
पाेखरा – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेतृत्व सम्हालेको सय दिन पूरा भएको छ। शनिबार उनले सय दिनको उपलब्धि सार्वजनिक गरेका छन्।
बजेट ल्याउनुलाई नै उनले आफ्नो सय दिने कार्यकालको मुख्य उपलब्धि मानेका छन्। मुख्यमन्त्री पाण्डेले सय दिनमा गरेको मुख्य कामको पहिलो बुँदामै
बजेट पारितलाई समेटेका छन्।
‘सरकारको ०८०/८१ को वार्षिक नीति तथा कार्यक्रम र वार्षिक विकास कार्यक्रम (बजेट) पारित भएको छ’, उनले सुनाए।
उनले थपे, ‘मुख्य काम नै बजेट ल्याउनु हो। प्रि बजेट छलफल, नीति तथा कार्यक्रम र बजेट विनियोजन। त्यसैले मैले तपाईंहरुलाई सम्झनका लागि अझ फोकस गरेर जम्मा ४६ वटा पोइन्ट मात्रै राख्याछु। र सबभन्दा ठूलो उपलब्धि भन्या बजेट नै हो हामीले ल्याएको।’
मुख्यमन्त्री पाण्डेले विगतको भन्दा उत्कृष्ट बजेट ल्याएकोसमेत दाबी गरे। वनियोजित बजेटको उच्चतम सदुपयोग गरी नतिजामूलक उपलब्धि हासिल गर्ने उद्देश्यले सडकतर्फ ३० लाख रुपैयाँ भन्दा कम बजेटका योजना छनोट नगरेको मुख्यमन्त्री पाण्डेले सुनाए।
‘सिंचाई तथा खानेपानीमा १० लाख भन्दा कम बजेट विनियोजन नगरेको साथै नयाँ भवन निर्माणलाई निरुत्साहित गर्ने नीति सरकारले अवलम्बन गरेको छ’, उनको भनाइ छ।
केन्द्रमा सत्ता गठबन्धन हेरफेर भएपछि नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे बैशाख १४ गते गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्त भए। संविधानको धारा १६८ को उपधारा २ बमोजिम २ वा २ भन्दा बढी दलको समर्थनमा बुहमत जुटाएर मुख्यमन्त्री बनेका पाण्डेले भोलिपल्ट पद तथा गोपनियताको शपथ लिए।
नेपाली कांग्रेसका २७, नेकपा माओवादी केन्द्रका ७ र स्वतन्त्र सर्वसम्मत चुनाव जितेर एकीकृत समाजवादी प्रवेश गरेका राजीव गुरुङ (दीपक मनाङे)को समर्थनमा मुख्यमन्त्री बनेका पाण्डेले सपथसँगै पाण्डेले नेकपा माओवादी केन्द्रकी सुशिल सिम्खडा र नेपाली कांग्रेसकी सरस्वती अर्याल तिवारीलाई विनाविभागीय मन्त्री नियुक्त गरे।
मुख्यमन्त्री पाण्डेलाई मन्त्री बन्ने आकांक्षी धेरै हुँदा मन्त्रीमण्डललाई पूर्णता दिएर जिम्मेवारी तोक्न बडो सकस भयो। मुख्यमन्त्री नियुक्त भएको १५ औं दिनमा बैशाख २९ गते माओवादीका रेशमबहादुर जुग्जाली, कांग्रेसका जीतप्रकाश आले, महेन्द्रध्वज जिसी र दिपेन्द्रबहादुर थापालाई मन्त्री नियुक्त गरेर मन्त्रिमण्डललाई पूर्णता दिए।
त्यसपछि सुरेन्द्रराज नेतृत्वको सरकार बजेट निर्माणमा जुट्यो। असार १ गते संसदमा अर्थमन्त्री जीतप्रकाश आलेले ३३ अर्ब ४२ करोड ७२ लाख रुपैयाँको बजेट प्रस्तुत गरेका थिए। सत्तापक्षकै विरोध खेपेको बजेट २२ दिनको दिन असार २२ गते बुहमतले पारित भयो।
