज पाउने आशमा उनले बचत गरेकी हुन्। ‘त्यही ब्याजले बाँचुञ्जेल दुई छाक हातमुख जोडुँला, दुख असजिलो टारूँला’, भन्ने उनको विश्वास थियो। तर सोंचेजस्तो कहाँ हुन्छ र ? सहारा बन्ला ठानेर विश्वास गरेको सहकारीले त उल्टै लौरी भाँचिदिएको छ।

‘बुहारीकहाँ यहाँबाट पैसा उठाउन जान्थे। तिनीहरूले ब्याज थुप्रो आउँछ भन्देछन्। अनि उनले (बुहारी) मलाई भनिन् र त्यसैको द्वारबाट राखेको’, गहभरि आँसु लिएर विष्णुमायाले भनिन्,  ‘मेरो कोही छैनन्। न छोराछोरी न बूढो न सम्पत्ति। बाँच्ने आधार त्यत्ति न हो ….।’  पैसा नभएपछि कसरी बाँच्ने टुंगो नभएको उनले सुनाइन्।

नालामुखकी विष्णु गुरुङ मुनाकर्मीले रेष्टुरेन्ट चलाउँथिन्। सहकारी सञ्चालक र कर्मचारीले बारबार आग्रह गरेपछि रेष्टुरेन्टबाट हुने मुनाफा इमेज सहकारीमा दैनिक बचत गर्न थालिन्। सहकारीमा उनको १८ लाख रुपैयाँ बचत पुगेको थियो। उनलाई आवश्यक परेको बेलामा रकम फिर्ता सहकारीले  बाेलाइरहेको हुन्थ्यो। सहकारी संकटमा छ उनलाई शंकासमेत भएन।

जग्गा किन्नलाई वैशाख ११ गते सहकारीमा पुग्दा त विष्णु छाँगाबाट खसेजस्तै भइन्। किनकि सहकारी डुबेको हल्लाले बचतकर्ताको भीड लागेको थियो। नभन्दै त्यसको केही दिनमा सहकारीका अध्यक्ष देवकुमार नेपाली र प्रबन्धक दीपक पौडेल फरार भए।

उनलाई अहिले बच्चाको स्कुल फी तिर्नसमेत धौधौ परेको छ। ‘एक-एक गरेर खाइ नखाइ जोगाएको पैसा हो। चोरी डकैती गरेर ल्याएको पैसा होइन। त्यै पैसाबाट छोराछोरी पढाउने हो। औषधी खानुपर्छ, घरव्यवहार चलाउनुपर्छ’, विष्णुले भनिन्।

उनले भागेर समस्याको समाधान नहुने भन्दै फरार सञ्चालक र कर्मचारीलाई सम्पर्कमा आउन आग्रह गरेकी छन्।  ‘जसरी हामीले तपाईलाई विश्वास गरेर पैसा राख्न दिएका थियौं, त्यसरी नै तपाईंले जनतालाई विश्वास दिलाउनपर्छ। लुकेर समाधान हुँदैन। कसरी हुन्छ समस्याको समाधान गर्न लाग्नुभो भने हामी पनि तपाईंलाई के समस्या परेको हो साथ दिन तयार छौं’, विष्णुकाे अनुरोध छ।

इमेज सहकारीले १६ प्रतिशत ब्याजको लोभ देखाएर विष्णुमाया काफ्ले र विष्णु गुरुङजस्ता थुप्रै बचतकर्तालाई आकर्षित गरेको थियो। तर अहिले सहकारीका अध्यक्ष देवकुमारलगायत सञ्चालकहरू सहकारीको रकम हिनामिना गरेर फरार भएपछि बचतकर्ताको बिचल्ली भएको छ।

गास घटाएर बचत गरेको रकम फिर्ता माग्दै बचतकर्ता कहिले प्रहरीकहाँ, कहिले प्रशासनमा त कहिले पोखरा महानगरपालिका धाइरहेका छन्।

२०६८ सालमा पोखराको न्युरोडमा देवकुमारले इमेज सहकारी खोले। त्यो भन्दा अगाडि उनी पोखराकै सूर्यदर्शन सहकारीमा उपाध्यक्ष भएका थिए। अध्यक्ष बनाउन सञ्चालक समितिका सदस्य तयार नभएपछि उनले सूर्यदर्शनकै कर्मचारी लिएर इमेज सहकारी खाेलेका हुन्। सिर्जनाचोकमा देवकुमारले आफ्नै भवन ठडाएपछि सहकारी त्यहीं सर्‍याे।

देवकुमारले नेपाली मात्रै होइन, तिब्बतीयन नागरिकको समेत रकम कुम्ल्याएका छन्। पृथ्वीचोक, हेमजा र छोरेपाटनमा बस्ने तिब्बतीयनलाई उनले श्रीमती छेलामार्फत् सहकारीमा जोडेर बिचल्ली पारे। देवकुमारकी श्रीमती छेला तिब्बतीयन हुन्।

