
सिमकोट – सिमकोट गाउँपालिकाले गाउँपालिकामा रहेका स्वास्थ्य संस्थाको वार्षिक समीक्षा कार्यक्रम सुरु गरेको छ। एक वर्षमा स्वास्थ्य संस्थाले सम्पादन गरेका कामबारे जानकारी गराउनका लागि समीक्षा कार्यक्रम सुरु भएको हो।
दुई दिनसम्म सञ्चालन हुने कार्यक्रममा प्रत्येक स्वास्थ्य संस्थाले आफूले एक वर्षमा गरेका कामबारे प्रस्तुति गरेका छन्। जसमा सेवाग्राहीलाई प्रदान गरिएका पोषण, खोप, मातृ सुरक्षाका कार्यक्रम र अन्य स्वास्थ्य संस्थाले प्रदान गरिने सेवालाई प्रस्तुतीमा समेटिएको छ।
त्यसैगरी, स्वास्थ्य संस्थाले स्वास्थ्य शाखालाई नियमित पठाउनुपर्ने रिपोर्टिङ, गरिएका सिर्जनात्मक कार्य, भोगिएका समस्या र त्यसको समाधानका लागि चालिएका कदमबारे पनि प्रत्येक स्वास्थ्य संस्थाले आफ्नो प्रस्तुतीमा उल्लेख गरेका छन्।
समीक्षा कार्यक्रममा प्रस्तुत गरेका स्वास्थ्य संस्थालाई सुझाव पनि दिइएको थियो। गाउँपालिकामा बाह्र वटा स्वास्थ्य संस्था रहेकामा पहिलो दिन आठ वटा समीक्षा कार्यक्रम गरिएको छ। जसमा दोजाम आधारभूत स्वास्थ्य सेवा केन्द्र, कुम्लिक सामुदायिक स्वास्थ्य एकाइ, बरगाउँ स्वास्थ्य चौकी, बुराउने सामुदायिक स्वास्थ्य केन्द्र, हिल्दुम सामुदायिक स्वास्थ्य एकाइ, माथिल्लो गाउँ आधारभूत स्वास्थ्य केन्द्र, खोल्सी सामुदायिक स्वास्थ्य एकाइ र स्याँडा स्वास्थ्य चौकी छन्।
गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख नर भण्डारीले शुक्रवार चार वटा स्वास्थ्य संस्था, स्वास्थ्य सेवा कार्यालय, सहयोगी निकाय र गाउँपालिकाले आफ्नो प्रस्तुति गर्ने बताए। उनले भएका कामको जानकारीका साथै स्वास्थ्य सेवा प्रभावकारी बनाउन समीक्षा कार्यक्रम प्रभावकारी रहेको बताए।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सुशीला रोकाया भामले उठेका प्रश्नको जवाफ दिएकी थिइन्। आठ वटा वडा रहेको सिमकोट गाउँपालिकाका अधिकांश वडाध्यक्षको समेत कार्यक्रममा सहभागिता थियो।