मुख्यमन्त्री पाण्डेले ४६ बुँदाको उपलब्धिमा अर्को महत्वपूर्ण मुख्यमन्त्रीहरुको भेलालाई प्रस्तुत गरे। गण्डकी प्रदेशले असार १५ गते प्रदेशको हक, अधिकार र कानुन निर्माणको सवालमा मजबुत बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अन्तर प्रदेश मुख्यमन्त्री भेला गरेको थियो।
‘संघीयतालाई सवलीकरण गर्न बैठकबाट १७ बुँदे साझा धारणा जारी गरिएको छ। प्रदेशको अधिकार, भोग्नुपरेको समस्या, संघ सरकारसँग जोडिएका एकल र साझा अधिकारका विषय केन्द्रीत यस बैठकलाई प्रदेश र संघ सरकारले पनि उपलब्धिको रुपमा लिनु हाम्रो लागि गौरवको विषय हो’, मुख्यमन्त्री पाण्डेले भने, ‘सोही अवसरमा गण्डकी प्रदेश सरकारको सहजीकरणमा पहिलो राष्ट्रिय समन्वय परिषद बैठक पनि सफलतापूर्वक सम्पन्न भएको छ। यी बैठकहरुले प्रदेश र संघ सरकारबीच सहकार्यको वातावरण निर्माण गर्न ठूलो मद्दत पुगेको विश्वास लागेको छ।’
प्रदेश सरकारले मृगौलाका बिरामीलाई पालो कुनुपर्ने झन्झटमुक्त अवस्थालाई शुन्यमा झार्न संक्रामक तथा सरुवा रोग अस्पताल कास्कीमा २५ शय्याको डायलासिस केन्द्र सञ्चालन गरेको छ। २२ नयाँ डायलासिस मेसिन खरिद गरेको छ। स्याङजा, पर्वत, लमजुङ, तनहुँ र नवलपुरमा २/२ वटा मेसिनबाट सेवा सुरु गर्ने तयारी भइरहेको मुख्यमन्त्री पाण्डेले जानकारी दिए। उनका अनुसार १५ नयाँ डयलासिस मेसिन खरिद गर्ने कार्यविधि अन्तिम चरणमा छ।
मन्त्रिपरिषद्को पहिलो बैठकले लिफ्टिङ खानेपानी एवं सिंचाई योजनाको विद्युत महशुलमा अनुदान दिने निर्णयअनुसार गण्डकी प्रदेशका २४० वटा लिफ्ट योजनालाई १ करोड ८८ लाख २६ हजार ८ सय ८० रुपैयाँ अनुदान वितरण गरेकालाई पनि प्रदेश सरकारको उपलब्धिमा समावेश गरिएको छ। ‘चालु वर्षदेखि लिफ्ट सिंचाई र लिफ्ट खानेपानीलाई अनुदान दिन ५ करोड विनियोजन गरिएको छ’, मुख्यमन्त्री पाण्डेले भने।
सडकको ठेक्का आह्वान गरि मुल्यांकनको चरणमा रहेको, प्रदेश किताबकाखानाको व्यवस्थापन, वन विधयेक प्रदेशसभा बैठकमा पेश गर्ने तयारी रहेको लगायत मुख्य कामको सुचीमा उल्लेख छ।
प्रदेश सरकारमार्फत २० जनालाई गोताखोर तालिम दिएको, विपद् उद्धारमा प्रयोग हुने ३० थान सामाग्री सुरक्षा निकायलाई वितरण गरेको, कोभिड १९ को खोपलाई निरन्तरता दिएको, ३२ जना शिक्षकलाई स्काउट तालिम दिएको पनि मुख्य उपलब्धिमा अटाएको छ।
‘एक आर्थिक वर्षको अन्त्य र अर्को आर्थिक वर्षको शुरुवाती चरण भएकाले ठोस कार्यहरुको नतिजा आउन केही समय लाग्नु स्वभाविक छ। योजना निर्माण र बजेट विनियोजनको कार्य भर्खरै सम्पन्न भएको छ’, मुख्यमन्त्री पाण्डेले ठोस कार्यक्रम गर्न नसकेको स्वीकार गर्दै भने। वार्षिक विकास कार्यक्रम र बजेट कार्यान्वयनमा प्रदेश सरकारको ध्यान केन्द्रित रहेको उनले जानकारी दिए।