हेमजामा बस्दै आएको तिब्बतीयन शरणार्थी टासी वाङ्दुले देवकुमारसँगको पुरानो चिनजान र छेला आफ्नै जातको भएकाले बैंकमा राखेको रकम झिकेर इमेज सहकारीमा राखेको बताए। उनले झन्डै ६० लाख रुपैयाँ बचत गरेका थिए। ९ जना छोराछोरी र आफ्नै कमाइसमेत उनले सहकारीमा जम्मा गरेका हुन्।

‘अरू बैंकमा भएको पैसा पनि झिकेर यहीं राखेको थिएँ आफ्नै मान्छे भनेर’, दुखेसो पोख्दै उनले भने। सहकारीको उद्घाटनसमेत तीब्बतीयनको विश्वास जित्न शाक्य गुरुमार्फत् गरेको वाङ्दुले बताए। ‘बुद्ध धर्मको गुरु ल्याएर उद्घाटन गरेपछि यस्तो बेइमान गर्छजस्तो मनमा लागेकाे थिएन। पुरा विश्वास गरेको आखिर बिचल्ली पारेको छ’, वाङ्दुले भने।

पोखरामा इमेज सहकारी पीडितले समिति नै बनाएर आन्दोलन गरिरहेका छन्। समितिका अध्यक्ष हरिबहादुर खत्रीका अनुसार पोखरामा मात्रै करिब १ हजार बचतकर्ता रहेको अनुमान छ।

जिल्ला प्रहरी कार्यालय, कास्कीमा भने ४०८ जनाले बचत फिर्ताको माग गर्दै सहकारी ऐन अन्तर्गतको कसूरमा जाहेरी दिएको सूचना अधिकारी डिएसपी श्रवणकुमार विकले बताए। ६५ करोड ५९ लाख ८२ हजार ५९ रुपैयाँ ठगी गरेको पीडित बचतकर्ताले दिएको उजुरीबाट खुलेको उनले जानकारी दिए।

‘सहकारी खानतलासी गरी कसूरसँग सम्बन्धित प्रमाण लाग्ने कम्पयुटरलगायतका मेसिनरी औजार र कागजात बरामद गरिएको छ’, डिएसपी विकले भने, ‘सहकारीका अध्यक्ष चित्रबहादुर भण्डारी र सञ्चालक सदस्य शक्ति किसानलाई बागलुङ कारागारबाट झिकाइ बयान लिने काम भइरहेको छ।’

बचतकर्ताको निवेदन परेपछि वैशाख २८ गते पोखरा महानगरपालिकाको सहकारी शाखामा देवकुमारले बचकर्ताको रकम फिर्ता गर्ने लिखित सहमति गरेका थिए। ढोरपाटन नगरपालिकाका मेयरसमेत रहेका देवकुमार ५ जेठदेखि भने फरार छन् । पोखरामा मात्रै नभएर बाग्लुङको बागलुङ बजार, गल्कोट र बुर्तीबाङको इमेज सहकारीमा बचत गरेका बचतकर्ताको समेत बिचल्ली छ।

सहकारीले १ अर्ब ५१ करोड रुपैयाँ हिनामिना गरेको भन्दै बागलुङका १ हजार ४ सय ८१ जना बचतकर्ताले सञ्चालक, कर्मचारीसहित ११ जनाविरुद्ध अदालतमा ठगीको मुद्दा दर्ता गराएका छन्।

इमेज सहकारी पोखराका अध्यक्ष चित्रबहादुर भण्डारी, बागलुङ शाखाका प्रबन्धक शक्ति किसान र लेखा प्रमुख लालमति रोकालाई प्रहरीले पक्राउ गरेको छ। अदालतको आदेशमा तीनैजना पुर्पक्षका लागि थुनामा छन्। बागलुङ कारागारमा पुर्पक्षका लागि थुनामा रहेका बाहेक थप १२ जना विरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेपनि हालसम्म उनीहरू पक्राउ पर्न सकेका छैनन्।

देवकुमारले बचतकर्ताको रकम अपचलन गर्दै अनुत्पादक क्षेत्रमा लगानी गरेकाले सहकारी डुबेको उनको संगत गर्नेहरू बताउँछन्। ढोरपाटनका स्थानीयलाई हेलिकोप्टमार्फत् उद्धार गरेर पोखरा काठमाडौंका अस्पतालसम्म नि:शुल्क लैजाने प्रबन्ध मिलाएर वाहवाही कमाएका उनले बचतकर्ताकै रकमबाट त्यसो गरेको आरोपसमेत लागेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?